अवार्ड वितरणसहित सहारा यूकेको च्यारिटी डिनर



लन्डन । सहारा यूकेले १४औं वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम गरेको छ । नेपालका असहाय बालबालिकाको सहयोगार्थ कोष जुटाउन अल्डरसटस्थित एम्पायर हलमा शनिबार च्यारिटी कार्यक्रम भएको हो ।
उक्त अवसरमा समाजमा योगदान दिएका विभिन्न व्यक्तिलाई अवार्ड समेत प्रदान गरिएको छ ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, संस्थापक अध्यक्ष नवीन गुरुङ र सहारा यूके अध्यक्ष कृष्ण गुरुङले दीप प्रज्वलन गरेर संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाली र ब्रिटिश राष्ट्रिय गीत बजाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कार्यवाहक राजदूत दुवाडीले अरु संस्थालाई पनि सहारा यूकेजस्तै देश र समदायमा राम्रो छाप छोड्ने खालका कार्य गर्न सुझाए। उनले यतिखेर देशलाई डायष्पोराको झन् बढी खांचो रहेको औंल्याउंदै दूतावास बेलायतका नेपाली संघसंस्थासंग सहकार्य गरेर काम गर्न अग्रसर रहेको बताए । छिट्टै संघसंस्थाका प्रतिनिधिहरुसंग दूतावासले भेटघाट राख्ने पनि उनको भनाइ थियो । दूतावासले समुदायबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको उनले बताए ।
अल्डरसटमा बसोवास गर्ने वृद्धवृद्धालाई लक्षित गर्दै दूतावासले घुम्ती कन्सुलर शिविर गर्ने सोच बनाएको बताउंदै दुवाडीले स्थानीय संघसंस्थाले भेन्यू व्यवस्था गरिदिए एक डेढ महिनाभित्र शिविर सञ्चालन गर्न दूतावास तयार रहेको उनले जनाए ।
आफू भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि लागिरहेको पनि कार्यवाहक राजदूत दुवाडीले स्मरण गरे।
औपचारिक कार्यक्रम समापन अघि संस्थाका अध्यक्ष कृष्ण गुरुङले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै संस्थाका गतिविधिबारे बताए ।
महासचिव क्याप्टेन (रि.) पिताम्बर गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिंदै शुरु गरेको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक शारदा गुरुङले स्वागत मन्तव्य दिएका थिए । उनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संस्थाले महाभूकम्पबाट क्षतिग्रस्त स्कुल पुनर्निर्माण, आहा रारा गोल्डकपमा आर्थिक सहयोगदेखि हाल ३० जना असहाय बालबालिकालाई आश्रय तथा रेखदेख गरिरहेको अवगत गराए ।
समाजसेवीहरुलाई अवार्ड

कार्यक्रममा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई वर्षेनी दिइने अवार्ड प्रदान गरिएको छ ।
यसवर्ष बेलायतमा सक्रिय सामाजिक अभियन्ताद्वय सहारा यूकेका संस्थापक सल्लाहकार तथा तमुधिं यूके पूर्वअध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) र सहारा यूकेका सल्लाहकार एवं तमुधिं यूके संस्थापक सदस्य चन्द्रबहादुर गुरुङलाई क्रमशः सहारा यूके स्पेशल अवार्ड र सहारा यूके अवार्ड २०२५ प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि दुवाडी, सहारा यूके अध्यक्ष गुरुङ र फस्ट लेडी जीना गुरुङले उनीहरुसहित दम्पत्तिलाई अवार्ड, दोसल्ला, पछ्यौरा र पुष्पगुच्छासहित सम्मान गरे ।
सहारा यूके पूर्व अध्यक्ष मीनप्रसाद गुरुङ (साईंला) को संयोजकत्वमा वर्तमान अध्यक्ष कृष्ण गुरुङ, संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्षहरु दिलिप गुरुङ, कुमार गुरुङ र कुसाङ गुरुङ सम्मिलित अवार्ड छनोट समिति गठन गरिएको थियो ।
सोही अवसरमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, लेफ्टिनेन्ट कर्णेल (रि.) टोल खाम्चामगर, एम्पायर हलका सञ्चालक पुरन गिरी, सहारा यूकेका पूर्व अध्यक्ष कुसाङ गुरुङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु र एभरेष्ट टाइम्सका अनलाइन प्रमुख एसके गुरुङलाई सम्मान गरियो ।
त्यसैगरि, बेलायती क्लवमा आवद्ध व्यवसायिक युवा खेलाडीहरु आर्नभ थापा र किवान राईलाई प्रशंसापत्र, खादासहित अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । नेपाली कलाकारलाई पनि सम्मान गरिएको थियो । आर्नभले अक्सफोर्ड युनाइटेड र किवानले अल्डरसट एफसीमा आवद्ध भएर खेलिरहेका छन् ।
कार्यक्रममा द भ्वाइस अफ नेपालकी प्रतिष्पर्धी गायिका निता पुनले गायन प्रस्तुत गरेकी थिइन् भने सयपत्री कल्चरल ग्रुपका कलाकारहरुले विविध नाच देखाएका थिए ।
कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो । ‘राफल ड्र’ को प्रथम पुरस्कार अनुग्रह ज्वेलर्सका प्रोपाइटर सुमन राईले अनुग्रहको ब्रान्ड स्वीस वाच प्रायोजन गरेका थिए ।
दोस्रो पुरस्कार तमुधिं यूके उपाध्यक्ष तथा चाइना ओरियन्टलका प्रोपाइटर कमल गुरुङले ३ सय पाउन्ड एवं तेस्रो पुरस्कार व्यञ्जन रेस्टुरेन्टले २०० पाउण्ड प्रायोजन गरेको थियो ।
सो अवसरमा सहारा यूकेबारे बनाइएको डकुमेन्ट्री पनि देखाइएको थियो ।
तस्विरहरु: मिलन तमु




सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



