तमुधिं यूके पदाधिकारीले भेटे राष्ट्रपति पौडेल, बुझाए ज्ञापनपत्र


काठमाडौं- नेपाल भ्रमणमा गएका तमुधिं यूकेका पदाधिकारीहरुको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गरेको छ ।
तमुधिं यूके वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा विशाल गुरुङ, गोर्खा मिडियाका प्रवन्धक मिलन तमुसहितको टोलीले मंगलबार शितल निवास पुगेर राष्ट्रपतिलाई एक ज्ञापनपत्र समेत बुझाएको छ ।
राष्ट्रपतिसंगको भेटको संयोजन गरेका महासचिव डा गुरुङका अनुसार उक्त अवसरमा राष्ट्रपति पौडेललाई बेलायतमा नेपाली संस्कृति र नेपालीपन जोगाउन तमुधिं यूकेले गर्दै आएका प्रयासहरुबारे जानकारी गराइएको थियो ।
महासचिव गुरुङले संस्थाले वर्षेनी गर्दै आएका नेपाली मेला, गोर्खाकपलगायतका कार्यक्रमका विषयमा राष्ट्रपतिलाई बताएका थिए ।
सो अवसरमा तमुधिं यूकेका तर्फबाट राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनका लागि तमुधिं यूकेले निर्वाह गर्न सक्ने भूमिकाका साथै वंशजको नेपाली नागरिकतादेखि नेपालमा लगानीको वातावरणसम्मका विषयहरु समेटिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्रपति पौडेलले बेलायतमा नेपाली संस्कृति जोगाइराख्न तमुधिं यूकेबाट भइरहेका पहलहरुबारे थाहा पाउँदा खुशी लागेको बताए । उनले यस्ता कार्यक्रम र अभियानलाई निरन्तर राख्न सुझाव समेत दिए ।
तमुधिं यूकेले बुझाएको ज्ञापनपत्र आफूले नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्याइदिने आश्वासन पनि राष्ट्रपति पौडेलले दिए ।
राष्ट्रपतिसंगको भेटमा सहभागी रखित थापा तथा भेटका लागि समन्वय गरिदिने राष्ट्रपतिका स्वकीय सचिव अभाग्य पौडेल र तमु अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष मनोज गुरुङप्रति महासचिव डा गुरुङले आभार प्रकट गरेका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


