शनिबार, १४ मार्च, २०२६
21:58 | ०३:४३

१९ अप्रिलमा लन्डन बिस्का जात्रा, नेवा कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य

नेपाली लिङ्क मार्च १४, २०२६

लन्डन- पासा पुचः गुथि यूकेले १९ अप्रिल आइतबार डार्टफोर्ड ओपन एयर थिएटर सेन्ट्रल पार्कमा गर्न लागेको तेश्रो लन्डन बिस्का जात्राको तयारी तीव्र रुपमा बढेको छ ।

पासा पुचः गुथि यूकेले शनिबार साउथ इष्टस्थित गोर्खा क्याप्रीकन क्लवमा एक पत्रकार सम्मेलन गरि जात्रा तयारीबारे अवगत गराएको हो ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्य र स्थानीय संघसंस्थाको सहयोगमा जात्रा गरिंदैछ ।

पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके बिओटी प्याट्रन ओजेश सिंहले भक्तपुरमा हुने प्रमुख जात्रा बिस्काको इतिहासबारे जानकारी दिए ।

भैरव र भद्रकालीको रथ तानेर मनाइने यस जात्रा लन्डनमा सन् २०२२ मा पहिलोपटक, २०२४ मा दोश्रो र यसवर्ष तेश्रोपटक हुन लागेको उनले जनाए ।

सिंहले नेपालकै जस्तो अनुशरण नगरि आफ्नै मौलिक पारामा जात्रा मनाइने जनाए । ब्रिटिश नेवा हेरिटेजलाई संरक्षण गर्ने उद्देश्यले मनाउन शुरु गरिएको प्रष्टयाउंदै उनले लन्डनलाई अन्तर्राष्ट्रिय जात्राहरुको हब बनाउने उद्देश्य समेत रहेको बताए ।

इभेन्ट को-अर्डिनेटर एवं पासा पुच गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले जात्रा दिउसो १२ बजे शुरु भई ६ बजेसम्म सञ्चालन हुने र यसमा करिब २५०० जति दर्शक अपेक्षा गरिएको बताए । उनले जात्रा हेर्न अनलाइन लिए १० पाउण्ड र प्रवेशद्धारमा १५ पाउण्ड टिकट शुल्क राखिएको बताए । १२ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेश दिइनेछ।

पासा पुच गुथि यूके बिओटी अध्यक्ष सुशील प्रजापतिले आफ्नो संस्थाले केही वर्षदेखि बिस्का जात्रा, इन्द्र जात्रा, खः जात्रा देखाइंदै आएको जनाउंदै नेवा कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

नेपालबाहिर लन्डनलाई सांस्कृतिक केन्द्रका रुपमा स्थापित गर्ने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो । जात्रा एकताको प्रतीकका रुपमा रहेको उल्लेख गर्दै उनले यसप्रति रुचि, आस्था राख्नेहरु वर्षैपिच्छे जोडिंदै आएको बताए ।

अध्यक्ष प्रजापतिले नेपालबाट नगरपालिका मेयरहरु, सम्पदा, संस्कृतिविदहरु इन्दिरालक्षी मास्यू, हरिशंकर कुलुजु, यादवलाल कायस्थ, भिमप्रसाद अधिकारी, शैलेशराज कुंवर, सरोज डंगोल, जनक पोखरेल, रवि शाक्यसहित युरोप र विश्वका अन्य देशबाट समेत अतिथीहरु बोलाइएको जनाए ।

यसबाहेक लन्डनस्थित नेपाली दूतावास परिवारसहित बेलायतका करिब १२० वटा स्थानीय संघसंस्थालाई पनि निमन्त्रणा पठाइएको उनले जनाए ।

जात्रा सफल बनाउन संस्थाका पदाधिकारी र शाखाहरुले झण्डै ८ महिनादेखि गृहकार्य गरिरहेको उनले बताए ।

इभेन्ट कोअर्डिनेटर एवं पासा पुच गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्के

पासा पुच गुथि यूके साउथ इष्ट लन्डनका उपाध्यक्ष एवं सांस्कृतिक संयोजक सत्यप्रसाद प्रजापतिले बिस्का जात्राको महत्वपूर्ण पक्षबारे जानकारी दिए ।

उनले जात्रामा योसिन द्यो ढालिने, मध्यपुर ठिमीको प्रचलित सिन्दुर जात्रा प्रदर्शन, समय बजी दों प्रदर्शन, धिमे, ढा बाजा, बांसुरी प्रस्तुति रहने जनाए ।

चारवटा शाखाबाट ९ वटा बाजा समूहले बाजा प्रस्तुत गर्ने तयारी छ ।

प्रजापतिले त्यसदिन योमरीसहित टिपिकल नेवारी खाना र बच्चाहरुका लागि फेस पेन्टिङ उपलब्ध हुने बताए । भैरव र भद्रकालीको रथ जुधाएर जात्रा समापन गरिने जनाए ।

पासा पुचः गुथि यूके अल्डरसटका अध्यक्ष प्रजेश श्रेष्ठले आर्थिक तथा प्रायोजनबारे अवगत गराएका थिए । उनले जात्राका लागि करिब २६ हजार पाउण्ड खर्च हुने जनाउंदै इच्छुक व्यक्ति वा संस्थालाई प्रायोजन गरिदिन अनुरोध गरे ।

उनका भनाइमा प्रायोजनका लागि ७ वटा क्याटगोरिज बनाइएको छ । खर्च बढी भएकाले ब्रेकइभन हुने आशा गरिएको उनले बताए । गुडवील स्पोन्सरमा धेरथोर सहयोग गर्न सकिने उनको भनाइ थियो ।

पासा पुचः गुथि यूके लन्डन ब्रान्च अध्यक्ष रुक्मिणी मानन्धरले जात्रा आएर मनोरन्जन लिन अपिल गरिन् । बेलायतमै जन्मिएका बालबालिकाका लागि देशको कला, संस्कृतिबारे परिचित गराउन यस्ता जात्रा महत्वपूर्ण भएको उनले बताइन् ।

पासा पुचः गुथि यूके रेडिङ अध्यक्ष दिव्या महर्जनले आफ्नो ब्रान्चबाट बिस्का जात्रामा खः जात्रा देखाउने तयारी गरेको बताए ।

पत्रकार सम्मेलनमा अन्जु सुवालले स्टलबारे जानकारी दिएकी थिइन् । उनले समय बजी, नेपाली खाना, पेय पदार्थ, आइसक्रिम आदि गरेर खानाका स्टल ६ वटा र व्यापारिक, च्यारिटी (नन फुड स्टल) १६ वटा कन्फर्म भइसकेको जनाइन् ।

फुड हाइजिन सर्टिफिकेटसहित हुने भएकाले खाना स्वच्छ हुने उनले बताइन् । मौलिक पोशाक, मोर्गेज, गरगहना, कोदोको रक्सी आदिका स्टल रहने उनको भनाइ थियो ।

उनका अनुसार, लोकल कम्प्युनिटीका ७ वटा स्टल पनि रहनेछन् ।

सो अवसरमा जात्राको कम्युनिटी पार्टनरहरुका तर्फबाट बेक्सली नेपाली कम्युनिटीका महासचिव उमेश गौतमले सहयोग र सहभागिताको प्रतिवद्धता जनाउंदै आयोजकलाई आफ्ना सुझाव दिएका थिए ।

अर्को कम्युनिटी पार्टनर पशुपति मन्दिर प्लमस्टिडका संरक्षक नरेन्द्र कंडेलले जात्रामा बालबालिकालाई आकर्षित गर्ने खालका गतिविधिसमेत राख्न सुझाए ।

सो अवसरमा मुख्य प्रायोजक र प्रायोजकहरुले समेत विभिन्न सुझावसहित प्रायोजन गर्नुको कारणबारे बताएका थिए । तेश्रो लन्डन बिस्का जात्राको मुख्य प्रायोजकमा पेपर वर्कस सोलुसन्स् लिमिटेड छ ।

मिडिया कोअर्डिनेटर आस्था जोशी बाटाजुले कार्यक्रम सञ्चालन गर्दै सञ्चारकर्मीहरुको परिचय गराएकी थिइन् । कार्यक्रमको पहिलो सत्र पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनका सचिव ईश्वर महर्जनले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू