मैले देखेको बेलायती शहर प्रेस्टन: १५ रोचक तथ्य



मान्छेको जीवनमा जन्मथलो र कर्मथलो सधैं हृदयसँग गाँसिएका हुन्छन्। जन्मथलो नेपाल मेरो जीवनको पहिलो पहिचान हो, जसलाई म सदैव आत्मा र रगतसँगै बोकेर बाँचिरहन्छु। तर अर्को पाटोमा, मेरो कर्मथलो बनेको बेलायत पनि उत्तिकै प्रिय लाग्छ। किनकि जहाँ हामी पसिना बगाउँछौं, मेहनत गर्छौं, धैर्यता सिक्छौं र जीवनको मूल्य बुझ्छौं – त्यो भूमिले आफैंलाई परिवारसरह नजिक्याउँछ।
धेरैको कल्पनामा बेलायत भन्नासाथ लन्डन मात्र देखिन्छ। तर बेलायत लन्डनमा मात्र सीमित छैन। यो देशमा म्यान्चेस्टर, लिभरपुल, बर्मिङ्घाम, योर्कशायर, अक्स्फोर्ड, क्याम्ब्रिज जस्ता विश्वप्रसिद्ध शहरहरू छन्, जसले लाखौं पर्यटक तान्छन्। तर मेरो मनमा भने एउटा फरक तथा सानो शहर प्रेस्टन विशेष स्थान ओगटेर बसेको छ। प्रेस्टन त्यही शहर हो, जहाँ म साढे तीन वर्षदेखि बस्दै आएको छु। यही शहरमा मैले पढें, काम गरेँ, नयाँ संस्कृतिको अनुभव गरेँ र यहाँका मान्छेहरूको आत्मीयता महसुस गरेँ। लन्डन घुम्दा उत्साह त जगाउँछ, तर प्रेस्टन फर्किँदा भने मलाई आफ्नो दोस्रो घर फर्किएको जस्तो गहिरो शान्ति र आनन्द मिल्छ। यस लेखमार्फत म प्रेस्टनको संस्कार, संस्कृति, इतिहास र यहाँका मान्छेहरूबारे आफ्ना अनुभूति र भावनाहरू बाँड्न लागिरहेको छु। सम्भवतः प्रेस्टनमै बस्ने धेरै नेपालीले पनि नसोचेका वा नदेखेका पक्षहरू मेरो अनुसन्धान र सोधखोज पश्चात् लेख्दैछु। मेरो नेपाल पछि, विदेशमा सबैभन्दा प्यारो ठाँउ बेलायतको प्रेस्टन नै भएकाले आज यो लेख म आफ्नो जीवनको अनुभवसँगै एउटा भावनात्मक यात्राको रूपमा पस्कन चाहन्छु।
प्रेस्टनको प्रारम्भिक इतिहास:
“Preston” भन्ने नाम पुरानो अङ्ग्रेजी शब्द Priest’s town (पुजारीको नगर) बाट आएको हो, जसले यस क्षेत्रमा धार्मिक इतिहासको सुरुवात जनाउँछ। प्रारम्भिक रूपमा यो स्थान सन्त विल्फ्रिड (St. Wilfrid) द्वारा स्थापित भएको मानिन्छ। प्रेस्टन वरपर रोमन सडक र वाल्टन-ले-डेल (Walton-le-Dale) मा रहेको किल्लाको प्रमाणले देखाउँछ कि यो स्थान रोमनकालदेखि नै रणनीतिक दृष्टिले महत्वपूर्ण थियो। त्यसपछि Cuerdale Hoard नामक विशाल भाइकिङ्ग चाँदीको भण्डार यहीँ भेटिएको थियो, जसले प्रेस्टन भाइकिङ्ग कालमा पनि महत्वपूर्ण रहेको देखाउँछ। सन् 1179 मा प्रेस्टनले पहिलो पटक Royal Charter प्राप्त गर्यो र यसरी यो बजार शहर (Market Town) को रुपमा स्थापित भयो। यसैसँगै Preston Guild भन्ने परम्परा सुरु भयो, जुन अहिले पनि प्रत्येक २० वर्षमा मनाइन्छ।
युद्ध र राजनीतिक महत्व:
सन् सन् १६४८ मा इंग्लिश सिभिल वारको समयमा प्रेस्टनमा ठूलो युद्ध (Siege of Preston) भयो। सन् 1715 मा Jacobite Uprising को समयमा पनि प्रेस्टन युद्धभूमि बन्यो, जहाँ सरकार पक्षले बगावती सेनालाई हरायो।
औद्योगिक क्रान्ति र प्रगतिका पाइलाहरू:
प्रेस्टनले औद्योगिक क्रान्तिमा अग्रणी भूमिका खेलेको थियो। सन् 1815 मा प्रेस्टन लन्डन बाहिरको पहिलो शहर थियो जुन ग्यास बत्तीले उज्यालो बनाइएको थियो। यो क्षेत्र कपास उद्योगको प्रमुख केन्द्र बन्यो। यहीँका आविष्कारक Richard Arkwright ले Water Frame भन्ने अद्भुत प्रविधि विकास गरेका थिए, जसले कपडा उद्योगलाई विश्वमै परिवर्तन गर्यो। रेल, नहर (canals) र Preston Dock को विकासले यसलाई प्रमुख वाणिज्य केन्द्र बनायो।
सामाजिक आन्दोलन र साहित्यिक प्रभाव:
