मंगलबार, २७ जनवरी, २०२६
15:02 | २०:४७

करांतेकी ऐतिहासिक पदक विजेता एरिका बेलायतमा, तमुधिं यूकेबाट भव्य स्वागत

नेपाली लिङ्क जनवरी २७, २०२६

लन्डन- करांतेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ बेलायत आइपुगेकी छन् । बेलायतमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको तालिममा भाग लिन खेलाडी कुशल श्रेष्ठ र तारा गुरुङसहित एरिका सोमबार बेलुका लन्डन आइपुगेकी हुन्।

आइतबार मात्रै विश्व कराते महासंघको आयोजनामा टर्कीको इस्तानबुलमा सम्पन्न प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जितेकी एरिका टर्कीबाट सिधै लन्डन आएकी हुन्।

लन्डनको हिथ्रो एयरपोर्ट आइपुग्दा एरिकासहितका खेलाडीहरुलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले भव्य स्वागत गरेको थियो।
तमुधिं यूकेद्वारा पहिलो तमु प्रतिभा पुरस्कार–२०२४ बाट सम्मानित भइसकेकी एरिकालाई अध्यक्ष जुमकाजी गुरुङले नेपाली राष्ट्रिय झण्डा तथा महासचिव डा विशाल गुरुङले संस्थाको झण्डा ओढाएर स्वागत तथा सम्मान गरेका थिए।

विमानस्थलमै भव्य स्वागतपछि एरिकाले बेलायत आउँदा आफ्नै घर आएको महसुस भएको बताइन् । न्यानो स्वागतका लागि उनले तमुधिं यूकेका अध्यक्ष, पदाधिकारी एवं सिंगो टिमप्रति आभार व्यक्त गरिन्।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले एरिका तमु समुदायको मात्र नभइ सिंगो नेपालकै गौरव बनेको बताए। एरिकालाई बेलायतमा स्वागत गर्न पाउँदा तमुधिं यूके गौरवान्वित भएको जनाउंदै अध्यक्ष गुरुङले भावी दिनमा थप सफलताको लागि शुभकामना दिए।

एरिकाको स्वागतका लागि तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, ट्रस्टी तथा एनआरएनए यूके पूर्वअध्यक्ष सूर्य गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, गुरुङ सोसाइटी केन्ट यूके अध्यक्ष गोलामान गुरुङ, सल्लाहकार शान्त गुरुङ लगायतको विमानस्थल पुगेका थिए।

एरिका आउँदो फेब्रुअरी ५ तारिखसम्म बेलायतमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुनेछिन् ।

बेलायत बसाइका क्रममा खेलाडीहरूको आवास, तालिम र व्यवस्थापनसम्बन्धी सम्पूर्ण जिम्मेवारी तमुधिं यूकेले लिने भएको छ।

एरिका एसियाली खेलकुदमा करांतेबाट ऐतिहासिक रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । साथै, उनले २०२५ मा मोरक्कोमा भएको करांते वान प्रिमियर लिगमा कास्य, मलेसियामा भएको करांते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएकी छन् ।

तस्विर: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू