सोमबार, १७ नोभेम्बर, २०२५
19:54 | ०१:३९

लण्डनमा बितेका योमन चन्दको शव नेपाल पठाउन भन्दै ‘फेक’ एकाउन्टबाट सहयोग संकलन सुरु

एनआरएनए यूकेको अभियानबाट झण्डै १७ हजार पाउण्ड संकलन

नेपाली लिङ्क नोभेम्बर १७, २०२५

स्वर्गीय योमन

लन्डन – गत मंगलबार लन्डनस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै १७ हजार पाउण्ड बढी रकम सहयोग जुटिसकेको छ ।

सोमबार (नोभेम्बर १७ तारिख) मध्य रातीदेखि सहयोग संकलन बन्द गरिने घोषणा गरिएको थाहा पाउनासाथ सोमबार नै सुजन शाहको नाममा ‘फेक’ एकाउन्ट खोली सहयोग संकलन सुरु गरिएको थाहा भएको छ।

सोमबार अपरान्हसम्म उक्त फेक एकाउन्टमा झन्डै ५०० पाउण्ड जम्मा भइसकेको छ।

‘https://gofund.me/43bb4352f भन्ने एकाउन्ट फेक हो । यसबारे हाम्रो समितिलाई कुनै जानकारी छैन र सहमति पनि छैन। त्यसैले उक्त एकाउन्टमा गएर सहयोग गर्नु भएका साथीहरुले गो फन्डमा गएर आफूले सहयोग गरेको रकम फिर्ता माग्न हामी अनुरोध गर्दछौं,’- समितिका सदस्य तथा एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले भने- ‘यसबारे हामीले प्रहरीसहित सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं ।’

स्वर्गीय चन्दका फुपूका छोरा (भाइ) सुजन शाहले उदार मन गरेर यो मानवीय अभियानमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले आफ्नो नाममा फेक एकाउन्ट खोलेको थाहा पाउँदा आफू स्तब्ध भएको र उक्त एकाउन्ट बन्द गर्न ‘गो फन्डमी’ मा रिपोर्ट गरिसकेको बताए।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यान दार्मा गाउँपालिका- ४ निवासी योमन चन्दको गत मंगलबार बिहान निधन भएको थियो।

उनको शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनर रिपोर्ट आएपछि उनका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू