बेलायतमा गैरकानूनी बस्ने र काम गर्ने विदेशीहरुविरुद्ध छापा र पक्राउ इतिहासकै सबैभन्दा उच्च



लन्डन—बेलायतमा गैरकानूनी हैसियतमा बस्ने र काम गर्ने विदेशीहरुविरुद्ध सरकारले धावा बोलेको छ ।
पछिल्लो समय इलिगल आप्रवासीहरुमाथिको छापा र पक्राउको संख्या इतिहासकै सबैभन्दा उच्च पुगेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।
बेलायती गृह मन्त्रालयको तथ्याङ्कअनुसार जुलाई २०२४ देखि डिसेम्बर २०२५ सम्म देशभर १७,४०० भन्दा बढी स्थानमा छापा मारिएको छ र उक्त अवधिमा १२,३२० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। अघिल्लो वर्षको तुलनामा छापा ७७ प्रतिशत र पक्राउ ८३ प्रतिशतले वृद्धि भएको छ।
सरकारले यी छापाहरू मुख्यतः अवैध श्रम बढी प्रयोग हुने व्यवसायहरूमा केन्द्रित भएको जनाएको छ। नेल बार, कार वास, टेकअवे रेस्टुरेन्ट, गोदाम र साना निर्माण स्थलहरू मुख्य लक्ष्य बनेका छन्।
क्षेत्रगत रूपमा हेर्दा लन्डन, वेस्ट मिडल्याण्ड्स र साउथ वेष्ट इंग्ल्यान्डमा छापा र पक्राउ बढी भएका छन्। वेल्समा १,३२० छापा मारिँदा ६४९ जना पक्राउ परेका छन्, उत्तरी आयरल्याण्डमा १८७ छापाबाट २३४ जना पक्राउ परेको तथ्यांक सार्वजनिक भएको छ। पक्राउ परेकामध्ये अधिकांश अल्बानिया, भारत, पाकिस्तान, बङ्गलादेश र रोमानिया लगायत देशका नागरिक रहेको गृह मन्त्रालयले जनाएको छ।
छापा र पक्राउका साथै डिपोर्टेसन प्रक्रिया पनि तीव्र बनाइएको छ। पछिल्लो १२ महिनामा १,७२६ जनालाई औपचारिक रूपमा बेलायतबाट डिपोर्ट गरी उनीहरूको मूल देशमा फिर्ता पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत बढी हो।
समग्रमा सरकारले अवैध बसाइँमा रहेका ५०,००० भन्दा बढी व्यक्तिलाई देशबाट हटाउने वा फर्काउने प्रयासमा २३ प्रतिशत वृद्धि हासिल गरेको जनाएको छ।
बेलायत सरकार इलिगल आप्रवासीहरुविरुद्ध आक्रामक रुपमा लागिरहंदा गत वर्ष मात्रै ४० हजारभन्दा बढी विदेशी इंग्लिस च्यानलमार्फत् अवैध रूपमा बेलायत प्रवेश गरेका तथ्यांक बाहिरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



