मंगलबार, २३ जुन, २०२६
14:00 | १८:४५

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ? नेतृत्व दौडमा केही नेता

नेपाली लिङ्क जुन २३, २०२६

लन्डन- बेलायती प्रधानमन्त्री किअर स्टार्मरको राजीनामासँगै एन्डी बर्नहामले लेबर पार्टीको नयाँ नेतृत्वका लागि अघि बढ्ने बताएका छन् ।

उनीसँगै अहिले एन्जेला रेयनर, डेभिड लामी र वेस स्ट्रिटिङ नयाँ नेतृत्वका लागि आकांक्षी देखिएका छन् । तर, पछिल्लो समय पार्टी कार्यकर्ता र केही सांसदहरूबीच बर्नहामप्रति समर्थन बढ्दै गएको बताइएको छ ।

लेबर पार्टीभित्र प्रभावशाली र लोकप्रिय नेताका रूपमा चिनिने बर्नहाम हालै मेकरफिल्डमा भएको उपनिर्वाचन जितेर पुनः संसदमा प्रवेश गरेका छन् । त्यसपछि उनी पार्टीको भावी नेतृत्वका लागि बलियो दाबेदारका रूपमा हेरिन थालेका हुन् ।

५५ वर्षीय बर्नहाम लामो समयदेखि बेलायती राजनीतिमा सक्रिय छन् । उनी यसअघि स्वास्थ्य मन्त्री, संस्कृति मन्त्री तथा विभिन्न महत्त्वपूर्ण सरकारी जिम्मेवारी सम्हालिसकेका नेता हुन् ।

विशेषगरी राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को पक्षमा खुलेर बोल्ने नेताका रूपमा उनको पहिचान बनेको छ ।

सन् २०१७ देखि उनी ग्रेटर म्यानचेस्टरका मेयरका रूपमा कार्यरत थिए । कोभिड महामारीको समयमा स्थानीय सरकारको अधिकार र आर्थिक सहयोगको विषयमा तत्कालीन कन्जरभेटिभ सरकारसँग उनले खुलेर बहस गरेका थिए । त्यसपछि उनको लोकप्रियता अझ बढेको मानिन्छ ।

बर्नहामलाई लेबर पार्टीको मध्यमार्गी तर जनतासँग जोडिएको नेताका रूपमा हेरिन्छ । पार्टीभित्र श्रमिक वर्ग, सार्वजनिक सेवा र क्षेत्रीय विकासका मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको प्रभाव बलियो रहेको विश्लेषण गरिन्छ ।

स्टार्मरपछि नेतृत्व दौडको चर्चामा एन्जेला रेयनर र डेभिड लामी छन् । सन् २०१५ देखि सांसद रहेकी रेयनर २०२० देखि २०२५ सम्म पार्टीको उपनेता थिइन् । उनी श्रमिक वर्गसँग नजिक मानिन्छिन् र आवास, श्रम अधिकार तथा सामाजिक न्यायका मुद्दामा बलियो अडान राख्ने नेतृका रूपमा परिचित छिन् ।

डेभिड लामी बेलायती राजनीतिमा निकै अनुभवी नेता हुन् । सन् २००० देखि निरन्तर सांसद रहेका लामी करिब एक वर्षयता उपप्रधानमन्त्रीको जिम्मेवारीमा थिए । उनी विदेश नीति, मानव अधिकार र कूटनीतिक मामिलामा सक्रिय भूमिका खेल्ने नेताका रूपमा चिनिन्छन् र लेबर पार्टीभित्र प्रभावशाली व्यक्तित्व मानिन्छन् ।
त्यस्तै वेस स्ट्रिटिङ लेबर पार्टीका युवा र उदीयमान नेतामध्ये एक मानिन्छन् । उनी हाल स्वास्थ्य मन्त्रीका रूपमा काम गरिरहेका छन् र एनएचएस सुधारका योजनाका कारण चर्चामा छन् । पार्टीभित्र उनी व्यवहारिक र सुधारमुखी नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू