मंगलबार, ३ मार्च, २०२६
14:03 | १९:४८

बेक्सली नेपाली समाजको स्वास्थ्य तथा फिटनेस कार्यक्रम शुभारम्भ, युथ डेमा उत्साहजनक सहभागिता

नेपाली लिङ्क डिसेम्बर २२, २०२५

लन्डन- साउथ इष्ट लन्डनस्थित बेक्सली नेपाली समाजले स्थानीय नेपाली समुदायका लागि ४५ हप्ते स्वास्थ्य तथा फिटनेस कार्यक्रम शुभारम्भ गरेको छ।

आइतबार वेलिङस्थित फाल्कनवुड कम्युनिटी सेन्टरमा एक औपचारिक समारोहबीच योग, फिटनेस, नृत्य तथा पारिवारिक जुम्बा कार्यक्रम शुभारम्भ गरिएको हो ।

स्थानीय बेक्सली बरो मेयर क्रिस्टिन क्याटरअल र समाजकी अध्यक्ष विजिता गौतमले रिबन काटेर कार्यक्रम शुभारम्भ गरेका थिए।

विश्व ध्यान दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

समाजकी अध्यक्ष विजिता गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्थानीय बेक्सली बरोकी मेयर काउन्सिलर क्रिस्टिन क्याटरअलले बेक्सली नेपाली समाजले शुरु गरेको स्वास्थ्य तथा फिटनेस कार्यक्रममार्फत् समुदायको स्वास्थ्य तथा फिटनेस प्रवर्द्धनमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरिन्।

काउन्सिलर एन्ड्र्यु कर्टोइसले योग तथा फिटनेस कार्यक्रमले स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रममा आफ्नो सधै सहयोग रहने बताए ।

समाजकी अध्यक्ष विजिता गौतमले विश्व ध्यान दिवसको सन्देशलाई वास्तविक जीवनशैलीमा अनुशरण गर्ने उद्धेश्यका साथ दिवसकै दिन कक्षा शुभारम्भ गरिएको बताइन्।
समाजका संस्थापक अध्यक्ष केशबहादुर गुरुङले यस्ता कार्यक्रमले व्यस्तताबीच पनि स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

विश्व ध्यान दिवस, आत्म—अनुशासन, शान्ति र मानसिक सन्तुलनको सन्देश बोकेको दिन भएकाले सोही अवसरमा समुदायकै लागि दीर्घकालिन स्वास्थ्य कार्यक्रम उद्घाटन गरिएको भन्दै संस्थाका ट्रष्टी दिपेन सिटौलाले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

ट्रष्टी सिटौलाको समन्वयमा सम्पन्न कार्यक्रम महासचिव उमेश गौतमले संचालन गरेका थिए।

समाजले सन् २०२१ देखि नै बेक्सली क्षेत्रमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै योग, ध्यान, जुम्बा तथा फिटनेसको कार्यक्रम संचालन गर्दै आएको छ ।

शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रमअन्तर्गत् स्थानीय वेलिङ स्कुलमा कक्षाहरु सञ्चालन हुनेछन् ।

हरेक शनिबार फिटनेस र योगा तथा आइतबार फेमिली जुम्बाका नियमित कक्षा सञ्चालन हुने समाजका महासचिव उमेश गौतमले जानकारी दिए।

कक्षामा सहभागी हुन इच्छुक सदस्यहरुलाई समाजको वेबसाइटमा राखिएको लिंकमार्फत् आफ्नो नाम दर्ता गर्न आव्हान गरिएको छ ।

कार्यक्रम ‘द नेशनल लटरी कम्युनिटी फन्ड’ को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो। बेक्सली नेपाली समाजले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै नेशनल लटरीको योगदानले समुदायस्तरका यस्ता सकारात्मक र प्रभावकारी परियोजनाहरू सम्भव भएको जनाएको छ।

युथ डे’ मा उत्साहजनक सहभागिता


यसैबीच, आइतबार नै समाजले वार्षिक रुपमा गर्दै आएको ‘बीएनसी युथ’ डे पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ।

दिउँसो १ देखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा ६ देखि २५ वर्ष उमेरसम्मका १ सय २० जना बालबालिका तथा युवा र उनीहरुका अभिभावक सहभागी थिए ।

उक्त अवसरमा बालबालिकामाझ नृत्य, क्यान्डी क्रसजस्ता मनोरञ्जनात्मक गतिविधि गराइएको थियो भने युवाहरुले क्वीज, ज्ञान तथा अनुभव शेयरिङजस्ता ज्ञानवर्द्धक गतिवधिमा भाग लिएका थिए ।

समाजमा युवाहरुको सहभागिता प्रवर्द्धन गर्ने उद्धेश्यले वर्षेनी गरिंदै आएको ‘बीएनसी युथ डे’ को संयोजन पनि युथ टीमले नै गर्ने गरेको छ । साथै, अभिभावक समेत संलग्न रहेर सहयोग गर्दै आएका छन्।

समुदाय स्तरमा संचालन गरिएका यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो भाषा, संस्कृति र रहनसहनबारे बुझ्न र विदेशी भूमिमा आफ्नो समुदायसंग जोडिन पनि सहयोग गर्ने विश्वास समाजको छ।

हेरौं थप तस्विरहरु: 
स्वास्थ्य तथा फिटनेस शुभारम्भ

युथ डे

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू