शुक्रबार, १५ मे, २०२६
13:29 | १८:१४

गोर्खा सैनिकमा भर्ती भएका युवालाई फिस एन्ड चिप्स खानदेखि सडक काट्नसम्म सिकाइँदै

नेपाली लिङ्क मे १५, २०२६

लन्डन- नेपालका दुर्गम गाउँबाट बेलायती सेनासम्मको यात्रा । हालै भर्ती भएर तालिमका लागि बेलायत आइपुगेका सैनिकहरुको एउटा दृश्य चर्चामा छ ।

बेलायती सेनामा भर्ती हुने अधिकांशहरूको आधारभूत सैनिक तालिममा समुद्री किनारको भ्रमण समावेश हुँदैन । तर यस वर्ष गोर्खा ब्रिगेडमा सामेल भएका ३ सय २३ जनाका लागि भने समुद्री किनारको यात्रा सैनिक तालिमको महत्वपूर्ण क्षण बनेको छ ।

इंग्ल्याण्डको समुद्री शहर वीटबी पुगेका धेरैजसो युवाले जीवनमै पहिलोपटक समुद्र देखे । कसैले पहिलोपटक बेलायतको राष्ट्रिय खाना फिस एण्ड चिप्स खाए । केहीले डेबिट कार्ड प्रयोग गर्न सिके । त्यस्तै, पहिलोपटक विदेशी समाजसँग प्रत्यक्ष घुलमिल हुने अनुभव पनि लिए ।

गोर्खा सैनिकमा भर्ती भएकाहरूको प्रशिक्षण केवल बन्दुक चलाउने वा परेड गर्ने मात्रै हुँदैन । उनीहरूलाई कल्चर एन्ड इङ्लिस ल्याङ्ग्वेज ट्रेनिङ अर्थात् सीइएलटी अन्तर्गत अंग्रेजी भाषा, बेलायती संस्कृति, दैनिक व्यवहार र सामाजिक जीवनबारे पनि सिकाइन्छ ।

सडक कसरी काट्ने, पसलमा कसरी सामान किन्ने, स्थानीयसँग कसरी कुरा गर्ने लगायत सबै तालिमकै हिस्सा हुन्छन् । किनभने सेनामा भर्ती भएर बेलायत आइपुगेका लगभग सबैजसो युवाहरू पहिलोपटक नेपाल बाहिर आएका हुन्छन् ।

नेपालभरका हजारौँ युवामध्ये अत्यन्तै कठिन छनोट प्रक्रियापछि सीमित संख्यामा मात्रै गोर्खा ब्रिगेडका लागि चयन हुन्छन् । कडा शारीरिक परीक्षा, अंग्रेजी र गणित परीक्षण र कठोर अन्य परिक्षण पार गरेपछि मात्रै उनीहरूले यो अवसर पाउँछन् ।

त्यसैले गोर्खा बन्नु केवल जागिर मात्र नभइ अनुशासन, संघर्ष र गौरवको प्रतीक पनि हो । नेपालका गाउँबाट सुरु भएको सपना आज विश्वकै सम्मानित सैन्य परम्परामध्ये एकको हिस्सा बनिरहेको छ । र, समुद्र किनारमा उभिएका युवाले नयाँ दृश्य मात्र हेरिरहेका छैनन्, जीवनको नयाँ अध्याय पनि सुरु गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू