बुधबार, ८ जुलाइ, २०२६
10:56 | १५:४१

बेलायतमा महिलालाई हत्याको धम्की दिने नेपाली युवालाई ६ वर्ष जेल

नेपाली लिङ्क जुलाइ ८, २०२६

लन्डन– बेलायतमा एक महिलालाई ज्यान मार्ने धम्की दिएको अपराधमा दोषी ठहर भएका एक नेपाली युवालाई ६ वर्षको जेल सजाय भएको छ ।

बेलायतको क्याम्बर्ली निवासी २२ वर्षीय सुशिल पुनलाई ती महिलालाई ‘स्टकिङ’ अर्थात् खराब नियतले पछ्याएको तथा ज्यान मार्ने र यौन हिंसाको धम्की दिएको अभियोगमा ६ वर्षको जेल सजाय सुनाइएको हो।

गत जुन ३० तारिखमा गिल्डफोर्ड क्राउन कोर्टले पुनलाई ‘स्टकिङ’ तथा ‘हरासमेन्ट’ सम्बन्धी अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। अदालतले उनीमाथि रिहाइपछि पनि लागू हुने १५ वर्षको ‘स्टकिङ प्रोटेक्सन अर्डर’ जारी गरेको छ। साथै उनलाई २ सय २८ पाउन्ड ‘भिक्टिम सर्चाज’ (पीडित सहायता शुल्क) तिर्न पनि आदेश दिएको छ।

सर्रे प्रहरीका अनुसार एक वर्षअघि जुलाई २०२५ को सुरुआतमा पुनलाई उनका परिवारले उनी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए। परिवारले उनको मोबाइल फोन र पासवर्ड प्रहरीलाई उपलब्ध गराएपछि अनुसन्धानका क्रममा प्रहरीले फोनभित्रबाट पीडित महिला र उनका परिवारलाई पठाइएका अत्यन्तै डरलाग्दा धम्कीयुक्त सन्देशहरू फेला पारेको थियो।

अनुसन्धानमा पुनले आफू र ती महिलाबीच प्रेम सम्बन्ध रहेको झुटो विश्वास बनाएको पाइएको थियो। उनले महिलालाई मात्र नभई उनका परिवारलाई समेत मृत्यु तथा गम्भीर यौन हिंसाको धम्की दिएका थिए। उनका सन्देशहरूमा ‘अब म उसलाई के गर्छु, हेर’ र  ‘तिम्रो लागि ठूलो धारिलो हतियार तयार छ’ जस्ता धम्कीपूर्ण अभिव्यक्तिहरू समेत फेला परेका थिए।

प्रहरीका अनुसार पीडित महिलाले पुनको नामसमेत यस घटनापछि मात्रै थाहा पाएकी थिइन्। उनीहरू एउटै कलेजमा अध्ययन गरे पनि महिलाले पुनलाई राम्रोसँग चिनेकी थिइनन्। पुन किन उनीप्रति यति धेरै आसक्त भए भन्ने स्पष्ट हुन सकेको छैन।

पीडित महिलाका बुबाले अदालतमा दिएको बयानमा यस घटनाले आफ्नी छोरीको आत्मविश्वास, स्वतन्त्रता र खुसी खोसिएको तथा उनी अहिले मानिसहरूमाथि विश्वास गर्नसमेत डराउने अवस्थामा पुगेको बताएका छन्।

अनुसन्धानमा संलग्न अधिकृतले पुनको व्यवहार अत्यन्तै आसक्त, अनावश्यक, दोहोरिने र हिंसात्मक रहेको उल्लेख गर्दै उनले पीडितहरूका लागि गम्भीर जोखिम उत्पन्न गरेको बताए। पुन जेल परेपछि पीडित परिवारलाई थप हानि पुग्ने जोखिम कम भएको उनीहरुले जनाएका छन्।

पीडित महिलाको परिचय गोप्य राखिएकाले उनी नेपाली हुन् वा होइनन् भन्ने खुलेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू