बुधबार, १७ जुन, २०२६
14:03 | १८:४८

बेलायतमा जातीय घृणाको शिकार बने पूर्व गोर्खाहरु

नेपाली लिङ्क जुन १७, २०२६

लन्डन- बेलायतमा भूतपूर्व गोर्खा समुदायका नेपाली वृद्धवृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भएको छ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटस्थित म्युनिसिपल पार्कमा मंगलबार दुई पूर्व गोर्खा वृद्ध र एक वृद्धामाथि आक्रमण भएको हो।

घटनाका प्रत्यक्षदर्शीलाई उदृत गर्दै स्थानीय राजनीतिकर्मी डा विशाल गुरुङले दिएको जानकारीअनुसार पार्कमा बसिरहेका वृद्धवृद्धामाथि स्थानीय गोरो वर्णका एक व्यक्तिले गालीगलौज र हातपात गरेका हुन्।

शुरुमा ‘तिमिहरु किन यहाँ बसिरहेको ? आफ्नै देश देश फर्किएर जाउ’  भन्नेजस्ता आपत्तिजनक भाषा प्रयोग गर्दै गालीगलौज गरेका थिए।

त्यसपछि बचाउको कोशिसमा पीडितहरुले आफूहरु पूर्व गोर्खा सैनिक भएको बताएका थिए। तर आक्रामक रुपमा प्रस्तुत ती व्यक्तिले उनीहरुलाई धकेल्दै हातपातसम्मै गरेका थिए।

घटनाका प्रत्यक्षदर्शी दुई नेपाली युवा, युवतीले बचाउको कोशिस गरेका थिए । उनीहरुले मोबाइलमा आक्रमणको भिडियो खिचेपछि आक्रमणकारी व्यक्तिले मोबाइल नै फुटाइदिएका थिए ।

घटनालगत्तै प्रहरीलाई खबर गरिएको थियो । केहीबेरमै आइपुगेको प्रहरीले प्रत्यक्षदर्शी र पीडितबाट सबै विवरण, तस्विर, भिडियो फुटेज आदि लिएको छ र यसबारे अनुसन्धान अघि बढाएको छ।

स्थानीय ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष समेत रहेका राजनीतिकर्मी डा विशाल गुरुङले घटनाबारे स्थानीय काउन्सिल र काउन्सिलरहरुलाई पनि खबर गरिएको बताएका छन्।

स्थानीय बेलायती समुदायका कयौं सदस्यले पनि घटनाबारे दुख व्यक्त गर्दै आक्रमणकारीलाई उचित कारबाही हुनुपर्ने बताएको उनले जनाए।

बेलायतमा पूर्व गोर्खा समुदायका सदस्यमाथि जातीय घृणा प्रेरित आक्रमण भएको यो पहिलोपटक होइन् । यसअघि पनि बेलाबेलामा यस्ता घटना सार्वजनिक भएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू