शनिबार, ७ फ्रेब्रवरी, २०२६
14:52 | २०:३७

बेलायतमा बितेका विद्यार्थीको शव नेपाल पठाउन दुई दिनमै उठ्यो ८ हजार ६०० पाउण्ड चन्दा

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२६

लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन अभियानमा स्वतस्फूर्त सहयोग प्राप्त भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले परिवारको अनुरोध बमोजिम शव नेपाल पठाउन शुरु गरेको ‘गो फण्ड मी’ मार्फत दुई दिनमा ८ हजार ६०० पाउण्ड बढी चन्दा संकलन भइसकेको छ । १० हजार पाउण्ड संकलन गर्ने लक्ष्य एनआरएनए यूकेको छ ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय मण्डलको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्न चाहेको, परिवारको आर्थिक अवस्था राम्रो नभएको र बेलायतमा मण्डल नजिकका आफन्त पनि कोही नभएकाले क्राउड फण्डिङबाट अर्थ संकलन थालिएको जनाए ।

पुडासैनीले स्वतस्फूर्त सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि बांकीलाई पनि सहयोग गर्न अपिल गरेका छन् । ‘टार्गेट’ पूरा भएपछि संकलन कार्य बन्द गरिने भएकाले त्यस अगावै सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।

कानूनी प्रक्रिया पूरा भएपछि शुक्रबारसम्म शव नेपाल पठाउने योजना बनाइएको पुडासैनीले बताए । ‘अस्पतालको कोरोनर विभागले ‘आउट अफ इंग्ल्याण्ड’ सर्टिफिकेट जारी गरेपछि नेपाली दूतावासबाट अनुमति लिएर पठाउने योजना छ’, उनले भने।

हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा सोमबार निधन भएको थियो । आइतबार श्वास प्रश्वासमा एक्कासी समस्या आएपछि मण्डल अस्पताल भर्ना भएका थिए ।

सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

आउंदो सोमबार स्वर्गीय मण्डलको सम्झनामा उनका साथीहरुले सण्डरल्याण्डमा स्मृतिसभा गर्ने भएका छन् ।

सहयोगका लागि यस लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू