शनिबार, ६ जुन, २०२६
12:57 | १७:४२

नयाँ रेजिमेन्ट निरीक्षणमा बेलायती राजाले गरे गोर्खाको प्रशंसा

नेपाली लिङ्क जुन ६, २०२६

लन्डन- बेलायती सेनाको इतिहासमा एउटा नयाँ अध्याय थपिएको छ । ४ जुन २०२६ मा बेलायतका राजा चार्ल्स तृतीयले ‘द किङ्स गोर्खा आर्टिलरी’ अर्थात् केजीएको औपचारिक गठन परेडको निरीक्षण गरेका छन् ।

त्यस अवसरमा उनले नयाँ रेजिमेन्टलाई विशेष सम्मान समेत प्रदान गरेका छन् ।

गोर्खा सैनिकहरूको योगदानलाई फेरि एकपटक उच्च स्तरमा सम्मान गरिएको यो समारोह अहिले विशेष चर्चामा छ । बेलायती सेनाको रोयल आर्टिलरी र ब्रिगेड अफ गोर्खाजको आयोजनामा सम्पन्न कार्यक्रममा राजा चार्ल्स तृतीयलाई ‘इन्स्पेक्टिङ अफिसर’ का रूपमा स्वागत गरिएको थियो ।

समारोहको सुरुवात राजकीय सम्मानस्वरूप २१ तोपको सलामीबाट गरिएको थियो । त्यसपछि महाराजालाई परम्परागत माला लगाएर स्वागत गरियो, जसले गोर्खा समुदायको संस्कृति र सम्मानको झल्को दिएको थियो ।

कार्यक्रमको अर्को विशेष आकर्षण भने गोर्खा परिवारका बालबालिका थिए । उनीहरूले राजालाई फूल अर्पण गर्दै समारोहलाई अझ आत्मीय र भावनात्मक बनाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले बेलायती सेनाको सबैभन्दा नयाँ रेजिमेन्ट ‘द किङ्स गोर्खा आर्टिलरी’ स्थापनाको प्रशंसा गरे ।

रोयल आर्टिलरीका क्याप्टेन जनरलसमेत रहेका राजाले केजीएको गठन प्रत्यक्ष रूपमा देख्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

उनले गोर्खा सैनिकहरूको लामो इतिहास, समर्पण, साहस र सेवाको प्रशंसा गर्दै नयाँ रेजिमेन्टले भविष्यमा पनि उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे ।


‘द किङ्स गोर्खा आर्टिलरी’ बेलायती सेनाभित्र स्थापना गरिएको नयाँ गोर्खा रेजिमेन्ट हो, जसले आधुनिक आर्टिलरी तथा प्रविधि आधारित सैन्य क्षमतामा गोर्खा सैनिकहरूको भूमिका अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यसलाई गोर्खा सैनिकहरूको व्यावसायिक क्षमता र बेलायती सेनाप्रतिको योगदानको थप मान्यता रूपमा पनि हेरिएको छ ।

२१ तोपको सलामी, परम्परागत स्वागत, बालबालिकाको फूल अर्पण र स्वयं राजा चार्ल्स तृतीयको उपस्थितिले ‘द किङ्स गोर्खा आर्टिलरी’ को गठन समारोहलाई ऐतिहासिक बनाएको छ ।

गोर्खा सैनिकहरूको गौरवशाली परम्परामा थपिएको यो नयाँ अध्यायले भविष्यमा पनि बेलायती सेनामा उनीहरूको भूमिका अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

तस्वीर – गोर्खा ब्रिगेड एसोसिएसन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू