बिहीबार, ९ जुलाइ, २०२६
11:54 | १६:३९

ब्रिटिश गोर्खा र सन्ततिहरूको नागरिकता अभियान निर्णायक मोडमा

नेपाली लिङ्क जुलाइ ९, २०२६

तस्बिर- एमओडी

इतिहासको गौरवमय विरासत बोकेका ब्रिटिश गोर्खाहरू आज आफ्नो पहिचान र अस्तित्व रक्षाको एउटा निकै संवेदनशील र ऐतिहासिक मोडमा उभिएका छौं।

ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि ‘ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति’ (BGNCCC-UK/NEPAL) ले अहिले निर्णायक अभियान चलाइरहेको छ। यो केवल एउटा कानुनी लडाइँ मात्र होइन, हाम्रा भावी सन्ततिहरूलाई आफ्नो मातृभूमिसँग सधैँका लागि जोडी राख्ने एउटा ऐतिहासिक महासंग्राम हो।

यस संवेदनशील घडीमा सम्पूर्ण भूतपूर्व तथा सेवारत ब्रिटिश गोर्खाहरू र उहाँहरूका सन्ततिहरूलाई एकजुट हुन र यस अभियानलाई साथ दिन हामी हार्दिक एवं गम्भीर आह्वान गर्दछौँ।

नेपाली नागरिकता निरन्तरताको सवाललाई संविधान संशोधनको प्रक्रियामा अनिवार्य रूपमा समावेश गराउन BGNCCC ले निरन्तर र अथक प्रयास गरिरहेको छ। जसका सकारात्मक परिणामहरू स्वरूप संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा BGNCCC ले आफ्नो माग र अवधारणा पत्र आधिकारिक रूपमा दर्ता गराइसकेको छ।

सोही व्यहोराको संशोधन सुझाव “नेपाली आदिवासी जनजातिहरूको मानव अधिकारका लागि अधिवक्ताहरूको संघ” (LAHURNIP) ले पनि कार्यदललाई बुझाइसकेको छ, जसले हाम्रो मुद्दालाई कानुनी र मानवअधिकारको दृष्टिकोणबाट अझ बलियो बनाएको छ।

यसका साथै, विभिन्न प्रमुख राजनीतिक दलहरूले आफ्नो पार्टीको आधिकारिक सुझाव पत्रमा ब्रिटिश गोर्खाको नागरिकता निरन्तरताको विषय समावेश गरिसकेका छन् भने बाँकी दलहरू पनि यसलाई समावेश गराउन सकरात्मक देखिएका छन् ।

यो अभियानलाई तार्किक र ठोस निष्कर्षमा पुर्‍याउन हामीले आगामी दिनका लागि विशेष र प्रभावकारी रणनीतिहरू तय गरेका छौँ। यसअन्तर्गत संविधान संशोधन बहसपत्र तयारी कार्यदलका सदस्यहरू, सम्माननीय प्रधानमन्त्री, माननीय कानुनमन्त्री, माननीय गृहमन्त्री, सत्तासीन पार्टीका सभापति तथा प्रतिपक्षी संसदीय दलका नेताहरूलाई प्रत्यक्ष भेटेर हाम्रा मुद्दाहरू स्पष्ट पार्ने र प्रतिबद्धता लिने कार्य गरिनेछ।

उक्त बहसपत्र तयारी कार्यदलबाट पारित भई संविधान संशोधन विधेयक प्रतिनिधि सभामा जानुअघि २७५ जना प्रतिनिधि सभा सदस्य र ५९ जना राष्ट्रिय सभा सदस्य गरी कुल ३३४ माननीयहरूको हात-हातमा ज्ञापनपत्र, कानुनी आधार, प्रमाण र अवधारणा पत्र बुझाएर उनीहरूलाई यस राष्ट्रिय मुद्दामा सहमत गराउने कार्ययोजना छ।

त्यसका साथै आवश्यकता अनुसार सभा, सेमिनार आयोजना गरि हाम्रा माग बारे थप प्रष्ट पारि सहमति जुटाउने कार्यक्रम समेत गरिनेछ।

यो अभियान हाम्रो राष्ट्रियता र अस्तित्वको सवालसँग जोडिएको छ। ब्रिटिश गोर्खाको पहिलो पुस्ता इतिहासको पानामा सीमित भएपछि, पुरानो सन्धि-सम्झौताका आधारमा “नागरिकता निरन्तरता” दाबी गर्ने कानुनी बाटो सधैँका लागि बन्द हुने निश्चित छ। तसर्थ, यही पुस्ताले र यहि पुस्ता छँदै यो अधिकार सुरक्षित गर्नुपर्छ।

हाम्रा समुदायका धेरै व्यक्तिहरू नेपालको राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ र देशप्रतिको यो चासो उदाहरणीय छ। तर, वंशजको नेपाली नागरिकता नै सुरक्षित रहेन भने भविष्यमा नेपाली राजनीति वा सामाजिक क्षेत्रमा सहभागी हुने हाम्रा कानुनी अधिकारहरू सधैँका लागि समाप्त हुनेछन्।

त्यसैगरी नेपालमा रहेको आफ्नो र पैतृक चल-अचल सम्पत्तिमाथिको अधिकारमा समेत गम्भीर समस्या सिर्जना हुनेछ। यदि हामीले आज नागरिकता गुमायौँ भने, भविष्यमा आफ्नै मातृभूमिमा ‘विदेशी’ वा शरणार्थी सरह हुनुपर्ने स्थिति आउन सक्छ।

आफ्नै पुर्खाको रगत-पसिना बगेको भूमिमा पहिचानविहीन (Stateless) भएर बस्नुपर्दा हाम्रा सन्ततिले भोग्नुपर्ने दुर्गति र मानसिक पीडा कति भयावह होला, सोच्ने बेला यही हो।

यो हाम्रो अस्मिता, आत्मसम्मान र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अन्तिम र सुनौलो अवसर हो। इतिहासले हामीलाई यो जिम्मेवारी सुम्पेको छ; यदि आज हामी चुकेनौँ भने हाम्रा सन्तानले गौरवका साथ आफूलाई ‘नेपाली’ भन्न पाउनेछन्।

तसर्थ, यो निर्णायक नेतृत्व गरिरहेको एकमात्र साझा संस्था BGNCCC-UK/NEPAL लाई सम्पूर्ण भूपू एवं सेवारत गोर्खाहरू, छोरा-बुहारी, छोरी-ज्वाइँ तथा नाति-नातिनाहरूले जहाँ, जुन अवस्थामा हुनुहुन्छ—तन, मन र धनले पूर्ण साथ दिनुहुन हार्दिक अनुरोध गरिन्छ।

“आजको हाम्रो सचेतता र अभूतपूर्व एकताले नै हाम्रा सन्ततिको नेपाली पहिचान र अधिकार सधैँका लागि सुरक्षित गर्नेछ।”

जय गोर्खा !

-सन्तोष थलङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू