बेलायतमा उदाउंदो क्रममा नेपालीमूलका युवा क्रिकेटर


लन्डन । बेलायतको नेपाली डायष्पोरामा दोश्रो पुस्ता उदाउंदो क्रममा छ । पहिलो पुस्ता नयां परिवेशमा अवसर खोज्दै अलमलिए पनि नयां पुस्ता भने स्वास्थ्य, खेल वा व्यवसायतिर प्रगति उन्मुख छ ।
त्यसको एउटा उदाहरण हुन् १३ वर्षीय आर्यन ढुंगाना । अहिले मिडलसेक्स काउन्टी क्रिकेट यू१३ टोलीबाट खेल्छन् आर्यन । उनी काउन्टीबाट खेल्ने एकमात्र नेपाली खेलाडी हुन् । अण्डर १० मै उनले काउन्टीमा खेलेका थिए ।
उनले ८ वर्षको उमेरमै इलिङ क्रिकेट क्लबमा क्रिकेट खेल्न थाले र छिट्टै आफूलाई एक प्रतिभाशाली युवा क्रिकेटरका रूपमा स्थापित गरे । ९ वर्षको उमेरमा उनी यु१० इलिङ बरो क्रिकेट टोलीको प्रतिनिधित्व गर्न छनोट भए ।
सोही वर्ष उनी मिडलसेक्स क्षेत्रीय क्रिकेटका लागि पनि छनोट भए जसले कम उमेरमा उनको आफ्नो असाधारण क्षमतालाई उजागर गर्यो ।
केवल १० वर्षको उमेरमा आर्यनले यु११ मिडलसेक्स काउन्टी क्रिकेट टोलीका लागि डेब्यू गरे। उनी हाल मिडलसेक्स काउन्टीमा लगातार चौंथो सिजनमा छन्।
सन् २०२४ सम्म आर्यनले अलराउन्डरका रूपमा खेले । बायाँ हातबाट फास्ट बलिङ उनको खुबी थियो । सोही वर्षको वीन्टर प्रशिक्षण सत्रहरूमा मिडलसेक्सका प्रशिक्षकहरूले उनको शारीरिक विकास र बढ्दो उचाइका कारण उनलाई बायाँ हाते स्पिनमा परिवर्तन गर्न प्रोत्साहित गरे।
प्रतिस्पर्धात्मक रूपमा स्पिन बलिङ उनका लागि पहिलो अनुभव भएपनि आर्यनले उल्लेखनीय रूपमा राम्रोसँग एडप्ट गरेर मिडलसेक्स अण्डर १२ का लागि दोस्रो धेरै विकेट लिने खेलाडी बन्दै सिजन समापन गरे ।
आफ्नो क्रिकेट यात्रामा आर्यनले मिडलसेक्स काउन्टी क्रिकेट र इलिङ क्रिकेट क्लब दुवैको प्रतिनिधित्व गर्दै धेरै खेल जितेका छन् भने कतिपय खेलका फाइनलमा योगदान समेत पुर्याएका छन्।
आर्यनले सप्ताहन्त ह्याम्पसायर क्रिकेट क्लवबिरुद्ध उनीहरूकै घरेलु मैदानमा भएको खेल ५ विकेट लिएर जिते । त्यस्तै गत शुक्रबार उनले इलिङ क्रिकेट क्लवबाट खेलेर २६ बलमा ३३ नट आउट रन बनाइ एरिया कप जिताउन सफल भए ।
उनको प्रदर्शनले उच्च सीप, दृढ संकल्प, अनुकूलन क्षमता र बलियो टिम स्प्रीट दर्शाएको प्रशिक्षकको बुझाइ छ ।
आर्यन अहिले इलिङस्थित सेन्ट बेनेडिक्ट स्कूलमा ८ कक्षाका विद्यार्थी हुन्, जहाँ उनी स्पोर्टस् एम्बासडरको भूमिकामा पनि छन्। ‘उनी स्कूलका अग्रणी क्रिकेट खेलाडीहरूमध्ये एकमा चिनिन्छन् । गत वर्ष यू१२ उमेर समूहमा प्रतिस्पर्धा गर्दा पनि उनले स्कूललाई यू१३ ट्रफी जित्न महत्वपूर्ण भूमिका खेलेका थिए’, बाबु सुरेन्द्र ढुंगाना छोराप्रति गर्व गर्छन् ।
आर्यन नैतिकता, नेतृत्व गुण र खेलप्रतिको लगावका साथ एक उदयीमान युवा क्रिकेटरका रूपमा बेलायतमा उदाउंदै छन् ।
‘क्रिकेटमा सानैदेखि रुची रह्यो । अब यही क्षेत्रमा प्रगति गर्न चाहन्छु’, आर्यनले भने, ‘समयले साथ दिए कुनै समय नेपालमा गएर समेत खेल्न मन छ ।’ आफ्नो क्रिकेट यात्रामा परिवारको ठूलो हौसला र साथ रहेको उनले सुनाए ।
आर्यन लन्डनमा जन्मिएका हुन् । बुबा सुरेन्द्र ढुंगाना एकाउन्टेन्ट र आमा सुनिता नर्स छिन् । उनीहरू झन्डै तीन दशकअघि कैलालीबाट बेलायत आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


