शनिबार, २ मे, २०२६
01:06 | ०५:५१

मस्कोमा मःमः पाउने एक्लो नेपाली रेष्टुरेन्ट ‘करी हाउस’

रासस मे १, २०२६


मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर राजधानी मस्कोमा घाम र छायाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो ।

रसियनहरूका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरू ‘यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो’ भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’ मा नेपालीहरूको जमघट बाक्लो हुँदै थियो ।

‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन भइरहेको एकमात्र नेपाली रेष्टुरेन्ट हो । नेपाली जमघट हुने भएकाले यहाँ सबै किसिमका नेपाली खाना पाइन्छ । नेपाली मःमः यहाँको विशेष बनेको छ । मःमःका पारखी नेपालीमात्रै होइन, रसियन पनि बनेका रहेछन् ।

नेपाली परिकार पाउने इन्डियन रेष्टुरेन्ट पनि होलान् तर नेपालीले सञ्चालन गरेको र नेपाली परिकार पाउने यो एउटामात्रै रेष्टुरेन्ट हो । ‘अहिले त मःमः पाउने पनि मस्कोको यो एक्लो रेष्टुरेन्ट हो,’ सञ्चालक डिल्ली खरेल ‘सुमन’ले भने ।

सञ्चालक खरेलका अनुसार यसअघि उनले अर्को ठाउँमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए, तर त्यहाँ आगलागी भएपछि झन्डै दुई करोड रुपैयाँ डुब्यो । झन्डै ३० वर्ष मस्कोमा बिताएका खरेलले केही महिना अघिमात्रै यो रेष्टुरेन्ट सुरु गरेका हुन्, जुन अहिले नेपालीका लागि भेटघाट गर्ने चौतारी बनेको छ ।

करि हाउसमा नेपाली मःमःको स्वाद लिएपछि माल्दिभ्सका पत्रकार नाजिम हसनले आफूले मस्को आएदेखि सबैभन्दा मिठो परिकार खाएको बताए । नेपाली शैलीका ‘स्टिम’ र ‘झोल’ दुवै प्रकारका मःमः आफूलाई निकै मन परेको उनको भनाइ थियो । उनी चार साता लामो फेलोसिप कार्यक्रमका लागि मस्को आएका हुन् ।

हसनसँगै मस्को आएका पत्रकारहरू श्रीलङ्काका आसन्का निलगराथा, भारतकी अर्पिता चौधरी र सौम्या शुक्ला तथा भुटानकी दोर्जी चोदेनले पनि मःमःको स्वाद निकै मिठो भएको प्रतिक्रिया दिए । करि हाउस नेपाली रेष्टुरेन्ट मात्रै होइन, मस्कोमा रहेका नेपालीहरूको चौतारी हो भन्दा फरक पर्दैन । करि हाउसको अगाडिको भाग पाहुनाका लागि छुट्ट्याइएको छ भने भान्छासँगै जोडिएको पछाडिको सानो हल नेपालीका लागि छुट्ट्याइएको छ । यही हलमा हरेक दिनजसो नेपाली नागरिक जम्मा हुन्छन् ।

यही सानो कोठामा गैरआवासीय नेपालीका समस्यादेखि विद्यार्थी र व्यवसायीका समस्याबारे मन्थन हुन्छन् । एउटा टेबलमा एनआरएनसम्बन्धी छलफल छलिरहँदा अर्को टेबलमा थकान मेट्दै गरेका नेपाली भेटिए । मस्कोमा पनि नेपाली मःमः जस्तै पेलमेनी (डम्पिलङ) पाइन्छ, तर यो मःमः जस्तै देखिए पनि स्वाद भने निकै फरक हुन्छ । एकपटक मःमः खाएपछि दोहोरिएर आउने रसियन धेरै भएको सञ्चालक खरेलले बताए ।

