बुधबार, २२ अक्टोबर, २०२५
18:57 | २३:४२

बेलायतमा मुद्रास्फीति स्थिर, ब्याजदर कटौतीको सम्भावना

नेपाली लिङ्क अक्टोबर २२, २०२५
लन्डन । बेलायतको मुद्रास्फीति दर गत महिना ३ दशमलव ८ प्रतिशतमा स्थिर रहेको छ। यो दर बढ्ने अनुमान गरिएको भएपनि अगस्ट र जुलाई महिनाको तुलनामा कुनै परिवर्तन नआएको हो।

आगामी बजेटको तयारीमा रहेकी चान्सलर राचेल रिभ्सका लागि यो एउटा सकारात्मक सन्देश हो।

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले सार्वजनिक गरेको तथ्यांक अनुसार, उपभोक्ता मूल्य सूचकांक (सिपीआइ) मा आधारित मुद्रास्फीति दर सेप्टेम्बर महिनामा पनि स्थिर रह्यो । विश्लेषकहरूले मुद्रास्फीति ४ प्रतिशतसम्म पुग्ने अनुमान गरेका थिए ।

तर, यातायात खर्चमा वृद्धि भए पनि खाद्य वस्तुहरूको मूल्यमा आएको गिरावट र मनोरञ्जन तथा संस्कृतिसँग सम्बन्धित वस्तुहरू जस्तैः लाइभ कन्सर्टको टिकट मूल्य वृद्धि सुस्त भएका कारण मुद्रास्फीति दर स्थिर रहेको हो ।

यद्यपि, यो लगातार १२औं महिना हो, जसमा सीपीआइ सरकारको २ प्रतिशतको लक्ष्यभन्दा माथि छ । यस तथ्यांक सार्वजनिक भएपछि बैंक अफ इंग्ल्याण्डले ब्याजदर कटौती गर्ने सम्भावना बढेको छ ।

बजारले अब आगामी वर्ष मार्चको सट्टा फेब्रुअरीदेखि नै ब्याजदरमा कटौती गर्ने अनुमान छ ।

जलवायु परिवर्तनका कारण खाद्यान्नको मूल्य बढ्ने चिन्ता बढिरहेको बेला अगस्टको तुलनामा खाद्यान्नको मूल्य खासै वृद्धि नभएको बताइएको छ । गत वर्ष मे महिनापछि यो पहिलो पटक खाद्यान्नको मूल्यमा मासिक गिरावट आएको हो।

वार्षिक खाद्यान्न मूल्य मुद्रास्फीति अगस्टको ५ दशमलव १ प्रतिशतबाट घटेर ४ दशमलव ५ प्रतिशतमा झरेको छ, जुन मार्चपछिको सबैभन्दा सुस्त वृद्धि हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू