बुधबार, २१ जनवरी, २०२६
14:06 | १९:५१

स्कटल्यान्डमा सोनाम ल्होछार, झल्कियो मौलिक तामाङ संस्कृति

नेपाली लिङ्क जनवरी २१, २०२६

स्कटल्यान्ड- २८६२ औँ सोनाम ल्होछारको पावन अवसरमा तामाङ समाज स्कटल्यान्डको आयोजनामा एक विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

स्कटल्यान्ड फाइफको डम्फरलाइनस्थित रोयल ब्रिटिश रेगन हलमा सोमबार सम्पन्न कार्यक्रममा मौलिक तामाङ परम्परा र संस्कृतिको आकर्षक प्रस्तुति गरिएको थियो।

तामाङ समुदायको नयाँ वर्ष २८६२ औँ (घोडा वर्ष) को उपलक्ष्यमा आयोजित कार्यक्रममा तामाङ संस्कृति झल्काउने विविध झाँकी, परम्परागत नृत्य, गीत–संगीत प्रस्तुत गरिएको थियो।

साथै कार्यक्रममा उपस्थित लामा गुरुबाट कुलपूजा सम्पन्न गरी शान्ति, समृद्धि र दीर्घायुको कामनासहित आशीर्वाद प्रदान गरिएको थियो।

तामाङ समाज स्कटल्यान्डका संयोजक मेख लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेका महासचिव दिवाकर पाण्डे, विशेष अतिथि संयुक्त तामाङ घेदुङ यूकेका केन्द्रीय उपाध्यक्ष कुमार स्याङतान तामाङलगायातले शुभकामना दिएका थिए।

उनीहरुले विदेशमा रहेर पनि यस्ता कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सफल भएकोमा आयोजक संस्थाको प्रशंसा गरे ।

कार्यक्रममा करिब २ सय जनाभन्दा बढी स्थानीय नेपालीको उपस्थिति थियो। स्कटल्यान्डका विभिन्न स्थानबाट तामाङ समुदायका सदस्यहरू साथै अन्य नेपाली समुदाय र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमको समापनमा तामाङ समाज स्कटल्यान्डले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, स्वयंसेवक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू