बिहीबार, २३ अक्टोबर, २०२५
16:04 | २०:४९

ढलमा कफी फालेको आरोपमा लन्डनमा एक महिलालाई जरिवाना

पुनरावलोकनपछि जरिवाना नोटिस रद्द

नेपाली लिङ्क अक्टोबर २३, २०२५

लन्डन । वेष्ट लन्डनमा एक महिलाले सकिन लागेको कफी ढलमा फालेपछि जरिवाना तिर्नुपरेको घटना सार्वजनिक भएको छ।

स्थानीय काउन्सिल अधिकारीहरूले तत्कालै उनलाई भेटेर १ सय ५० पाउण्ड जरिवाना गरेका थिए। यद्यपि, उक्त जरिवाना पछि रद्द गरिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार क्युकी बासिन्दा बुर्कु येसिलयुर्टले आफूले पुन: प्रयोग गर्न मिल्ने कपमा रहेको थोरै कफी बसमा पोखिनबाट जोगाउन ढलमा खन्याएर “जिम्मेवार” व्यवहार गरेको ठानेको बताइन्।

रिचमन्ड स्टेशन नजिकै बस स्टपमा बस पर्खिरहेको बेला तीन जना अधिकारीहरूले उनलाई रोके र सन् १९९० को ईन्भाइरोमेन्टल प्रोटेक्शन एक्ट अन्तर्गत जरिवाना लगाए।

रिचमन्ड अपन थेम्स काउन्सिलले सुरुमा जरिवाना सही भएको बताए पनि पछि रद्द गरेको हो।

येसिलयुर्टले बीबीसीसँग भनिन्, ‘बस आउँदै गरेको देखेँ, त्यसैले बाँकी रहेको थोरै कफी ढलमा खन्याएँ। धेरै पनि थिएन, तर पछाडि फर्किँदा तीन जना अधिकारीहरू मलाई पछ्याउँदै आइरहेका देखेँ र तुरुन्तै रोके।’

येसिलयुर्टका अनुसार, अक्टोबर १० मा आफूलाई रोकेका अधिकारीहरूले बससँग सम्बन्धित विषयमा कुरा गर्न खोजेको ठानेकी थिइन् र ‘ढलमा तरल पदार्थ हाल्नु गैरकानुनी हुन्छ’ भन्ने कुनै जानकारी नभएको बताइन्।

काउन्सिलले पठाएको इमेलमा भनिएको छ, ‘पुनरावलोकनपछि स्थायी जरिवाना नोटिस रद्द गरिएको छ। यसले तपाईंलाई पारेको असुविधाका लागि माफी चाहन्छौं।’

काउन्सिलका प्रवक्ताले बडी-क्यामेरा फुटेज अनुसार अधिकारीहरूले ‘व्यावसायिक र संवेदनशील’ ढंगले व्यवहार गरेको बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू