शनिबार, २७ डिसेम्बर, २०२५
16:57 | २२:४२

लन्डन बस्ने अन्जुले पार गरिन् विश्वका ७ प्रमुख म्याराथन

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२५

लन्डन । हाल लन्डनमा बसोबासरत नेपाली चेली अन्जु सिग्देल (तेजमाया रेग्मी) ले विश्वका ७ प्रमुख म्याराथन पूरा गरेकी छन्।

अगष्ट ३१ मा अष्ट्रेलियाको सिड्नी म्याराथन सफलतापूर्वक पूरा गरेर उनी विश्वका ७ प्रमुख म्याराथन पार गर्ने सम्भवतः नेपालीमूलकी प्रथम महिला बन्न पुगेकी छन्।

यसअघि लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टन, सिकागो, टोकियो म्याराथन पूरा गरेकी अन्जुले यस वर्ष सिड्नी म्याराथन दौडेर कीर्तिमान कायम गर्न सफल भएकी हुन्।

आफ्ना दौडका सहयात्रीबीच आइरन लेडी उपनामले पनि चिनिने अन्जुले म्याराथन दौडको यात्रा २०१९ को कोभिड महामारीबाट सुरु गरेको जनाइन्।

एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन समेत सफलतापूर्वक पूरा गरेकी अन्जुले ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टको आयोजनामा भएको १०० किमि अल्ट्रा र युरोपकै कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन पनि पूरा गरेको बताइन्।

दुई वर्ष अघि एभरेष्ट म्याराथन पूरा गर्ने क्रममा उनले वादी समुदायका बालबालिकाको सहयोगार्थ ५ लाख रुपैयाँ च्यारिटी उठाएर हस्तान्तरण गर्न सफल भएकी थिइन्। उक्त च्यारिटीमा दान गरेर सहयोग गर्ने सबै सहयोगी र दाताप्रति उनले पुनः धन्यवाद समेत दिएकी छन्।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम, घर परिवारको दैनिक रेखदेख र परम्परागत रुपमा महिलाले निभाउँदै आएका जिम्मेवारीका कारण निकै व्यस्त जीवनचर्याका बावजुद आफूलाई प्राप्त हुन आएको फूर्सदिलो समय सदुपयोग गर्दै उनले दौडका लागि प्रशिक्षण गर्ने गरेको बताइन्।

मन भए समय निकाल्न सकिन्छ भन्ने विश्वास बोकेकी अन्जु पुरूषहरुसँग जस्तो समय उपलब्ध नभए पनि आफूले हासिल गर्न सकेको उपलब्धि र सफलता कडा परिश्रम एवं दृढ इच्क्षाशक्तिको परिणाम भएकोमा गौरव महशुस गर्छिन्।

उनी महिलाहरुबीच स्वास्थ्य र नियमित व्यायामको महत्वबारे जनजागरण अभियान र इच्क्षाशक्ति र लगनशीलता भए महिलाले पनि गर्न नसक्ने केही छैन भन्ने सन्देश दिन चाहन्छिन्।

विभिन्न सामाजिक पछौडेपनका बावजुद आफूलाई सधैँ हौसला र सहयोग गर्ने आफ्ना पति कुलप्रसाद सिग्देल आफ्नो सबैभन्दा ठूलो फ्यान र प्रेरणाको श्रोत भएको उनी बताउँछिन्।


लायन्स क्लब अफ नारायणगढ, नेपाल रन यूके र नेपलिज ब्रिटिश कम्युनिटी यूके जस्ता च्यारिटीमूलक संस्थाहरुमा आवद्ध रहेर परोपकार र सामाजिक जागरण अभियानहरुमा समेत संलग्न उनी यसप्रति गौरवान्वित छन्।

आफ्नो चेतनामूलक जागरणमा सधैँ सहयोग गर्ने नेपाली मिडिया र दाताहरुप्रति पनि उनले हृदयदेखि नै धन्यवाद दिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू