लन्डन बिस्का जात्रा: नेवा कला संस्कृतिको अभूतपूर्व सँगम



लन्डन– प्राय बेलायतीहरुले भरिने डार्टफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्क आइतबार नेपाली समुदायको नियन्त्रणमा थियो ।
सो मनोरम पार्क विशेषगरि नेवा कला संस्कृतिले झकिझकाउ बन्यो ।
हाकुपटासी, न्यापुसिखः, पछ्यौरा, पोते, चाँदीको सिक्री, तायो, झुम्का, कल्ली, मखमलको जुत्तामा सजिएका महिलाहरुले बेग्लै आकर्षण थपिरहेका थिए ।
उता, दौरा सुरुवाल, स्टकोट र कालो टोपीमा ठांटिएका पुरुषहरुको सौन्दर्य पनि कम थिएन । पृष्ठभूमिमा गुन्जिरहेको थियो धिमे बाजा, धाः बाजा र बासुरी धुन ।
पासा पुचः गुथि यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा १९ अप्रिल आइतबार गरेको लन्डन बिस्का जात्रा भक्तपुरको झझल्को दिने गरि उत्साहपूर्वक सम्पन्न भएको छ ।
२५०० क्षमताको उक्त कार्यक्रमस्थलमा क्षमता बढी झण्डै २८ सय मानिस सहभागी भएको आयोजकले जनाएका छन् ।
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध लिच्छविकालिन बिस्का जात्रा बेलायतमा भने तेश्रो थियो । यस जात्रा सन् २०२२ मा लन्डनमा पहिलोपटक गरिएको थियो भने दोश्रो संस्करण २०२४ मा भएको थियो ।
जात्रामा सहभागी मिसेस नेपाल यूके २०१७ आस्था जोशी बाटाजुले नेपालमा देख्न नपाएको कुरा बेलायतमा अवलोकन गर्न पाएको बताइन् । ‘मलाई सबैभन्दा मन परेको अर्को पक्ष जात्रामा गैर नेवार जातीहरु राई लिम्बु, गुरुङ, क्षेत्री बाहुन झन् बढी उत्साहित हुनुहुन्थ्यो । उहांहरुलाई नेवा कला संस्कृतिप्रति निकै चासो भएको पाएं’, उनले भनिन् ।
बेलायतमै बनाइएका भैरव र भद्रकालीको रथ यात्रा गरि अन्तिममा दुई रथ जुधाएर समापन गरिएको थियो भने योसिंद्दो (लिंगो) उठाइएको थियो । गणेशको पूजा गरेपछि बालकुमारी खः, सिद्दीकाली खः, विष्णुवीर खः र दक्षिण बाराही खः बोकेर परिक्रमा गरियो । जात्राको अर्को आकर्षण थियो सिन्दुर जात्रा ।
भैरव गण नाच, गोर्खाली टाकटुके नाच र धिमे नाच जात्राका थप आकर्षण थिए । सो अवसरमा नाय् खिं, खिं, पोंगा, मिरध्ंगा लगायत बाजा पनि प्रस्तुत गरिएको थियो ।

जात्राका प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडीले पासा पुचः गुथि यूकेले नेवा कला, संस्कृति बेलायतमा संरक्षण, संवर्धन गर्न निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए । उनले यस्ता गतिविधिले आफ्नो मौलिक संस्कृति, परम्परा दोश्रो पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
जात्राका लागि नेपालबाट मध्यपुर ठिमी मेयर सुरेन्द्र श्रेष्ठ, हिटी संरक्षण अभियन्ता यादवलाल कायस्थ, सम्पदा संरक्षण अभियन्ता रवि शाक्य, आर्किटेक्ट सुनिस कुमार लाखे समेत सहभागी थिए ।
मध्यपुर ठिमी मेयर सुरेन्द्र श्रेष्ठले सात समुदपार आएर पनि बेलायतका नेवार समुदायले आफ्नो कला संस्कृति, भेषभूषा र रहनसहन जीवन्त राख्नु निकै प्रशंसनीय रहेको बताए ।
आयोजक पासा पुच गुथि यूके बिओटी अध्यक्ष सुशील प्रजापतिले ६ महिनादेखिको गृहकार्यपछि जात्रा सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरे । नेवा कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित बिस्का जात्रा गरिएको उनले बताए ।
इभेन्ट को–अर्डिनेटर रहेको पासा पुच गुथि यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुरोज मास्केले स्वागत मन्तव्य दिएका थिए ।
जात्राका सहभागी समेबजि दोंसहित नेवारी परिकार तथा व्यापारिक स्टलमा दिनभर रमाइरहे ।





