शनिबार, १६ मे, २०२६
13:53 | १८:३८

बर्माका नेपालीभाषी नमराजले लन्डनमा पस्किरहेका छन् नेपाली स्वाद

नेपाली लिङ्क मे १६, २०२६


लन्डन । नर्थ वेष्ट लन्डनको किलबर्न नजिक पर्ने क्रिकल उड ब्रोडवेमा चालु ‘पोखरा रेष्टुरेन्ट’ बेलायतमा अरु आमनेपाली रेष्टुरेन्ट भन्दा फरक छ । फरक यस अर्थमा कि यसका सञ्चालक नमराज ज्ञवाली बर्माका नेपालीभाषी हुन् ।

बर्मामा जन्मिएर त्यहीं हुर्किए पनि नमराजको मन मष्तिस्कमा नेपाल छ । उनी नेपाली बोल्छन्, बेलायतको नेपाली समुदायमा भिजेका छन् र अहिले नेपाली खाना अन्तर्राष्ट्रियकरण गरिरहेका छन् ।

उनको परिवार पांच पुस्तादेखि बर्मामा छ जहां ६ लाख नेपाली भाषी रहेको अनुमान छ ।

सन् २००९ मा अध्ययनका लागि बेलायत आएका थिए नमराज । विद्यार्थीका रुपमा बेलायत प्रवेश गरेका उनी डेढ दशकभित्रै रेष्टुरेन्ट सञ्चालक बने ।

उनले वेष्ट लन्डन युनिभर्सिटीबाट हस्पिटालिटीमा ब्याचलर्स गरेपछि यही क्षेत्रमा काम गर्न थाले । आसकोट, ओलम्पिया र एक्सेलमा किचनमा काम गर्दै गर्दा सन् २०१३ मा मेक्सिकन रेष्टुरेन्टमा सेफ बने नमराज । कस्तो सुःखद संयोग भने उनले ब्रिटिश सेलिब्रटी सेफ गोर्डन राम्सेसंग मार्बल आर्चको द रिट्चमा काम गर्ने अवसर पाए झण्डै अढाइ वर्ष ।

अरुमा काम गरेर जागिरेमात्र बन्नुभन्दा आफैंले सानोतिनो व्यवसाय गर्ने सोचले सन् २०१६ तिर क्यामडेन टाउनमा स्ट्रिट फुडको व्यवसाय शुरु गरे । उनी बर्मेली नेपालीहरुको समूहले रम्फोर्डमा सञ्चालन गरेको इसाबेला टेकवेमा समेत जोडिए । यसका क्यानरी वार्फ, लन्डन ब्रीज, टोटेनहाम, एन्जल आदिमा आउटलेट छन् र यो रेष्टुरेन्ट थाइ, जापानीज, मलेसियन कुजिनका लागि प्रख्यात छ ।

तर, कोभिड महामारीका कारण व्यवसाय संकटग्रस्त भएपछि नमराज यसबाट बाहिरिएर केही समयपछि सन् २०२३ मा पोखरा रेष्टुरेन्टको स्वामित्व लिए ।

बर्मिज, नेपाली र इण्डियन खाना पाइने यस रेष्टुरेन्ट ४० हाराहारी सिट क्षमताको छ ।

पोखरा रेष्टुरेन्टमा बाओ छोयला (चिकेन ल्याम्ब), पोखरेली सालमन रावा, मःमका कयौं आइटम, थकाली थाली (भेज ननभेज), नेवारी स्टाइलको खाजा सेट, ग्रील किंग प्राउन, ल्याम्ब चब, मिक्सड ग्रील, ग्रील्ड फिस, हरियाली चिकन (वेष्ट सेलर), टिमुर पिरो ल्याम्ब, बर्मिज सिजर नुडल, आलु तामा र इण्डियन खानाका अनेक परिकार चर्चित छन् ।

रेष्टुरेन्ट दिउसो ३ देखि राती ११ बजेसम्म खुल्छ सातै दिन । आउटडोर क्याटरिङ व्यवस्था पनि छ ।

केही साताअघि लन्डन बिस्का जात्रामा स्टल राखेर निकै व्यापार गरेको यसले गोर्खा कपमा समेत अल्डरसट क्वीन्स एभिन्यूमा आफ्नो स्वादिष्ट परिकार पस्कने तयारी गर्दैछ । नेपाली मेला लगायत बेलायतको नेपाली समुदायमा हुने विशेष जमघटमा पोखरा रेष्टुरेन्टले स्टल राख्ने गरेको छ । ‘हामी निजी पार्टीहरु र संघसंस्थाका कार्यक्रममा पनि खाना उपलब्ध गराउन सक्छौं’, उनले भने ।

नमराजले रेष्टुरेन्टमा नेपाली र आफ्नो जन्मभूमि बर्माको कला संस्कृति झल्कने दृश्यहरुले सजिसजाउ बनाएका छन् । उनी अहिलेसम्म पोखरा पुगेका छैनन् तर रेष्टुरेन्टका भित्तामा माछापुच्छ्रे र आसपासका कलाकृति छन् जसले 
सबैलाई पोखराको सम्झना दिलाउंछ ।

अनुभवी नेपाली सेफ, कर्मचारी र खानाको गुणस्तरका कारण ग्राहकहरुको मन जितिरहेको उनले बताए । २५ वर्षदेखि रेष्टुरेन्टमा कस्टमर सर्भिस दिंदै आएका राजु न्यौपाने म्याजेनर छन् । पोखरा रेष्टुरेन्टले नेपालबाट आएका सेलिब्रेटीहरुलाई पनि स्वागत गर्ने गरेको छ । कार्यक्रम गर्न आएका कलाकारहरु एकपटक त्यहां पुगेकै हुन्छन् ।

क्रिकल उड अरबिक नागरिकहरुको एरिया मानिन्छ । यतिखेर मध्यपूर्व युद्धका कारण व्यवसाय केही सुस्त भएको उनले स्वीकारे ।

   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू