सोमबार, २० अप्रिल, २०२६
20:32 | ०१:१७

बेलायतमा विश्व शान्तिको कामनासहित यज्ञ

नेपाली लिङ्क अप्रिल २०, २०२६

लन्डन — नेपाली नयाँ वर्ष शुभारम्भको अवसरमा बेलायत अल्डरसटस्थित शिव कल्चरल सेन्टरमा आइतबार विश्व शान्तिको कामनासहित एक दिवसीय “विश्व शान्ति यज्ञ” सम्पन्न भएको छ ।

विश्व हिन्दु महासंघ बेलायत च्याप्टरको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न पेशा, समुदाय तथा संघ–संस्थाका प्रतिनिधिसहित सयौं नेपालीको उल्लेखनीय सहभागिता थियो ।

यज्ञको मुख्य आचार्यका रूपमा आचार्य दुर्गाप्रसाद पोख्रेलले आध्यात्मिक निर्देशन प्रदान गरेका थिए भने कार्यक्रम संयोजन विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका संयोजक खगेन्द्र पाठकले गरेका थिए।

कार्यक्रमको प्रारम्भ विशेष अतिथिहरूको स्वागत, स्वस्तिवाचन तथा दीप प्रज्वलनबाट गरिएको थियो ।

कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडी तथा सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहको उपस्थितिमा यज्ञ शुभारम्भ गरिएको थियो ।

कार्यवाहक राजदूतले विश्व शान्ति यज्ञको महत्वबारे प्रकाश पार्दै वर्तमान विश्वमा बढ्दो अशान्ति न्यूनीकरणका लागि यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूको आवश्यकता औंल्याए ।

यज्ञअन्तर्गत शिव पूजन तथा रुद्री पाठ पण्डित मधुसूदन सत्याल, देवी पूजन तथा चण्डी पाठ पण्डित जगदीश पौडेल र नवग्रह पूजन पण्डित उत्तम पौडेलले सम्पन्न गरेका थिए । यज्ञ सञ्चालन, निर्देशन तथा प्रवचन स्वयं आचार्य पोख्रेलद्वारा गरिएको थियो।

महन्त श्रेष्ठ, राजु मल्ल, खगेन्द्र पाठक, राजन शाक्य र दीपक करण शाही परिवारले मूल यजमानको भूमिका निर्वाह गरे भने ६४ जना हवन यजमानहरूको नाम गोत्र संकल्पसहित सक्रिय सहभागिता थियो। सयौंले विश्व शान्तिको कामनासहित पूजन, यजन र हवनमा सहभागिता जनाए ।

औपचारिक कार्यक्रममा भजन, प्रवचन तथा सांगीतिक प्रस्तुति समेत गरिएको थियो। यज्ञका मूल सूत्रधार एवं यज्ञाचार्य दुर्गाप्रसाद पोख्रेलले यज्ञ नै अहिलेको विश्वको अशान्तिमाथि विजय पाउने रामवाण भएको र यज्ञले पर्यावरण, ब्रह्माण्डीय दिव्य उर्जा र चेतनाको सन्तुलन बनाउनसक्ने विश्व शान्ति र मानव कल्याणका लागि यज्ञको महत्त्वपूर्ण भूमिका हुने बताए ।

समारोहमा प्रवचक रामविरेश महतो र प्रवाचिका चन्द्रकला सखीले यज्ञको धार्मिक, आध्यात्मिक र वैज्ञानिक महत्वबारे प्रवचन दिएका थिए भने विभिन्न कलाकारहरूले संगीतमय भजन कीर्तन प्रस्तुत गरेका थिए। कार्यक्रममा बेलायत भ्रमणमा रहेका कथावाचक भुवन शर्मालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमका संयोजक खगेन्द्र पाठकले विश्व शान्तिका लागि यज्ञको महत्व उल्लेख गर्दै यस्तो कार्यक्रमले मानवता, सहअस्तित्व र एकताको सन्देश दिने बताए । उनले यज्ञलाई केवल धार्मिक कर्मकाण्ड नभई सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमको रूपमा व्याख्या गरे ।

आयोजकका अनुसार डायस्पोरामा नेपाली समुदायको वृहत् सहभागितामा आयोजना गरिएको यस्तो खालको विश्व शान्ति यज्ञ पहिलो पटक हो । यसले सनातन धर्मको संरक्षण, संवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापन आरती, सम्मान तथा प्रसाद वितरणसँगै गरिएको थियो।

नेपालका विभिन्न स्थानमा राष्ट्र सन्त योगी नरहरिनाथले विश्व शान्ति कोटी होम गरेका थिए । त्यसको प्रेरणाबाट अनुप्राणित आचार्य दुर्गाप्रसाद पोख्रेलले डायस्पोरामा समेत यस्तो यज्ञले विश्व शान्तिमा योगदान पुर्‍याउने विश्वास गरेका छन् ।

तस्बिर: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू