बिहीबार, ८ जनवरी, २०२६
12:37 | १८:२२

साझा नेपाली समाज यूकेमा चुनियो सर्वसम्मत कमिटी, अध्यक्षमा नारायण फुँयाल

नेपाली लिङ्क जनवरी ५, २०२६

लन्डन- बेलायतको मिडल्यान्डस्थित साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व चुनिएको छ।

सोमबार वुल्भरह्याम्प्टनमा सम्पन्न समाजको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। नयाँ समितिमा अध्यक्षको जिम्मेवारी त्यस क्षेत्रका चर्चित सामाजिक अभियन्ता नारायण फुँयालले प्राप्त गरेका छन्।

फुँयालको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष शिव खराल दोहोरिएका छन्। त्यस्तै, सुरेश केसी र गणेश सापकोटा पनि उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो कार्यसमितिका महासचिव शशांक शर्मा पुनः महासचिवमा दोहोरिएका छन्।

त्यस्तै, नयाँ कार्यसमितिमा गोविन्द सापकोटा सचिव र उपेन्द्र सापकोटा कोषाध्यक्षमा चयन भएका छन् भने सह-कोषाध्यक्ष दिनेश ढकाल बनेका छन्।

कार्यसमिति सदस्यमा दशरथ खरेल, निशान्तमान बज्राचार्य, रेवती रमण पाण्डे, राहुलदेव सापकोटा र ईश्वर रिजाल चुनिएका छन्।

समाजका नवनिर्वाचित अध्यक्ष नारायण फुँयाल मिडल्याण्ड मात्र नभई सिंगो बेलायतकै नेपाली समुदायमा परिचित र चर्चित सामाजिक अभियन्ता हुन्।

उनले यसअघि साझा नेपाली समाजमा उपाध्यक्ष तथा सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन्।

साथै, उनले काभ्रे समाज यूके र सिर्जनशील लेष्टर नेपाललगायतका संस्थामा अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन्। एनआरएनए अभियानमा समेत सक्रिय फुँयालले एनआरएनए यूकेमा कार्यसमिति सदस्य, सल्लाहकारलगायतका भूमिका पनि निर्वाह गरिसकेका छन्।

कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।

नवनिर्वाचित अध्यक्ष फुँयालले मिडल्यान्डका सबै नेपाली र संघसंस्थालाई साझा नेपाली समाजको एउटै छतामुनि ल्याउनु आफ्नो प्राथमिकता रहने बताए।

मिडल्यान्डवासी नेपालीहरुबीचको भावनात्मक एकता र पारस्परिक सहकार्यलाई सुदृढ पार्न आफ्नो पूर्ण कोशिश रहने प्रतिवद्धता उनले जनाए।

समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आवश्यक सहयोग र सहकार्यका लागि आफू सधै तयार रहेको बताए। उनले आफ्नो कार्यकाल सफल र उपलब्धिमूलक बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गरे।

सो अवसरमा समाजका पूर्व अध्यक्षहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

नयाँ कार्यसमिति निर्वाचित हुनुअघि समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो।

उद्घाटन सत्रमा मिडल्यान्ड क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूले शुभकामना दिएका थिए।

त्यस्तै, बन्दसत्रमा निवर्तमान समितिका महासचिव सशांक शर्मा र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साझा नेपाली समाज यूके मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा प्रतिनिधि संस्था हो। बर्मिङहम, नटिङहम, वुल्भरह्याम्प्टन, लेष्टर, पिटरबरोलगायत मिडल्यान्डका विभिन्न क्षेत्रस्थित नेपाली समाजहरू साझामा आबद्ध छन्।

समाजका नवनिर्वाचित अध्यक्ष नारायण फुँयाल

नवनिर्वाचित कार्यसमिति

तस्विर: राहुलदेव सापकोटा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू