शनिबार, २४ जनवरी, २०२६
01:56 | ०७:४१

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्समा नयां नेतृत्व, बिराज भट्ट बने अध्यक्ष

नेपाली लिङ्क जनवरी २३, २०२६

लन्डन- बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्समा नयां नेतृत्व चयन भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी बिराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए ।

साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुंयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चयन भएका छन् ।

संस्थाको सिइयो स्टिभ बक्ले चुनिएका छन् ।

बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गरे ।

उनले बेलायत र नेपालबीच आयात र निर्यात गरि २५० मिलियन पाउण्ड व्यापार भएको तथ्यांक पेश गर्दै एक दशकयता सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउण्ड रहेको जानकारी दिए ।

उनका भनाइमा सन् २०१५ मा बेलायत नेपाल व्यापार तीनसय मिलियन पाउण्ड बढी थियो। तर, पछिल्ला वर्षहरुमा यो तीनसय मिलियन पाउण्ड भन्दा कम छ ।

कार्यवाहक राजदूत दुवाडीले गत वर्ष सन् २०२५ को ६ महिनामा यूकेबाट नेपाल निर्यात ६८ मिलियन पाउण्ड र आयात १८२ मिलियन पाउण्ड रहेको तथ्यांक समेत पेश गरे ।

उनले वैदेशिक लगानीका लागि नेपाल उचित गन्तव्य भएको बताए । दूतावासले बीएनसीसीसंग सहकार्य गरि नेपालमा वैदेशिक लगानीका लागि पहल गरिरहेको समेत उनले बताए। बेलायतस्थित नेपाली डायष्पोराले व्यापार तथा लगानीमार्फत देशको समृद्धिमा काम गर्नु कर्तव्य हुने समेत उनले बताए ।

बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडी

नवनिर्वाचित अध्यक्ष बिराज भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताए ।

उनले आउंदो अक्टोबर २०२६ मा नेपालमा ट्रेड मिसन लैजाने योजना रहेको बताउंदै संस्थाले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा निरन्तर ‘लबी’ गर्ने पनि बताए ।

उनले बीएनसीसीले विगत र भविष्यमा पनि नेपाल सरकार, लन्डनस्थित नेपाली दूतावास, बेलायती विदेश मन्त्रालय (एफसीडीओ) लगायत निकायसंग निरन्तर सहकार्य गरि नेपाल र नेपाली व्यवसायीको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भट्टले सहभागी र सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष बिराज भट्ट

साधारणसभापछि दूतावास प्रेक्ष्यालयमा आयोजित रात्रीभोजमा निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक अर्कामा सहयोग गर्नु महत्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको बताए ।

डा. रिजालले नवनियुक्त अध्यक्ष भट्टले संस्थालाई अर्को तहमा लैजाने आशा समेत व्यक्त गरे ।

कार्यक्रममा मिडल्याण्डका सफल व्यवसायीहरु दयानिधि सापकोटा र सुरेश केसी समेत उपस्थित थिए । व्यवसायी दयानिधि सापकोटाले बीएनसीसी ‘एम २५’ मा मात्र सिमित हो वा बेलायतभरका व्यवसायीलाई प्रतिनिधित्व गर्छ भन्ने प्रश्न गरेका थिए ।

प्रत्युत्तरमा निवर्तमान अध्यक्ष डा. रिजालले यो संस्था व्यवसायीहरु सबैको साझा भएको र भविष्यमा बांकी रहेका क्षेत्र समेटिने आश्वासन दिएका थिए ।

कार्यक्रमका सहभागीहरु वरिष्ठ पत्रकार भगिरथ योगी र मोर्गेज एड्भाइजर रमेश सरांगकोटीले लन्डनबाट नेपाल सिधा हवाइ उडानका लागि सांसद ग्यारेथ थोमसले इपिटिसन शुरु गरिसकेको अवस्थामा बीएनसीसीको सहयोगबारे धारणा राखेका थिए ।

जवाफमा कार्यवाहक राजदूत विपिन दुवाडीले सिधा उडानका लागि नेपाल सरकारले पहल जारी राखेको बताए ।

चार्टर्ड अकाउन्टेन्ट तथा व्यवसायी एलएन पाण्डेले ईयूले नेपालको आकाशलाई अझै ब्ल्याक लिष्टमा राखेकाले सिधा हवाइ उडानमा प्राविधिक समस्या परेको बताए ।

कार्यक्रममा बीएनसीसीका संस्थापक सदस्य महन्त श्रेष्ठ, अनररी अध्यक्ष आदम गिलक्रिष्ट, व्यवसायी राज पाण्डे, अन्जनी फुंयाल, बासु लामिछाने लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

सन् १९९६ मा स्थापित संस्थाले व्यापार, पर्यटन प्रवर्धन एवं लगानी अभिवृद्धिका लागि निरन्तर पहल गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष डा. कपिल रिजाल

मिडल्याण्डका सफल व्यवसायीहरु दयानिधि सापकोटा (बायां) र सुरेश केसी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू