शुक्रबार, १० जुलाइ, २०२६
11:54 | १६:३९

बेलायतमा ५० दिनकी सुत्केरी रञ्जिताको निधन, शव नेपाल पठाउन सहयोगको अपिल

नेपाली लिङ्क जुलाइ १०, २०२६

लन्डन- बेलायतमा सन्तान जन्मिएको केवल ५० दिनमै एक नेपाली आमाको दुखद निधन भएको छ।

काठमाडौंको गोकर्ण स्थायी घर भइ बेलायतको प्रेस्टनमा बस्दै आएकी रञ्जिता भण्डारीको गत मे २२ तारिख असामयिक निधन भएको हो ।

प्रेस्टनको हेजवर्थ स्ट्रिटमा आफ्नै निवासमा रञ्जिता मृत भेटिएकी थिइन्।

रञ्जिता सन् २०२१ को अक्टोबरमा अध्ययनका लागि बेलायत आएकी थिइन्। त्यसपछि सन् २०२३ जनवरीदेखि उनी एक नर्सिङ होममा केयररका रूपमा कार्यरत थिइन्।

सन् २०२४ फेब्रुअरीमा विवाह गरेकी उनले केही महिनाअघि मात्रै सन्तान जन्माएकी थिइन्।

रञ्जिताका पति दिवस अहिले बेलायतमै छन् भने नवजात शिशु यहाँकै सोसल सर्भिसको संरक्षणमा रहेको बताइएको छ। रञ्जिताको पार्थिव शरीर प्रेस्टन कोरोनरको जिम्मामा छ।

रञ्जिता मृत भेटिएलगत्तै बेलायती प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। हाल आवश्यक अनुसन्धान प्रक्रिया पूरा भइसकेको र उनको पार्थिव शरीर नेपाल लैजाने तयारी भइरहेको परिवारनिकट स्रोतले जनाएको छ।

यसैबीच, रञ्जिताको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि नेपाल लैजान उनको परिवारले आर्थिक सहयोगको सार्वजनिक अपिल गरेको छ।

उनको परिवारले गोफण्डमीमार्फत् अनलाइन सहयोग संकलनको अभियान शुरु गरेको छ ।

रञ्जिताका पति दिवस थापाले आफ्नी पत्नीलाई जन्मभूमिमै परिवार र आफन्तको उपस्थितिमा नेपाली परम्पराअनुसार अन्तिम बिदाइ गर्न चाहेको बताएका छन्।

उनले भनेका छन्, ‘मेरी प्रिय पत्नीलाई गुमाउनु मेरो जीवनकै सबैभन्दा पीडादायी क्षण हो। शोकका बीच म हाम्रो नवजात सन्तानको भविष्यलाई लिएर चिन्तित छु। उनलाई सम्मानपूर्वक नेपालमा अन्तिम बिदाइ गर्न चाहन्छु, तर त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन भइरहेको छ।’

उनले रञ्जितालाई मायालु पत्नी र स्नेही आमाका रूपमा स्मरण गर्दै यो कठिन घडीमा प्राप्त हुने सहयोग, सद्भाव र प्रार्थनाले आफ्नो परिवारलाई ठूलो सहारा मिल्ने बताएका छन्।

यसैबीच, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले पनि अफ्टेरोमा परेको थापा परिवारलाई सहयोग गर्न बेलायतस्थित नेपाली समुदायलाई अपिल गरेका छन्।

नेपाली समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाको आवश्यकता झन् बढेको उल्लेख गर्दै उनले उपलब्ध सेवा र सहयोगका बारेमा धेरै मानिस अझै पनि अनभिज्ञ रहेकोले यस्ता दुखद घटनाहरु सामना गरिरहनुपरेको बताएका छन्।

सहयोगका लागि लिंक

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू