रविमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाइने


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र संशोधनको स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता कार्यालयको यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयहरूले लामिछानेविरुद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरू हटाउने गरी अभियोगपत्र संशोधन प्रक्रिया अगाडि बढाउनेछन्।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण अभियोग हटाउन मात्रै आरोपपत्र संशोधनको स्वीकृति दिइएको स्पष्ट पारेकी छन्।
महान्यायाधिवक्ताको कार्यालयले यो निर्णय गर्नुका मुख्य आधार र कारणहरू यस प्रकार छन्–
१. संसदीय छानबिन विशेष समितिको निष्कर्षलाई मुख्य आधार
संसदीय छानबिन विशेष समिति २०८१ को प्रतिवेदनलाई निर्णयको मुख्य आधार बनाइएको छ । प्रतिवेदनको पृष्ठ ४४९ लाई उद्धृत गर्दै भनिएको छ– सहकारी संस्थाबाट रकम गोर्खा मिडिया प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण देखिएको छैन ।
यद्यपि, कम्पनीमा रकम आइसकेपछि सोको खर्च÷परिचालनमा प्रबन्ध निर्देशकको रूपमा उनको सहभागिता देखिएको समितिको ठहर थियो । रकम ल्याउने प्रक्रियामा संलग्नता नदेखिएकाले संगठित रूपमा अपराध गरेको पुष्टि नहुने तर्क आदेशमा गरिएको छ ।
२. वचतकर्ताको रकम फिर्तालाई प्राथमिकता (कानुनी अड्चन फुकाउने)
महान्यायाधिवक्ताको कार्यालयले यो निर्णयको सबैभन्दा बलियो कारण बचतकर्ताको निक्षेप फिर्तालाई बनाएको छ । आदेशमा भनिएको छ– संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्दा सहकारी ऐन बमोजिम ‘मिलापत्र’ हुन सक्दैन । यदि यी मुद्दा कायम रहेमा राज्यले जरिबाना र सम्पत्ति जफत गर्नेतिर प्राथमिकता दिन्छ, जसले गर्दा सर्वसाधारण वचतकर्ताले आफ्नो रकम फिर्ता पाउने सम्भावना समाप्त वा निकै ढिलो हुन्छ ।
पीडितलाई छिटो रकम दिलाउन ‘सहकारी ठगी’ सम्बन्धी अभियोगमात्र कायम राख्नुपर्ने कार्यालयको जिकिर छ ।
३. जाहेरवालाको ‘स्वघोषणा’ र बयान फेरबदल
रुपन्देहीको सुप्रिम सहकारीका जाहेरवाला नारायणबहादुर पहराई क्षेत्रीले अदालतमा दिएको ‘स्वघोषणा’ लाई पनि आधार मानिएको छ । उनले आफ्नो सुरुको जाहेरीमा रवि लामिछानेको नाम उल्लेख नगरेको तर प्रहरीले आफैँ नाम थपेर ब्यहोरा फरक पारेको भन्दै निवेदन दिएका थिए । पीडित आफैँले लामिछानेलाई दोषी नमानेको अवस्थामा संगठित अपराधको पुष्टि हुन नसक्ने आदेशमा उल्लेख छ ।
४. राजनीतिक प्रतिशोधको दाबी र थप प्रमाणको अभाव
लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्नकै लागि नयाँ तथ्य र प्रमाण बिना नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा थपिएको भनी दिएको निवेदनलाई कार्यालयले गम्भीरतापूर्वक लिएको देखिन्छ । सुरुको अभियोग पत्रमा नाम नभएका व्यक्तिहरूलाई पछि पूरक अभियोगमार्फत गम्भीर मुद्दा लगाउनु न्यायोचित नदेखिएको टिप्पणीमा उल्लेख छ ।
५. गोर्खा मिडियाका अन्य पदाधिकारीमाथि मात्र दायित्व
आदेशमा भनिएको छ– सहकारीबाट गैरकानुनी रूपमा रकम निकाल्ने र गोर्खा मिडियामा पठाउने कार्यमा संलग्न रहेका अन्य सञ्चालक र निर्णयकर्ताहरू नै मुख्य जिम्मेवार हुन् । लामिछानेको हकमा कम्पनीमा आएको रकम खर्च गर्ने भूमिका मात्र देखिएकाले उनलाई संगठित अपराधको घेरामा राख्नुभन्दा सहकारी ठगीको दायरामा मात्र राख्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।
यो निर्णयपश्चात् जिल्ला अदालत कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराधका मुद्दाहरू पनि फिर्ता हुने जनाइएको छ। चितवनमा यी अभियोगहरू नचलेकाले त्यहाँ आरोपपत्र संशोधनको निर्णय नभएको उल्लेख छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५











