शनिबार, ७ फ्रेब्रवरी, २०२६
19:55 | ०१:४०

‘इन्टेक २६’ का लागि नेपालबाट छानिए ३२३ ब्रिटिश गोर्खा, प्रशिक्षणमा चांडै बेलायत

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२६

लन्डन । ब्रिटिश गोर्खा सैनिकको ‘इन्टेक २६’ का लागि नेपालबाट ३२३ जना नयाँ प्रशिक्षार्थी राइफलम्यानहरु छानिएका छन् ।

द गोर्खा ब्रिगेड एसोसिएसनका अनुसार, यस वर्ष १४ हजार बढी आवेदकमध्येबाट उत्कृष्ट ३२३ जना मात्र ‘इन्टेक २६’ मा छनोटमा पर्न सफल भएका हुन् । ३२३ जना नयाँ प्रशिक्षार्थी राइफलम्यानहरूले पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा शुक्रबार आयोजित विशेष ‘अटेस्टेसन’ परेडपछि शपथ लिए । उनीहरूले बेलायती राजा चार्ल्स तृतीयप्रति बफादार रहने प्रतिबद्धता व्यक्त गरेका छन् । ब्रिटिश गोर्खा पोखराका अफिसर कमान्डिङ मेजर जेम्स हर्नबीको नेतृत्वमा परेड गठन गरिएको थियो।

अन्तिम चरणमा छनोट भएका यी ३२३ युवा अब केही दिनमै बेलायत प्रस्थान गर्ने जनाइएको छ । उनीहरूले बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा ३९ हप्ताको सैन्य तालिम पूरा गरेपछि विभिन्न गोर्खा इकाईहरूमा पठाइनेछ।

लेफ्टिनेन्ट जनरल एम आर एल्भिसले समारोहको निरीक्षण गरेका थिए। प्रारम्भिक निरीक्षणपछि लेफ्टिनेन्ट जनरल एल्भिसले लामो सेवा र राम्रो आचरण पदक, दुई अपरेशनल पदक र दुई कर्णल कमान्डेन्ट ब्रिगेड अफ गोर्खाज पदक प्रदान गरे।

उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, मेजर जनरल जेराल्ड एम स्ट्रिकल्यान्ड (कर्णल कमान्डेन्ट, ब्रिगेड अफ गोर्खाज) लगायत उच्चपदस्थ सैनिक अधिकारीहरूको सहभागिता थियो। नेपालका तर्फबाट नेपाली सेनाका मेजर जनरल भोलानाथ थापा र नेपाल प्रहरीका डिआइजी दिपेन्द्र जीसी पनि उपस्थित थिए।

ब्रिटिश गोर्खाज नेपाल (बिजिएन) का गोर्खा मेजर किरण पुनले नयाँ भर्ती भएकाहरूलाई शपथ गराएका थिए। समारोहमा आफ्ना परिवारका सदस्यहरू गोर्खा पल्टनको हिस्सा बनेको प्रत्यक्ष रूपमा हेर्न र पारिवारिक भेटघाटका लागि नेपालका विभिन्न जिल्लाबाट आएका अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो ।

दुई शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको ब्रिटिश गोर्खामा भर्ना हुनुलाई नेपाली युवाहरूले ठूलो अवसर र प्रतिष्ठाको रूपमा लिने गर्दछन् ।

सबै फोटोः द ब्रिगेड अफ गोर्खा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू