आइतबार, १६ नोभेम्बर, २०२५
17:37 | २३:२२

लन्डनमा इन्फा अवार्ड, ‘छक्का पन्जा ५’ लाई ५ विधामा अवार्ड

नेपाली लिङ्क नोभेम्बर १६, २०२५

लन्डन । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को दोश्रो संस्करण भएको छ।

इन्फा इभेन्ट यूकेले आयोजना गरेको अवार्डस् समारोहमा चलचित्र छक्का पन्जा ५ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (दीपाश्री निरौला), पब्लिक च्वाइस अवार्ड अभिनेता (दीपकराज गिरी), स्क्रिनप्ले र कोरियोग्राफी विधामा अवार्ड जितेको छ।

गत वर्ष रिलिज भएका ५५ फिल्ममध्येबाट २७ विधामा अवार्ड दिईंदा लिड रोल मेल अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बराल एवं लिड रोल फिमेल अवार्ड चलचित्र ‘खुस्मा’ बाट उपासनासिंह ठकुरीले जितिन्।

त्यसैगरि, उत्कृष्ट सम्पादन अवार्ड ‘आउट ल’ बाट साहिल खानले पाए भने उत्कृष्ट सिनेमाटोग्राफी ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले जिते।

एक्टर इन नेगेटिभ रोलको अवार्ड ‘पिताम्बर’ बाट प्रमोद अग्रहरीले पाए। सर्पोटिङ रोल मेलतर्फ जीतु नेपाल (कर्साङ) ले जिते भने सर्पोटिङ रोल फिमेलतर्फ सृजना सुब्बा (अन्जिला) र ऋचा घिमिरे (तेल भिसा) ले पाए।

त्यस्तै, डेब्यू एक्टर मेल अवार्ड ‘बर एण्ड बधु’ बाट विवेक कर्मचार्य र डेब्यू एक्टर फिमेल सृजना निङ्लेखु (कर्साङ) ले पाएका छन्।

वेष्ट एक्सन अवार्ड ‘आउट ल’ बाट छुल्ठे काजी र श्री श्रेष्ठ, वेष्ट म्यूजिक कम्पोजर थानेश्वर गौतम (अन्जिला), उत्कृष्ट गायनतर्फ पुरुष आशिष बराल (पूर्णबहादुरको सारंगी) र महिला शान्तिश्री परियार (खुश्मा-रुकुमै कोट) ले पाए।

स्पेशल मेन्सन मुभी अवार्ड ‘सतीदेवी’ र स्पेशल मेन्सन निर्देशकको अवार्ड कृषा चौलागाईंले प्राप्त गरेका छन्।

ब्लकबस्टर अफ द इयर अवार्ड ‘पूर्णबहादुरको सारंगी’ ले पाएको छ। इन्करेजमेन्ट अवार्ड दिव्या रायमाझी र सुमन भण्डारी एवं पपुलर अवार्ड प्रदीप खड्का (पिताम्बर) र स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली) ले प्राप्त गरे।

विशेष योगदान सम्मान नायिका केकी अधिकारी र ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गरिएको छ।

पब्लिक च्वाइस अवार्ड अभिनेत्रीतर्फ ‘ह्रस्वदीर्घ’ बाट निता ढुंगानाले पाइन्।

त्यसैगरि, जुरी अवार्ड मेल महेश त्रिपाठी (लाज शरणम), जुरी फिमेल दीया मास्के (कर्साङ) र निर्देशक अवार्ड मिलन चाम्स (अन्जिला) लाई प्रदान गरियो।

कमेडी एक्टर अफ द इयर अवार्ड केदारप्रसाद घिमिरेले पाएका छन् भने डायष्पोरा मूभी अवार्ड ‘तेल भिसा’ ले प्राप्त गरेको छ।

गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विधामा फिल्म छनोट गरेका हुन्।

कार्यक्रममा जीतु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र सिता देवी तिमिल्सेनाले कमेडी प्रस्तुत गरेका थिए भने दीपकराज गिरी र दीपाश्री निरौलाको नाच पनि दर्शकले रमाइलो माने।

उता कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा, दिया मास्के र उषा उप्रेतीले गरेको नृत्य प्रस्तुति आकर्षक देखिन्थ्यो। रिहान गिरीले गायन प्रस्तुत गरे। मलिना जोशी र जीतु नेपालले रोचक पारामा कार्यक्रम सञ्चालन गरेका थिए।

वरिष्ठ अभिनेता रमेश बुढाथोकीले नेपाली चलचित्रको प्रारम्भकालदेखि डिजिटल युग प्रवेश उल्लेख गर्दै हाल अन्तर्राष्ट्रिय बजारमा यसको पहुँचबारे बताए।

उक्त समारोहमा गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, दिव्या रायमाझी, ऋचा घिमिरे, शंकर घिमिरे, फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा, मिलन चाम्स लगायत करिब तीन दर्जन उपस्थित थिए।

नेपाली कलाकारको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै चलचित्र विकास, प्रवर्धन र बजार विस्तारमा योगदान पुर्‍याउनु अवार्डको उद्देश्य रहेको इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले जनाए।

दोश्रो इन्फा अवार्डका लागि बेलायतबाट मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटेका थिए।

  

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू