लन्डनमा शनिबार इन्फा अवार्ड, यी राष्ट्रिय कलाकारहरुले गर्दैछन् परफर्मेन्स



लन्डन । यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ ।
इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ ।
इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, निर्माता, पत्रकार तथा प्रवासी नेपाली फिल्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा जीतु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र सिता देवी तिमिल्सेनाले रमाइला कमेडी प्रस्तुति दिनेछन्।
त्यस्तै, कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा र उषा उप्रेतीलगायतका चर्चित कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गर्नेछन्। साथै, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना र दिया मास्केले विशेष फिल्मी मनोरञ्जनात्मक प्रस्तुति गर्ने तय भएको छ भने रेहान गिरीको गायन रहने छ ।
उक्त समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, दिव्या रायमाझी, ऋचा घिमिरे र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बालगायत थुप्रै कलाकारहरूको उपस्थिति रहनेछ।
आयोजकका अनुसार, इन्फा अवार्डको उद्देश्य नेपाली चलचित्र क्षेत्रको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै चलचित्रको विकास, प्रवर्धन र अन्तर्राष्ट्रिय विस्तारमा योगदान पुरयाउनु रहेको आयोजकको भनाइ छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएका छन् ।
इन्फा अवार्ड २०२५ लाई नेपालकै सबैभन्दा प्रतिष्ठित, गर्विलो र उत्कृष्ट अवार्ड शोका रूपमा प्रस्तुत गरिने बताइएको छ । अवार्ड समारोह साँझ ५ बजेबाट सुरु हुनेछ भने कार्यक्रम सञ्चालन चर्चित अभिनेतृ मलिना जोशी र जीतु नेपालले रोचक पारामा गर्नेछन् ।