गैरआवासीय नेपाली सङ्घ, रसियाका अध्यक्ष सिताराम कट्टेल ‘मिलन’ले आफूहरूका लागि यो पायक पर्ने ठाउँ भएको बताए । उपाध्यक्ष सङ्ज्ञान कार्कीलगायतको टोली नयाँ वर्ष, २०८३ को अवसरमा सांस्कृतिक कार्यक्रम तयारीका लागि छलफलमा व्यस्त थियो ।

‘कोरोना महामारीपछि नयाँ वर्षमा हुने सांस्कृतिक कार्यक्रम आयोजना हुन सकेको थिएन, तर यसपटक हामीले यसलाई पुनः निरन्तरता दिने जमर्को गरेका छौँ । यो विदेशमा नेपाली कला र संस्कृति संरक्षण गर्ने एउटा अवसर हो,’ एनआरएनए, रसियाका अध्यक्ष कट्टेलले सुनाए ।

उक्त हलमा रुसी सेनामा २२ महिना काम गरेर अवकाश पाएका एक जना भेटिए । सत्र वर्ष भारतीय सेनामा काम गरेपछि अवकाश भएर उनी दुबई पुगेका हुन् । त्यहाँबाट मस्को पुगेर उनी रुसी सेनामा भर्ना भए । उनका अनुसार रुसी सेनाबाट अवका पाएकाहरू त्यहाँ करिब ३५ जना रहेछन् ।

‘हामी यहाँ रमाइलो गर्न आउँछौँ, नेपाली मःमः, भुटनदेखि जे भन्यो त्यही पाइन्छ । त्यसैले यो ठाउँ हामी सबैको जमघटको थलो बनेको छ,’ उनले भने । उनले आफू करि हाउसमा आउँदा नेपाल आएजस्तो लाग्ने सुनाए । छेवैमा रहेको मादल देखाउँदै उनले भने, ‘कहिलेकाँही यही मादलको तालमा गाउँदै नाच्दै रात बित्छ ।’

यहाँका नेपालीको एउटा गुनासो छ, कमाएको पैसा नेपाल पठाउन पाइएन । केही वर्षअघिसम्म यो समस्या थिएन, तर अहिले विभिन्न कारणले यहाँ कमाएको पैसा नेपाल पठाउने अवस्था छैन । रुस र युक्रेनबिचको युद्धका कारण पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण समस्या भएको हो । विशेष गरी सन् २०२२ यता रुसी बैंकहरूले विश्वव्यापी भुक्तानी प्रणाली ‘स्वीफ्ट’मार्फत कारोबार गर्न नपाउने भएपछि समस्या सृजना भएको हो ।

रुसी सरकारका उप–परराष्ट्रमन्त्री एन्ड्रे रुडेन्कोले आफूलाई उक्त समस्याबारे जानकारी भए पनि तत्काल समस्या समाधान गर्न नसकेको बताए ।

‘पछिल्ला केही वर्षहरूमा विभिन्न प्रतिबन्धको कारण स्थितिले झनै गम्भीर रूप लिएको छ, विशेष गरी हाम्रो बैंकिङ प्रणालीमा समस्या भएका कारण रूसबाट नेपालमा पैसा पठाउनु पहिलेको जस्तो सजिलो छैन,’ उनले भने, ‘तर जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ ।’

मन्त्री रुडेन्कोले उदाहरणका लागि, भारत, चीन र भियतनाम जस्ता देशहरूसँग सहकार्यमा पैसा पठाउन केही छिटो तथा प्रभावकारी तरिका हुनसक्ने बताए । ‘उदाहरणका लागि भारतमा रुसको सबैभन्दा ठूला बैंकहरू मध्ये एक, स्बेरबैंकको शाखा छ जसले प्रभावकारी रूपमा काम गरिरहेको छ, त्यो पनि भविष्यमा विकल्प हुनसक्छ ।’

करि हाउसका सञ्चालक खरेलका अनुसार करि हाउस आउने अधिकांशको समस्या पैसा पठाउन नसक्नु हो । यद्यपि भविष्यमा यो समस्या छिट्टै समाधान हुनेमा आफू आशावादी भएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू