आइतबार, २८ जुन, २०२६
10:56 | १५:४१

बेलायती राजतन्त्रमा हलचल, ६८ करोड पाउन्डको हिसाब देखाउँदै राजा

नेपाली लिङ्क जुन २८, २०२६


लन्डन- बेलायतको राजतन्त्र फेरि एकपटक विश्व चर्चामा आएको छ । यसपटक कारण बनेका छन् बेलायतका राजा चार्ल्स तृतीय ।

राजा चार्ल्सले आफ्नो व्यक्तिगत आम्दानी र कर सम्बन्धी विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि बेलायती राजनीतिदेखि सामाजिक सञ्जालसम्म ठूलो बहस सुरु भएको छ ।

बेलायती इतिहासमै राजा स्वयंले पहिलो पटक आफ्नो कर र निजी आयको विस्तृत जानकारी सार्वजनिक गर्न लागेका हुन् । यसअघि राजपरिवारको आर्थिक गतिविधि धेरै हदसम्म गोप्य मानिन्थ्यो ।

बेलायती सञ्चार माध्यमहरूमा सार्वजनिक रिपोर्टअनुसार उनले करिब ६८ करोड पाउन्ड बराबरको आर्थिक विवरण सार्वजनिक गर्न लागेका हुन् । बकिङ्घम प्यालेसले यसलाई ‘पारदर्शिता बढाउने प्रयास’ भनेको छ ।
राजा चार्ल्सको आम्दानी विभिन्न स्रोतबाट आउने बताइएको छ । यसमा निजी सम्पत्ति, लगानी, डची अफ ल्यान्कास्टर, बाल्मोरल र स्यान्ड्रिङ्घम जस्ता शाही सम्पत्तिबाट आउने आय समावेश छ ।

तर केहीले प्रश्न पनि उठाइरहेका छन्- यदि राजतन्त्र जनताको करबाट चलिरहेको छ भने, यसको सम्पूर्ण हिसाब किन पहिले नै खुला गरिएन ?
बेलायतमा केही समययता राजपरिवारको खर्च, शाही सुविधा र कर छुटलाई लिएर आलोचना बढिरहेको थियो ।

विशेषगरी आर्थिक संकट, महँगी र सरकारी खर्च कटौती भइरहेका बेला राजतन्त्रको विलासी जीवनशैलीमाथि जनताले प्रश्न उठाइरहेका छन् ।
आलोचकहरूले भने राजाको पछिल्लो निर्णय केवल इमेज सुधार्ने प्रयास मात्र भएको टिप्पणी गरेका छन् । कतिपयले अझै पनि राजपरिवारको सम्पूर्ण सम्पत्ति र कर प्रणालीमाथि स्वतन्त्र छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

तर राजा चार्ल्सले राजतन्त्रलाई आधुनिक र पारदर्शी बनाउन खोजिरहेको समर्थकहरू बताउँछन् । उनले नयाँ पुस्तासँग जोडिन र राजसंस्थामाथिको विश्वास कायम राख्न यस्तो कदम चालेको विश्लेषण भइरहेको छ ।

के यो कदमले बेलायती राजतन्त्रप्रति जनविश्वास थप बढाउनेछ ? वा अझ धेरै गोप्य तथ्य बाहिर ल्याउने दबाब सिर्जना गर्नेछ ? त्यो भने आगामी दिनले नै देखाउनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू