शनिबार, २८ मार्च, २०२६
17:19 | २३:०४

बेलायतसहितका शक्ति राष्ट्रहरु बालेन सरकारसंग सहकार्य गर्न इच्छुक

नेपाली लिङ्क मार्च २८, २०२६

लन्डन । नेपालका छिमेकी एवं शक्ति राष्ट्रहरू बेलायत, अमेरिका, चीन, भारत, जापान, ईयूलगायतले बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठित नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनको नेतृत्वमा शुक्रबार १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएलगत्तै उल्लेखित देशले सहकार्यको इच्छा व्यक्त गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेकोमा बालेनलाई बधाई दिएका छन् ।

‘यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ’, मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु ।’

उता, चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हालेकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताएका छन् ।

परराष्ट्रमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गरेका छन् ।

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच भएका महत्त्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्‍याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गरेको राससले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिएको छ । ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई’, अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँगसहकार्य गर्न उत्सुक छ ।’

बेलायतले पनि शुक्रबार नै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ । ‘हामी बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा बधाई दिन्छौँ’, काठमाडौंस्थित बेलायती दूतावासले भनेको छ, ‘बेलायतको नेपालसँगको मित्रता आधुनिक साझेदारीमा परिणत हुँदै छ, जुन समयको आवश्यकताहरूमा केन्द्रित छ, आर्थिक वृद्धि, युवा रोजगारी, र जलवायु उत्थानशीलता ।’

नयाँ सरकारले आफ्नो प्राथमिकताहरू निर्धारण गर्दै जाँदा, यी र अन्य क्षेत्रहरूमा सहकार्य गर्न बेलायत तत्पर रहेको दूतावासले जनाएको छ ।

युरोपेली युनियन (ईयू) ले पनि प्रधानमन्त्री नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनलाई बधाई दिएको छ । ईयूले नेपाल र नेपाली जनतासँगको लामो समयदेखिको सम्बन्धलाई अझ विकास गर्न र नेपाल सरकारको विकास प्राथमिकताहरू कार्यान्वयन गर्न सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

‘प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको नयाँ सरकारलाई पदभार ग्रहण गरेकोमा युरोपेली संघ बधाई ज्ञापन गर्दछ’, ईयूको विदेश मामिलासम्बन्धी प्रवक्ता अनौअर एल अनौनीले सामाजीक सञ्जाल एक्समा लेखेका छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेनलाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले समेत बधाई दिएका छन् ।

पाकिस्तानका राष्ट्रपति जरदारीले नेपालमा युवा नेतृत्वको उदय भएको भन्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका छन् । राष्ट्रपति जरदारीले बालेनको नियुक्तिलाई विशेष महत्त्व दिँदै दक्षिण एसियाको भविष्य निर्माणमा युवा नेतृत्व अगाडि आउनु उत्साहजनक रहेको बताएका छन् । पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई निकै महत्त्व दिने कुरामा उनले जोड दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको भारी बहुमतलाई शानदार विजयको संज्ञा दिँदै पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको सम्बन्धलाई उच्च महत्त्व दिने बताएका छन् ।

क्षेत्रीय शान्ति र स्थिरताका लागि नेपालसँग सहकार्य सुदृढ बनाउन आफू उत्सुक रहेको पाकिस्तानका प्रधानमन्त्री सरिफले उल्लेख गरेका छन् ।

बालेनलाई जापानकी प्रधानमन्त्री ताकाइची सानाएले पनि बधाई ज्ञापन गरेकी छन् । जापानकी प्रधानमन्त्री सानाएले बालेनलाई नेपालको प्रधानमन्त्री नियुक्त भएको र कार्यभार सम्हालेकोमा खुसी व्यक्त गरेकी छन् ।

उनले नेपाल र जापानबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्री बालेनसँग नजिक रहेर सहकार्य गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छन् ।

सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले जनताबाट प्राप्त गरेको बलियो जनादेशले शाहको नेतृत्वप्रति जनताको विश्वासलाई झल्काउने उनले बताएका छन् ।

वङले सिंगापुर र नेपालबीचको सम्बन्ध न्यानो र मैत्रीपूर्ण रहेको उल्लेख गरेका छन् । उनले जनस्तरको घनिष्ट सम्बन्ध र बहुपक्षीय मञ्चहरूमा भइरहेको राम्रो सहकार्यको चर्चा गरेका छन् ।

सिंगापुरका प्रधानमन्त्री वङले आगामी दिनमा दुई देशबीचको न्यानो सम्बन्धलाई अझ गहिरो बनाउन बालेनसँग मिलेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् । उनले नयाँ प्रधानमन्त्री बालेनको सुस्वास्थ्य र नयाँ भूमिकामा पूर्ण सफलताको कामना गरेका छन् ।

बालेनलाई फिनल्यान्ड, फ्रान्स, भुटान, स्वीट्जरल्यान्ड, नर्वेलगायतले पनि बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू