लण्डनमा निधन भएका योमनको शव नेपाल पठाउन उठ्यो १५ हजार पाउण्ड



स्वर्गीय योमन
लन्डन – गत मंगलबार लन्डनस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै १५ हजार पाउण्ड (करिब २८ लाख रुपियाँ) सहयोग जुटेको छ । सहयोग उठ्ने क्रम जारी छ।
स्वर्गीय चन्दका बुवा आमाको आग्रह बमोजिम उनको शव नेपाल पठाउन सहयोग संकलन तथा अनुगमन गर्न गठित समितिको निर्णय बमोजिम स्वर्गीय चन्दका फुपूका छोरा (भाइ) सुजन शाहको नाममा खोलिएको ‘गो फन्ड मी’ पेजमा शनिबार अपरान्हसम्म १४, ३०० पाउण्ड बढी जम्मा भइसकेको छ।
समितिको शनिबार बसेको बैठकले सोमबार (१७ नोभेम्वर) मध्य रातीदेखि सहयोग संकलन औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेको छ।
“मर्दापर्दा सक्दो सहयोग गर्ने नेपाली संस्कृति नै हो। स्व. योमन चन्द भाइको शव नेपाल पठाउने जस्तो मानवीय कार्यमा सहयोग गर्नु हुने बेलायतस्थित नेपाली समुदायका सम्पूर्ण सदस्य तथा संघसंस्थालाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,” समितिका सदस्य तथा एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने। उनले चन्दको शव नेपाल पठाउनेबारे आवश्यक तयारी भइरहेको र उनको शव पठाउँदा लागेको खर्च कटाएर बाँकी रहेको रकम उनको परिवारलाई हस्तान्तरण गरिने पनि जनाए।
यसै गरी समितिका सदस्य तथा बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले सबैको सहयोगले छोटो समयमा उल्लेख्य रकम संकलन गर्न सकिएको जनाए । उनले सहयोग संकलनमा सक्रिय समाजका सदस्यहरु लगायत सबै सहयोग दाताहरुलाई हार्दिक धन्यवाद पनि दिए।
यसैगरी स्व. चन्दका भाइ सुजन शाहले पनि दुःखको घडीमा सहयोग र सान्त्वना दिने बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई परिवारको तर्फबाट हार्दिक आभार प्रकट गरेका छन्।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको गत मंगलबार बिहान निधन भएको थियो।
युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए।
उनको शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनरको रिपोर्ट आएपछि उनका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ।
समितिले निम्न ‘गो फन्ड मि’ लिंकमा गएर सोमबार (१७ नोभेम्वर) रातीसम्म सहयोग गर्न सकिने जनाएको छ।



