बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरूनलाई प्रोस्टेट क्यान्सर
बेलायतमा वार्षिक ५५ हजार पुरुष प्रभावित


लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरूनले आफूलाई प्रोस्टेट क्यान्सर भएको र उपचार गराइरहेको जानकारी दिएका छन्।
५९ वर्षीय लर्ड क्यामरूनले ‘द टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नी पत्नी सामन्था क्यामरूनको जोडमा प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पीएसए) परीक्षण गराउँदा क्यान्सर पुष्टि भएको बताएका हुन्।
परीक्षणमा पीएसए स्तर उच्च देखिएपछि उनको एमआरआई स्क्यान र बायोप्सी गरियो। क्यान्सर पुष्टि भएपछि उनलाई फोकल थेरापी बाट उपचार गरियो, जसमा ट्युमर रहेको क्षेत्रलाई मात्र लक्षित गरी उपचार गरिन्छ।
लर्ड क्यामरूनले पुरुषहरूमा आफ्नो स्वास्थ्यबारे कुरा नगर्ने र परीक्षणलाई आलटाल गरेर टार्ने प्रवृत्ति रहेको स्वीकार्दै, आफ्नो अनुभव सार्वजनिक गर्नुको उद्देश्य उच्च जोखिम समूहका पुरुषहरूलाई स्क्रिनिङ (जाँच) उपलब्ध गराउने अभियानलाई समर्थन गर्नु रहेको बताए।
उनले भने, ‘मैले स्क्यान गराएँ, मेरो स्वास्थ्यमा केही गडबडी भएको पत्ता लगाउन मद्दत गर्यो। जसबाट मलाई त्यसलाई समाधान गर्ने मौका दियो।’
प्रोस्टेट क्यान्सर बेलायतमा पुरुषहरूमा हुने सबैभन्दा सामान्य क्यान्सर हो, जसका कारण वार्षिक करिब ५५ हजार जना प्रभावित हुने गर्छन्। यो ७५ वर्षभन्दा माथिका पुरुषहरू र अश्वेत पुरुषहरूमा बढी सामान्य छ।
लर्ड क्यामरूनको यो धारणा सार्वजनिक हुनुभन्दा केही समयअघि मात्रै बेलायतमा प्रोस्टेट क्यान्सर पत्ता लगाउने सबैभन्दा राम्रो तरिका खोज्नका लागि दशकौँकै सबैभन्दा ठूलो ‘ट्रान्सफर्म ट्रायल’ नामक राष्ट्रिय स्क्रिनिङ परीक्षण कार्यक्रम सुरु भएको छ।
यो परीक्षणमा पीएसए रगत परीक्षणलाई र्यापिड एमआरआई स्क्यान लगायतका अन्य परीक्षणसँग जोडेर हेरिनेछ, जसको उद्देश्य पीएसए परीक्षणका कमजोरीहरूलाई सुधार गर्नु हो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




