सिंगो ब्यान्डसहित लन्डन आइपुगे सुजन चापागाईं, शो शनिबार


लन्डन- अंग्रेजी नयाँ वर्षका अवसरमा बेलायतमा हुने आफ्नो सांगीतिक शोका लागि चर्चित गायक सुजन चापागाईं लन्डन आइपुगेका छन्।
यही शनिबार बेलुका लन्डनको प्रतिष्ठित ट्रक्सीमा आयोजना हुने शोमा प्रस्तुतिका लागि आफ्नो सिंगो ब्यान्डका साथ उनी मंगलबार दिउँसो लन्डन उत्रिएका हुन् ।
सुजन र उनको ब्यान्ड इन्फिनिटीका सदस्यहरु गरी जम्मा १० जनाको टीम लन्डन आइपुगेको आयोजक लाइम एण्ड लेमन इन्टरटेनमेन्टका सागर पौडेलले बताए।
कलाकारहरुलाई लन्डन हिथ्रो विमानस्थलमा शो आयोजक लाइम एण्ड लेमन इन्टरटनमेन्ट तथा हल्ला इभेन्टसको टीमले स्वागत गरेको थियो ।
पछिल्लो समयका लोकप्रिय गायक सुजन चापागाईं पहिलोपटक बेलायतका दर्शक, श्रोतामाझ आफ्नो ब्यान्डसहित प्रस्तुत हुन लागेका छन् ।
बलिउड र हलिउडका कलाकार समेतले प्रस्तुति गर्ने गरेको लन्डन लाइमहाउसस्थित प्रतिष्ठित भेन्यू ट्रक्सीमा झण्डै तीन हजार दर्शकमाझ सुजनले प्रस्तुति गर्नेछन् ।
एक मात्र शोका लागि बेलायत आएका सुजन र उनको ब्यान्डसंग यही विहिबार बेलुका लन्डन साउथ ह्यारोस्थित ‘नेवा छेः ‘ मा मिट एण्ड ग्रिट समेत राखिएको छ ।
गायन रियालिटी शो ‘नेपाल आइडल’ मा असफल भएपनि सुजन सांगीतिक करिअरमा भने चम्किएका प्रतिभा हुन्।
कोभिड महामारीताका सार्वजनिक गीत ‘तीनपाते’बाट सुजन नेपाली सांगीतिक क्षेत्रमा चिनिएका हुन् । उनको स्वर तथा संगीत रहेका बाफ, लजाएर, घुमी घुमी, फूलथुंगे रानी लगायत गीत लोकप्रिय छन् ।
शोको टिकटका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



