सोमबार, ८ जुन, २०२६
18:02 | २२:४७

सयौंको सहभागितामा अल्डरसटमा सम्पन्न भयो २१ जम्भला अभिषेक तथा धर्मदेशना

नेपाली लिङ्क जुन ८, २०२६

लन्डन- बेलायतमा परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोचे गुरुको विशेष सहभागितामा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ।

बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका सात सय बढी भक्तजनहरूको सहभागिता थियो।

उक्त अवसरमा १५ जना धर्मगुरुको सहभागितामा विशेष जम्भला पूजा सञ्चालन गरिएको थियो।

कार्यक्रममा विश्वप्रसिद्ध तिब्बती बौद्ध धर्मगुरु ग्याङ खाङ रिन्पोचेले सहभागीहरूलाई २१ जम्भला (कुबेर) को पवित्र अभिषेक प्रदान गर्नुका साथै बुद्ध धर्म, करुणा, प्रज्ञा तथा आध्यात्मिक जीवनसम्बन्धी विशेष प्रवचन दिएका थिए। प्रवचन चिनियाँ, भोट तथा अंग्रेजी भाषामा गरिएको थियो।


कार्यक्रमका प्रमुख आकर्षण धर्मगुरु हलभित्र प्रवेश गर्दा सम्मानस्वरुप घिर्लिङ र पाइपरको धुन बजाइएको थियो भने उपस्थित भक्तजनहरु लामबद्ध रुपमा हातमा खादा लिएर गुरुको स्वागतमा उभिएका थिए ।

हलभित्र पुगेपछि गुरुलाई सोफामा राखेर सबैजना चार मिनेटसम्म उभिएर पाइपरको धुनले स्वागत गरिएको थियो ।

सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङ यूकेका मूल गुरु श्रद्धेय खेन् रिम्पोछे शीर लामाले सहभागीहरुमाझ परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोचे गुरुको जीवनी प्रस्तुत गरे।

उनले बेलायतमा पहिलोपटक २१ वटै जम्भलाको संयुक्त अभिषेक सम्पन्न भएको दाबी गर्दै यसलाई ऐतिहासिक आध्यात्मिक अवसरका रूपमा वर्णन गरे।

कार्यक्रममा बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष रि इन्सपेक्टर खेमबहादुर गुरुङले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । यस्ता आध्यात्मिक कार्यक्रमले समुदायलाई एकताबद्ध गर्नुका साथै बुद्ध धर्मप्रतिको आस्था र ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास उनको थियो ।

कार्यक्रम सञ्चालन तथा हेल्थ एण्ड सेफटी ब्रिफ आयोजक गुम्बाका महासचिव कमल कोने गुरुङले गरे । उनले कार्यक्रमले बुद्ध धर्मको प्रचार–प्रसार तथा समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बताए।

कार्यक्रममा गुम्बाका उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राख्दै सम्पूर्ण लामा गुरु र भक्तजनहरुलाई स्वागत गरे ।

समारोहको अर्को आकर्षणका रूपमा दक्षिण भारतस्थित नम्ड्रोलिङ गुम्बामा विशेष साधनाद्वारा तयार पारिएको पवित्र ‘याङबुम’ (कलश) भक्तजनहरूलाई वितरण गरिएको थियो। उक्त कलशले सुख, शान्ति र समृद्धि ल्याउने धार्मिक विश्वास छ।

कार्यक्रममा सहभागी भक्तजनहरूले रिन्पोछेबाट प्राप्त अभिषेक तथा धर्मदेशनाले आध्यात्मिक ऊर्जा, शान्ति र सकारात्मक प्रेरणा प्राप्त भएको बताएका थिए।

सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङको आमा समूहका तर्फबाट उपस्थित सबै भक्तजनहरुलाई फलफूल, प्रसाद वितरण गरिएको थियो ।

ग्याङ खाङ रिन्पोचेको बेलायत भ्रमणअन्तर्गत केन्ट तथा डायमण्ड बुद्धिष्ट सेन्टर साउथ इष्ट लन्डनमा समेत धर्मदेशना कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू