मंगलबार, २८ जुलाइ, २०२६
12:57 | १७:४२

नटिङहममा भव्य बन्यो चौंथो मिडल्यान्ड नेपाली मेला, झल्कियो नेपाल

नेपाली लिङ्क जुलाइ २८, २०२६

नटिङहम- बेलायतको मिडल्यान्ड नटिङहमस्थित मेलवर्न पार्क सोमबार नेपालमय बन्यो।

बेलायतभरबाट जम्मा भएका दुई हजार बढी नेपालीको सहभागितामा सम्पन्न चौंथो मिडल्यान्ड नेपाली मेलामा मौलिक नेपाली कला, संस्कृति झल्काउने आकर्षक प्रस्तुतिहरु गरियो। नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुतिसंगै स्थानीय कलाकार र समुदायको सहभागितामा प्रस्तुत नौमती बाजा, भजनकिर्तन, मौलिक तीज गीतको नाचगान, गीतसंगीतसहितका विविध सांस्कृतिक कार्यक्रमले मिनी नेपालको झल्को दिलाए।

यूकेव्यापी भलिबल प्रतियोगितादेखि सेभेन ए साइड फुटबल, बालबालिकाको फुटबल, पार्क रनदेखि मनोरञ्जनात्मक खेलहरु कार्यक्रमका आकर्षण बने । मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनादेखि विभिन्न व्यापार र सेवाका स्टलहरुमा दर्शक झुम्मिए।

नेपाली समाज नटिङहमले स्थानीय एक दर्जन बढी नेपाली संघसंस्थाको सहकार्यमा आयोजना गरेको थियो मेला। मेलाका प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष लोकनाथ अधिकारी र संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संयुक्त रुपमा मेला उद्घाटन गरे।

शुभकामना मन्तव्यमा कार्यवाहक राजदूत दुवाडीले बेलायतवासी नेपालीहरुलाई एक ठाउँमा भेला गराइ उनीहरुबीचको सद्भाव बढाउन तथा बेलायतमा नेपाल र नेपालीपन प्रवर्द्धन गर्न मेलाले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद दिए ।मिडल्यान्ड र सिंगो बेलायतका नेपालीले व्यक्तिगत र संस्थागत दुवै माध्यमबाट नेपालको प्रवर्द्धन गरिरहेकोमा उनले प्रशंसा गरे।

लामो समयदेखि लन्डनमा हुंदै आएको नेपाली मेला र दुई वर्षअघि शुरु भएको स्कटल्यान्ड नेपाली मेलामा दूतावासको निकट सहकार्य रहंदै आएको स्मरण गर्दै कार्यवाहक राजदूत दुवाडीले मिडल्यान्ड नेपाली मेलामा पनि आगामी वर्षहरुदेखि थप सहयोग र सहकार्यको प्रतिवद्धता गरे। आउँदा दिनमा मेलालाई नेपाली समुदायमा मात्र सिमित नगरी बेलायती र गैरनेपाली समुदायलाई पनि सहभागी गराउन कोशिस गर्नुपर्ने सुझाव कार्यवाहक राजदूत दुवाडीको थियो।

आयोजक नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले चार वर्षअघि शुरु भएको मिडल्यान्ड नेपाली मेला चौंथो संस्करणसम्म आइपुग्दा व्यापक र बृहद बनेकोमा खुशी व्यक्त गरे। समाज र मेलाका संस्थापक तथा अग्रजहरुप्रति सम्मान व्यक्त गर्दै उनले आगामी वर्षहरुमा गैरनेपाली समुदायको सहभागितासहित मेलालाई थप बिस्तार र विकास गर्ने लक्ष्य सुनाए।

अध्यक्ष अधिकारीले मेला सफल पार्न योगदान गर्ने समाजका सबै सदस्य तथा पदाधिकारीदेखि सहयोगी, प्रायोजक, अतिथि, सहभागीप्रति संस्थाका तर्फबाट आभार प्रकट गरे।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला, संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्ने कार्यमा मेला सफल बनेको बताए। सन् २००९ देखि लन्डनमा हुंदै आएको नेपाली मेलाको आयोजक संस्थाका अध्यक्ष गुरुङले आफूहरुको अनुभव र सिकाइ अरु नेपाली समुदायसंग शेयर गर्न समेत आफूहरु इच्छुक रहेको जनाए।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले मेलाले बेलायतमा नेपालीपनको प्रवर्द्धन गरेको जनाउंदै यस्ता कार्यक्रमहरुमा संघको सधैं ऐक्यबद्धता र सहकार्य रहने बताए।एनआरएनए अभियन्ता दयानिधि सापकोटाले मिडल्यान्डको सिंगो नेपाली समुदाय एकजुट बनेर आउँदा वर्षहरुमा मेलालाई थप बृहद र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

मेलाको उद्घाटन सत्रमा साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांल, गुल्मी जिल्ला समाज यूकेकी अध्यक्ष मञ्जु भण्डारी, पूर्व मेयर एवम् काउन्सिलर भीम सारु, नटिङहम महिला समूहकी अध्यक्ष विष्णु खरेललगायतले मन्तव्य राख्दै मेला सफलताको शुभकामना दिएका थिए । श्रृजनशिल लेष्टर नेपाल अध्यक्ष शिव पराजुलीले शुभकामना मन्तव्यसंगै ‘यो मन त मेरो नेपाली हो….’  बोलको गीत सुनाए।

समाजका पूर्व अध्यक्ष विष्णु चालिसे र महासचिव डिलाराम गौतमले सञ्चालन गरेको कार्यक्रमको औपचारिक सत्रमा पूर्व अध्यक्ष रविन्द्र शर्माले स्वागत मन्तव्य दिए। समाजका सांस्कृतिक संयोजक सुदिप उप्रेतीले मनोरञ्जनात्मक सत्र सञ्चालन गरे।

मेलामा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई, इन्द्र जिसी र अस्मिता डल्लाकोटीले विशेष सांगीतिक प्रस्तुति गरे । लोकप्रिय कलाकारहरुको प्रस्तुतिमा निकै रमाएका दर्शक घण्टौंसम्म नाचिरहेका देखिन्थे।

मेलाको अर्को प्रमुख आकर्षण रहेको यूकेव्यापी भलिबल प्रतियोगिता ग्रीनवीच भलिबल परिवारले जित्यो। ९ टीम सहभागी प्रतियोगिताको फाइनलमा गल्कोट समाज यूकेको टीमलाई हराउँदै विजेता बनेको ग्रीनवीचले १ हजार ५ सय पाउण्ड नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गर्यो । उपविजेता गल्कोट ८ सय पाउन्ड नगदसहित पुरस्कृत भयो। प्रतियोगिता संयोजन समाजका पूर्व अध्यक्ष दीपक सापकोटाले गरेका थिए।

सो अवसरमा आयोजित सेभेन ए साइड फुटबल स्थानीय नटिङहम समाजको टीमले जित्यो। विजेताले १ हजार पाउन्ड नगदसहितको पुरस्कार प्राप्त गर्दा उपविजेता कोभेन्ट्रीले नगद ५ सय पाउण्डसहितबाट पुरस्कृत भयो। सो अवसरमा बालबालिकाको फुटबल र विभिन्न उमेर समूहमा ५ सय मिटर पार्क पनि सञ्चालन गरिएको थियो।

मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनादेखि विभिन्न व्यापार र सेवाका एक दर्जन बढी स्टलहरु पनि दर्शकको दिनभर भीड लागेको थियो।

मेलामा सहभागी हुन मिडल्यान्ड र आसपासबाहेक लन्डन, अल्डरसट, वेल्स र स्कटल्यान्डसम्मबाट घण्टौं यात्रा गरेर उल्लेख्य संख्यामा नेपालीहरु भेला भएका थिए।

     

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू