गोर्खा कपको २४ औं संस्करण तयारी पूरा, यसपटक प्रतिष्पर्धामा ५६ टिम


लन्डन । तमुधिं यूकेले गोर्खा कपको २४ औं संस्करण तयारी पूरा भएको जनाएको छ ।
आइतबार मिचेटस्थित तमुधिं यूके भवनमा आयोजित एक पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपक घलेले यसपटकको संस्करणमा टिम सहभागिता बढाएर ३८ मेन, भेट्रान १६ र महिला २ गरि ५६ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
मेन वीनरलाई ३ हजार ५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २००० पाउण्ड, भेट्रान वीनरले १८०० पाउण्ड एवं रनरअपलाई १८०० पाउण्ड साथै महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने उनले बताए । ‘लिजेन्ड अफ द गोर्खा कप’ उपाधि पनि दिइने छ ।
संयोजक घलेले नेपाली युवामाझ खेल विकास, भेटघाट, लागूऔषध लत न्यूनीकरण, स्थानीय समुदायलाई सहयोग, स्थानीय समुदायसंग समायोजन आदि गोर्खा कपको उद्देश्य रहेको जनाए ।
सन् १९९६ मा ७ ए साइडबाट शुरु गोर्खा कप २४ औं संस्करण आइपुग्दा ९ ए साइड र वृहत रुपमा स्थापित भएको छ । गोर्खा कप नेपालभन्दा बाहिरको सबैभन्दा ठूलो नेपाली इभेन्ट भएको पनि घलेले जानकारी दिए ।
गत वर्षको इभेन्टका कमी कमजोरीहरुबारे प्राप्त सुझाव अनुसार यसपटक सुधार गरिएको घलेको भनाइ थियो । ब्रिटिश आर्मी, स्थानीय काउन्सिल र मिडियाहरुसंग समन्वय गरि यसलाई सफल बनाउन संस्था कटिवद्ध रहेको उनले बताए ।
बिहान ९ बजेबाट खेल शुरु हुनेछ भने राती ८ बजे समापन गरिसक्ने तमुधिं यूकेको योजना छ ।
प्रवेश शुल्क ५ पाउण्ड तथा कार, मिनीबस पार्किङ १० एवं कोचको पार्किङ शुल्क १५ पाउण्ड तोकिएको छ । उनले कुल २२ हजार टिकट छापिएको पनि बताए । अनलाइनमार्फत पनि टिकट खरिद गर्न सकिनेछ ।
तमुधिं यूकेले यसपटक इभेन्टका लागि झण्डै ३ लाख ५० हजार, ६५० पाउण्ड बढी खर्च हुने जनाएको छ ।
गोर्खा कपमा खाना, च्यारिटी, लत्ताकपडा, आइसक्रिम आदि गरेर १२६ स्टल रहने पनि घलेले जानकारी दिए । यसपटक बालबालिकाका लागि विशेष खेल र फन फेयर समेत समावेश गरिएको छ ।
अल्कोहल पिउन, ड्रोन उडाउन र हतियार विक्री वितरण वा बोक्न प्रतिवन्ध छ ।
गोर्खा कपमा नेपालबाट अतिथी खेलाडीहरु ल्याउन नसकिएपनि स्कटल्याण्डमा अण्डर १५ खेलिरहेकी नेपाली खेलाडी मेलिसा रेग्मी सहभागी हुने घलेले जनाए ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले मिडियाकर्मी, प्रायोजक, सहयोगी, तमुधिं यूके पदाधिकारी लगायत सबैलाई धन्यवाद दिंदै गोर्खा कपमा आइदिन अनुरोध गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । गोर्खा कप तमुहरुको मात्र नभएको भन्दै उनले सबैलाई सहभागी भएर सफल बनाइदिन अपिल गरे ।
सो अवसरमा आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूहलाई ४० वटा मफलर हस्तान्तरण गरेकी थिइन् । समूह अध्यक्ष कमलादेवी गुरुङले ति मफ्लर ग्रहण गरिन् ।
मिडिया सेक्रेटरी एसके गुरुङले सहभागी मिडियाकर्मीहरुको परिचय दिएका थिए भने अध्यक्ष जुमकाजी गुरुङले स्वागत सम्मान गरेका थिए । तमुधिं यूके महासचिव डा. विशाल गुरुङले हेल्थ एण्ड ब्रीफसहित कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा पूर्व स्पोर्टस् सेक्रेटरी क्याप्टेन देव घले, ह्याम्पसायर इकाइ अध्यक्ष, महासचिव डा. विशाल गुरुङ लगायत पनि सम्मानित भए ।
पत्रकार सम्मेलनमार्फत टिम ड्र समेत गरिएको छ । हिराप्रसाद गुरुङ, कुमार घले र दिवान गुरुङले टिम ड्र गराएका हुन् ।
कार्यक्रममा सचिव विमल गुरुङले धन्यवाद दिंदै प्रायोजकहरुबारे जानकारी दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु कमल गुरुङ, हरि गुरुङ, ज्ञाम गुरुङ, हितकाजी गुरुङ, रामचन्द्र गुरुङ (सूर्जे), ट्रष्टी सूर्य गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमति कमलादेवी गुरुङ लगायत पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।







सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


