गोर्खाकपको मुख्य विधामा पहिलोपटक ४० टीमलाई अवसर, १६ मेभित्र दर्ता हुन आव्हान


लन्डन- तमुधिं यूकेको आयोजनामा यही मे २४ तारिख आइतबार सञ्चालन हुने २४ औं गोर्खाकपको मुख्य पुरुष विधामा ४० टीम सहभागी गराइने भएको छ ।
यसअघि प्रतियोगिताको मुख्य पुरुष विधामा ३२ टीमको प्रतिस्पर्धा गराइंदै आएकोमा यस संस्करणमा थप ८ टीमलाई मौका दिंदै पहिलोपटक ४० टीम खेलाइने भएको हो ।
विगतजस्तै ३२ टीम मात्र सहभागी गराउने योजना रहेपनि गोर्खाकपप्रतिको बढ्दो आकर्षण, सहभागिताका लागि थप क्लबहरूले देखाएको चाहना तथा प्रतियोगिताको लोकप्रियतालाई मध्यनजर गर्दै थप टोली समेट्ने निर्णय गरिएको प्रतियोगिताका संयोजक एवम् तमुधिं यूके स्पोर्टस् सेक्रटरी क्या. दीपक घलेले बताएका छन् ।
२४ औं गोर्खाकपका लागि नियमित ३२ टीमको दर्ता पूरा भइसकेको छ भने बाँकी ८ टीमका लागि टीम दर्ता गर्न यही १६ मे शुक्रबारसम्मको समयसीमा तोकिएको छ ।
प्रतियोगिता प्रवेश नीतिअनुसार अघिल्लो संस्करणको विजेता टोलीले निर्धारित समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी आधिकारिक रूपमा प्रतियोगिताबाट फिर्ता नलिएसम्म स्वतः प्रतियोगितामा स्थान सुरक्षित गर्ने व्यवस्था छ।
आयोजकका अनुसार गोर्खाकपमा सहभागी हुन चाहने टीमहरुबाट हरेक वर्ष उल्लेखनीय संख्यामा प्रवेश आवेदन प्राप्त हुंदै आएको छ। समय तथा उपलब्ध स्रोतहरूको सीमितताका बाबजुद पनि यस वर्ष थप टोलीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता विस्तार गरिएको आयोजकले जनाएको छ।
आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले सहभागी हुन इच्छुक खेलाडी र टीमहरुको आग्रहअनुसार टीम संख्या थप गर्ने निर्णय लिइएको जनाए । ४० टीमको सहभागिताले खेलाडी र दर्शक दुवैका लागि प्रतियोगिता थप रोचक र मनोरञ्जनात्मक बन्ने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे ।
गोर्खाकपले सधैंजस्तै यस वर्ष पनि रोमाञ्चक, प्रतिस्पर्धात्मक तथा उत्साहपूर्ण फुटबल माहोल सिर्जना गर्ने अपेक्षा छ। प्रतियोगिताले खेलाडी, समर्थक तथा समुदायलाई एकताबद्ध गर्दै खेल भावना र फुटबल संस्कृतिको उत्सव मनाउने विश्वास लिइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


