आइतबार, ५ अप्रिल, २०२६
18:55 | २३:४०

बेलायतमा च्यारिटी डिनर गरेर पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग

नेपाली लिङ्क अप्रिल ५, २०२६

लन्डन । पर्वत समाज यूकेले शनिबार पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ अल्डरसटमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।

एम्पायर हलमा आयोजित उक्त च्यारिटी डिनर बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष सुरज 
पौडेलको सभापतित्वमा भएको हो ।

सो अवसरमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, कलाकार, मिडियाकर्मी र कार्यसमिति सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो ।

उक्त च्यारिटी डिनरबाट खर्चसहित झण्डै १४ हजार पाउण्ड जुटेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडीले गरिब जेहेन्दार विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गर्ने संस्थाको पहलकदमी सरहानीय रहेको बताए । दुवाडीले समाजमा आवद्ध दिग्गज व्यक्तित्वहरुले विगत र अहिले गर्दै आएका सामाजिक कार्य अरुलाई प्रेरित गर्ने खालका रहेको समेत बताए ।

‘तपाईंहरुको सफलताको दायरा बढ्नु भनेको सबैजना सफल र राष्ट्र पनि सफल हुनु हो’, उनले भने, ‘नयां सरकार गठन भएको अवस्थामा राज्यलाई बेलायतका नेपालीले कसरी सहयोग गर्न सक्छन् दूतावास समन्वय गरेर अगाडि बढ्न तयार छ ।’

कार्यवाहक राजदूत दुवाडीले आउंदो २५ अप्रिलमा बेलायतमै जन्मे हुर्केका बालबालिकालाई केन्द्रित गरि दूतावासमा फूल विरुवा रोप्ने कार्यक्रम राखिएको अवगत गराउंदै सहभागिताका लागि अभिभावकलाई आग्रह गरे ।

वयस्कहरुका लागि पनि भविष्यमा बेग्लै कार्यक्रम गरिने उनको भनाइ थियो ।

एनआरएनए आइसीसी पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार कुल आचार्यले बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई दिंदै नयां सरकारले समृद्ध नेपाल बनाएर नेपालीहरु विदेशिनु नपरोस् भन्ने कामना गरे ।

समाजका संस्थापक अध्यक्ष हितकाजी गुरुङले पहिला पर्वत वेलफेयर सोसाइटी यूके नाममा रहेको संस्था पछि च्यारिटीमा दर्ता गरि पर्वत समाज यूके नामाकरण गरिएको जनाए । उनले संस्था स्थापनाको उद्देश्य र विगत स्मरण गर्दै सबैको सामूहिक प्रयासबाट संस्था विस्तार हुंदै गएको बताए ।

आफ्ना गतिविधि मिडियामा नभनेपनि यसले समाजमा धेरै कल्याणकारी काम गरेको समेत उनको धारणा थियो ।

सम्बोधनका क्रममा समाजका पूर्व अध्यक्ष पुरन गिरीले यस संस्थाले गरेका विभिन्न सामाजिक कामको फेहरिस्त प्रस्तुत गर्दै समाजबाटै धेरैले आफ्नो पहिचान स्थापित गरेको बताए ।

‘म सामान्य सेफ थिएं, काम गर्दै गर्दा मलाई व्यवहारिक बनाएको यही संस्थाले हो’, उनले भने, ‘यही संस्थाले मलाई व्यापारी बनायो, कुल आचार्यलाई एनआरएन अध्यक्ष बनायो, हितकाजी गुरुङलाई समाजसेवी र दधी आचार्यलाई ग्लोबल पर्वत समाज अध्यक्ष बनायो ।’

गिरीले संस्थालाई कल्याणकारी कार्यमा थप क्रियाशील बनाउन वर्तमान कार्यसमितिलाई शुभकामना पनि दिए ।

ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्यले नेपाली नयां वर्षको शुभकामना दिंदै पर्वतका गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने समाजको कार्य निकै सरहानीय भएको बताए । ग्लोबल पर्वत समाज विदेशमा रहेका नेपालीलाई दुःख आपत पर्दा सहयोग गर्न केन्द्रित रहेको उनको भनाइ थियो । १३ देशमा पर्वत समाजका शाखा रहेको समेत उनले जानकारी दिए । उनले नेपाली नयां वर्षले देशमा शान्ति र समृद्धि ल्यायोस् भन्ने शुभकामना समेत दिए ।

अध्यक्ष सुरज पौडेलले नयां वर्षको शुभकामना दिंदै विदेशमा रहेपनि आफूहरुको मन, भावना, आत्मा जन्मभूमि पर्वत जिल्लाप्रति जोडिएको बताए । यो कार्यक्रम मनोरन्जनका लागि मात्र नभइ कर्तव्य, उत्तरदायित्व, माया एवं समर्पणको एउटा उदाहरण भएको समेत उनले बताए ।

एकता, सहयोग र समर्पणले पर्वतमा शिक्षा प्राप्त गर्न संघर्ष गरिरहेका बालबालिकाको जीवनमा धेरै प्रभाव पार्ने बताउंदै अध्यक्ष पौडेलले त्यस्तो वर्गलाई सहयोग गर्नु आफूहरुको दायित्व रहेको पनि बताए । उनले सबै सहयोगदाता, प्रमुख अतिथी, अतिथीहरु, कलाकार, मिडियाकर्मीप्रति कृतज्ञता समेत व्यक्त गरे ।

विभिन्न व्यक्तित्वहरु सम्मानित

कार्यक्रममा समाजले विभिन्न व्यक्तित्वहरुलाई उनीहरुको योगदानका लागि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कार्यवाहक राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमति एलिसा सुवेदी लगायतले सम्मान प्रदान गरेका थिए ।

सो क्रममा ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्य र उपाध्यक्ष श्रीमति ढाका भट्टराई, युरोप संयोजक श्रीमति अप्सरा लामिछाने गुरुङ, पर्वतेली सफल व्यवसायी पुरन गिरी, हितकाजी गुरुङ, सल्लाहकारहरु क्या. रि. लालबहादुर गुरुङ, मेजर 
रि. कृष्ण गुरुङ, जुमकाजी गुरुङ, नेत्र आले, ज्ञाम गुरुङ, कुसुम गुरुङ एवं डा. विशाल गुरुङ सम्मानित भए ।

शैक्षिक सफलता प्राप्त गर्ने सलु थापा, स्थानीय कलाकार सुश्री कृतिका आचार्य तथा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु कृष्ण सुवेदी, सोनी कुंवर र निरा थापा मगरलाई समेत सम्मान गरियो । कार्यक्रममा कृतिकाले नृत्य र नेपालबाट आएका कलाकारहरुले लोकगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रम सञ्चालक सुस्मिता थापाले हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेपछि समाजका उपाध्यक्ष सन्जयध्वज भण्डारीले स्वागत मन्तव्य दिएका थिए । सो अवसरमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ समेत खेलाइएको थियो जसमा अमिका क्षेत्रीले पहिलो पुरस्कार ‘डायमण्ड फुली’ प्राप्त गर्न सफल भइन् ।

तस्विर- शिव भण्डारी/मिलन तमु

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू