आरजीएनएस अध्यक्ष चुनिए ह्यारी गुरुङ, भन्छन्- मर्न लागेको संस्था ब्युँताउँछु


लन्डन- रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) को नेतृत्व साउथ इष्ट लन्डनका चर्चित सामाजिक अभियन्ता ह्यारी गुरुङको काँधमा आएको छ ।
आइतबार प्लमस्टिडस्थित मगर भवनमा सम्पन्न संस्थाको अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष निर्वाचित गुरुङ आरजीएनएसको स्थापनाकालदेखिकै सक्रिय अभियन्ता हुन् । उनले यसअघि संस्थाको कोषाध्यक्ष, महासचिवजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । सामाजिक अभियन्ताका रुपमा बेलायतको सिंगो नेपाली समुदायमा चिरपरिचित गुरुङले साउथ इष्ट रिजनल तमुधिं लन्डन, हङकङ नेपाली मञ्च, नेपाली युथ एशोसिएसनलगायत संस्थाको सफल नेतृत्व गरिसकेका छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संगीता मगर र माधवलाल श्रेष्ठ, महासचिवमा पुस्कल श्रेष्ठ, सचिवमा अमर गुरुङ, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्ष लक्ष्मी लिम्बू निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा रवि अर्याल, मनोजकुमार गुरुङ, निर्मल थापा र मनिष चौधरी चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक सुमलकुमार गुरुङले शपथग्रहण गराएका थिए । समितिका सदस्यसचिव विपिन निरौलाले नवनिर्वाचित समितिका पदाधिकारीको नामावली घोषणा गरेका थिए ।
नयाँ कार्यसमितिलाई ग्रीनवीच बरोका निवर्तमान मेयर जीत रानाभाट, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, आरजीएनएस पूर्व अध्यक्ष शर्मिला हिराचन, संस्थापक सल्लाहकार अर्क तिम्सिना, नेसा अध्यक्ष केशबहादुर गुरुङ, कर्ण शाही, विनोद ज्ञवाली, नरेन्द्र कंडेल, हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठ, अन्तराष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुराल, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, साउथ इष्ट रिजनल तमुधिंका निवर्तमान अध्यक्ष पिके लामा र आमा समूह प्रमुख विन्दु गुरुङसहित विभिन्न संघसंस्था र समुदायका प्रतिनिधिले सफल कार्यकालको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष ह्यारी गुरुङले स्थापनाका १० वर्ष पार गरिसकेको आरजीएनएस अहिले निष्क्रिय र कमजोर अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै अब संस्थालाई गतिशिल र सुदृढ पार्ने प्रतिवद्धता गरेका छन् । विगतका कमजोरीहरुको समीक्षा गर्दै अब संस्थालाई सुधार र बिस्तारतर्फ अघि बढाउने अठोट उनले व्यक्त गरे ।
आफू नेतृत्वको नवनिर्वाचित कार्यसमितिमा युवा र नयाँ अनुहारहरुको बाहुल्य रहेको बताउँदै अध्यक्ष गुरुङले सबैको सल्लाह, सुझावअनुसार संस्थालाई नयाँ उचाइमा पुर्याउन आफ्नो टीम उत्साहित र प्रतिवद्ध रहेको उल्लेख गरे ।
निवर्तमान कार्यसमितिकी अध्यक्ष लिलादेवी गुरुङले आफ्नो कार्यकाललाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिइन् । एक वर्षे कार्यकालमा समयको अभावले धेरै काम गर्न नपाएपनि उपलब्ध समयमा आफूले सक्दो कोशिस गरेको उनले बताइन् ।
यसअघि निवर्तमान समितिकी अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव ह्यारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भएका थिए ।
विधान समितिका संयोजक फडिन्द्र भट्टराईको तर्फबाट समितिका सदस्य केशबहादुर गुरुङले राखेको विधान संशोधन प्रस्ताव पनि छलफलपछि संशोधनसहित पारित गरिएको थियो । विधान संशोधनअनुसार अब आरजीएनएसको सदस्यताका लागि यसअघि रहंदै आएको ग्रीनवीच बरोको सीमालाई हटाएर आसपासका बरोमा बस्ने नेपालीहरुलाई पनि खुला गरिएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



