नेपाली व्यवसायीले बेलायतमै उत्पादन गरे कोदोको रक्सी, अन्तर्राष्ट्रिय बजार प्रमुख लक्ष्य



सिइओ तथा संस्थापक जनक राई र सहसंस्थापक भरतमणि लिम्बू
लन्डन । बेलायती बजारमा नेपाली परम्परागत मादक पेयपदार्थ कोदोको रक्सी लोकप्रिय बन्दै गएको छ ।
नेपाली व्यवसायीहरुको कम्पनी कोदोको गोर्खा डिष्टिलरीले उत्पादन गरेको कोदोको रक्सी बेलायतमा एकसय बढी ग्रोसरी तथा सुपरमार्केटमा उपलब्ध रहेको डिष्टिलरीका सिइओ तथा संस्थापक जनक राईले बताए ।
बेलायतबाहेक हङकङ र अष्ट्रेलियामा समेत यसको विक्री वितरण हुन थालेको एवं अनलाइन स्प्रीट्स रिटेलर मास्टर अफ मल्ट मार्फत विदेशका अन्य देशमा समेत पुगेको राईले जनाए ।
आसफोर्ड केन्टस्थित आफ्नै डिष्टिलरीबाट कोदोको रक्सी उत्पादन हुने र यो अन्तर्राष्ट्रिय गुणस्तरको रहेको दावी पनि राईले गरे ।
सन् २०२१ तिर परिकल्पनापछि सन् २०२३ मा डिष्टिलरी स्थापना गरि सन् २०२४ मा बजारमा प्रवेश गरेको कोदोको रक्सी सन् २०२५ सम्म धेरैतिर पुगिसकेको छ । कोदोको रक्सीले अन्तर्राष्ट्रिय स्प्रीट्स प्रतिष्पर्धा ‘आइडब्लुएससी २०२५ ‘ मा ब्रन्ज मेडल समेत जितेको छ ।
बेलायतमै कोदोको रक्सी उत्पादन, बजार र यसको विश्वव्यापी विस्तार योजनाबारे जानकारी दिन उलवीचस्थित गुल्मी रेष्टुरेन्टमा आइतबार आयोजित एक कार्यक्रममा राईले कोदोको रक्सीले नेपाललाई संसारभर चिनाओस् भन्ने सपना पूरा गर्न आफूहरु लागिरहेको बताए ।
‘नेपालीको कोदोको रक्सी बेलायतका हरेक रेष्टुरेन्ट, पब वा ग्रोसरीमा होस्, दुबई ड्युटी फ्रीमा भेटिओस् वा नेपाल एयरलाइन्समा यात्रुलाई समेत यो पेय पदार्थ बांडिओस् भन्ने हाम्रो सपना छ’, राईले रेष्टुरेन्ट व्यवसायी एवं मिडियाकर्मीहरुमाझ भने, ‘हामी केवल रक्सी उत्पादन र बेच्ने लक्ष्यका साथ आएका छैनौं, बरु यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान समेत दिलाओस् भन्ने चाहन्छौं ।’

सिइओ तथा संस्थापक जनक राई
सोजुले दक्षिण कोरियालाई, साकेले जापानलाई र टकीलाले मेक्सिकोलाई प्रतिनिधित्व गरेजस्तै कोदोको रक्सीले नेपाललाई प्रतिनिधित्व गर्न सक्ने सम्भावना औंल्याउंदै राईले सीएनएन ट्राभलले यसलाई संसारका ५० सबैभन्दा स्वादिष्ट पेय पदार्थमध्ये एकको रूपमा नाम दिएको पनि जानकारी दिए ।
उनले बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुलाई कोदोको रक्सी विक्री वितरणका लागि आव्हान गर्दै यसले व्यापारमात्र नभई नेपालको नाम समेत प्रचार प्रसार हुने भएकाले नेपाली उत्पादनलाई माया गरिदिन आग्रह गरे । ‘तपाईंहरुले कोदोको रक्सी खरिद गर्दा जनक राई वा भरत लिम्बुलाई भन्दा नेपाललाई फाइदा पुग्छ’, उनले भने ।
‘फाइनान्स एक्ट २०२५’ ले नियतवश सरकारी निकायबाट अनुमति बिना डिष्टिलरी खोलेको भेट्टाए वा घरमै बनाएर बेचेको भेटेमा १४ वर्ष जेल र २० हजार पाउण्डसम्म जरिवाना हुनेतर्फ सचेत गराउंदै राईले प्रक्रिया पूरा नगरि बनाउंदा रक्सी विषाक्त भई ज्यानै जान सक्ने जोखिम समेत औंल्याए ।
नेपालबाहिर कोदोको रक्सी उत्पादन गर्ने डिष्टिलरी आफूहरु पहिलो भएको सिइओ राईले बताए ।
कोदोको गोर्खा डिष्टिलरीले यसअघि टिमुर ड्राइ जीन, सिल्टिमुर ड्राइ जीन र नेपाली रम उत्पादन गरिसकेको छ ।
नेपाली रैथाने रक्सी विश्व मञ्चमा पुरयाउन संस्थापक जनक राई र सह–संस्थापकहरू जितेन्द्र चेमजोङ एवं भरत लिम्बुले प्रारम्भिक रूपमा साथ दिएका थिए ।
जांड, छयाङ, तोङवा र कोदोको बियर समेत छिट्टै आउने तयारी भइरहेको राईले बताए ।
सन् २०२५ मा आयोजित कोशी लगानी सम्मेलनका क्रममा कोशी सरकारसंग ‘एमओयू’ भइसकेको र लाइसेन्स प्राप्त हुनासाथ नेपालमा समेत उत्पादन गरिने राईले बताए ।
कार्यक्रममा डिष्टिलरीका सहसंस्थापक तथा यूके सेल्स लिड भरतमणि लिम्बुले सबैलाई धन्यवाद दिंदै बजार रणनीतिबारे जानकारी दिएका थिए । सो अवसरमा ब्राण्ड प्रमोशन पार्टनर चिरिष्ट ट्रेडिङका सुलभ श्रेष्ठ र राजेन्द्र खसले कोदोको रक्सीको बजार विस्तारमा आफूहरु लागेको बताए ।

तस्बिर: आशिष श्रेष्ठ


