अपांगता दिवस च्यारिटीमा जुटे बेलायतका गुल्मेली, कार्यक्रम ३० नोभेम्बर आइतबार


लन्डन-गुल्मी जिल्ला समाज यूकेको वार्षिक च्यारिटी कार्यक्रम यही ३० नोभेम्बर आइतबार आयोजना हुंदैछ।
विश्व अपांगता दिवसको अवसर पारेर समाजले वर्षेनी गर्दै आएको अपांगता दिवस च्यारिटी लन्डनको वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा हुने तय छ।
समाजका महासचिव महलाल घिमिरेका अनुसार विविध सांस्कृतिक कार्यक्रमहरुका साथमा च्यारिटी कार्यक्रम गर्न लागिएको हो।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय स्तरका लोकदोहोरी गायक अर्जुन कुंवरको विशेष प्रस्तुति रहनेछ। साथमा, प्रथम नौमती बाजा गुल्मी यूके र डिजेबाट पनि मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिंदैछ । त्यस्तै, स्थानीय कलाकारहरु जुना पुन, जेनिशा पुन, अलिशा पुन, अस्मिता मगर, विशाल तामाङ, युवराज डांगी, सुआज्ञा केसीलगायतले पनि आकर्षक नृत्यसहितका मनोरञ्जन पस्किनेछन् ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधि आमन्त्रित छन्।
च्यारिटी कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष मञ्जु भण्डारी र सहसंयोजन सचिव राधा खरेलले गर्दैछन्। संयोजक मञ्जु खरेलले च्यारिटी कार्यक्रमका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्।
उनले कार्यक्रम पूर्व नै च्यारिटी कोष संकलन अभियान समेत अगाडि बढिसकेको भन्दै कार्यक्रमबाट थप कोष जुटाउने अपेक्षा राखिएको बताइन्।
कार्यक्रमकी सहसंयोजक राधा खरेलले कार्यक्रमबाट संकलित कोष विगतमा जस्तै नेपालमा अपांगता भएकाहरुका लागि सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिइन्।
दिउंसो १ बजे शुरु हुने कार्यक्रम साँझसम्म चल्नेछ। कार्यक्रम प्रवेश शुल्क २५ पाउण्ड छ जसमा डिनर समेत समावेश छ । १२ वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका वृद्धवृद्धालाई निशुल्क छ।
च्यारिटी कोषमा ५० पाउण्ड योगदान गर्नेलाई एक तथा १०० पाउण्ड योगदान गर्नेलाई कार्यक्रमका दुईवटा टिकट निशुल्क उपलब्ध गराइनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