प्रेस्टन सामाजिक आन्दोलनहरूको पनि केन्द्र थियो। सन् 1842 को मजदुर आन्दोलन हिंसात्मक रूपमा दबाइयो। त्यसको सम्झनामा अहिले पनि Lune Street मा स्मारक छ। यो समयमा लेखक Charles Dickens प्रेस्टन आएका थिए। उनले त्यहाँको मजदुर संघर्ष देखे र त्यसले उनलाई “Hard Times” भन्ने उपन्यास लेख्न प्रेरित गर्यो। Joseph Livesey ले यहीँबाट Temperance Movement (मद्य निषेध आन्दोलन) सुरु गरे, जहाँबाट “Teetotalism” भन्ने शब्द जन्मिएको हो। Henry “Orator” Hunt प्रेस्टनबाट सांसद बने र उनले “Universal Suffrage” (सार्वभौमिक मतदान अधिकार) को पक्षमा आवाज उठाए।
शिक्षा, संस्कृति र संग्रहालय:
प्रेस्टनले शिक्षा र संस्कृतिमा पनि ठूलो योगदान दिएको छ। सन् १८२८ मा यहाँ Institute for the Diffusion of Knowledge स्थापना भयो, जसले वयस्क शिक्षामा योगदान दिएको थियो, आज सोही सँस्थालाई नै हामी University of Central Lancashire को नामले चिन्ने गर्छौ। Harris Museum, Art Gallery & Library सन् 1893 मा खुल्यो, जसले प्रेस्टनलाई सांस्कृतिक शहरको रुपमा चिनायो। Arkwright House आज पनि त्यहीँ छ, जहाँ Richard Arkwright ले आफ्नो ऐतिहासिक Water Frame विकास गरेका थिए।
आधुनिक प्रेस्टन:
सन् 1901 सम्ममा प्रेस्टनको जनसंख्या करिब १ लाख २० हजार पुगेको थियो, तर सन् 1920 पछि कपास उद्योग खस्किन थाल्यो। सन् 1958 मा Preston Bypass बनेको थियो, जुन अहिलेको M6 मोटरवे (बेलायतको पहिलो मोटरवे) को हिस्सा हो। सन् 2002 मा प्रेस्टनलाई आधिकारिक रूपमा सिटी स्टाटस (City Status) दिइएको थियो।
प्रेस्टनको संस्कृति, परम्परा र रोचक तथ्यहरू:
Preston Guild : सन् 1179 देखि प्रत्येक २० वर्षमा आयोजना हुँदै आएको यो उत्सव विश्वमै अद्वितीय छ। यसले व्यापार, समुदाय र स्थानीय गौरवलाई एकसाथ मनाउने परम्परा जीवित राखेको छ।
Caribbean Carnival : सन् 1974 देखि सुरु भएको यो रंगीन उत्सव बेलायतकै सबैभन्दा पुराना क्यारिबियन कार्निवलमध्ये एक हो। संगीत, नृत्य र आकर्षक परेडले शहरलाई जिन्दगीले भरिदिन्छ।
Preston City Mela र Pride Events : यो दक्षिण एशियाली संस्कृति र LGBTQ+ विविधतालाई मनाउने उत्सव हो, जसले प्रेस्टनलाई बहुसांस्कृतिक र सबैलाई समेट्ने शहर बनाउँछ।
Encounter Festival : हालसालै सुरु गरिएको यो उत्सवले समुदायका कला, प्रदर्शन र स्थानीय कथाहरूलाई उजागर गर्छ।
Harris Museum & Art Gallery (सन् 1893) : भिक्टोरियन कला, इतिहास र साहित्यको खजाना मानिने यो संग्रहालय अहिले पनि प्रेस्टनको गर्व हो।
St. Walburge’s Church : 309 फिट अग्लो शिखर भएको यो चर्च इङ्ग्ल्यान्डकै सबैभन्दा अग्लो Parish Church Spire हो, जसले प्रेस्टनको आकाश सजाउँछ।
Arkwright House ( सन् 1728) : यहीँ Richard Arkwright ले Water Frame आविष्कार गरेका थिए, जसले विश्व कपास उद्योगलाई क्रान्तिकारी बनायो।
Miller Park : यो १९ औँ शताब्दीको भिक्टोरियन उद्यान, सुन्दर फव्वारा, मूर्तिहरू र River Ribble छेउको हरियालीले सजिएको छ।
Preston Bus Station : ब्रुटालिस्ट शैलीको वास्तुकला, युरोपकै सबैभन्दा ठूलो बस स्टेशन हो, अहिले संरक्षण र पुनःनिर्माणपछि आधुनिक गौरव बनेको छ।
Preston Cenotaph : Sir Giles Gilbert Scott द्वारा बनाइएको युद्ध स्मारक, जसले प्रेस्टनका युद्धमा वीरगति प्राप्त गरेका सैनिकलाई सम्मान गर्छ।
Butter Pie : आलु, प्याज र बटरले बनेको यो विशेष pie प्रेस्टनको स्थानीय स्वाद हो। Preston North End FC को खेल हेर्ने बेला यो लोकप्रिय खाजा मानिन्छ।
रातो टेलिफोन बक्सको लामो लाइन : प्रेस्टनको Market Street मा बेलायतको सबैभन्दा लामो लगातार रातो फोन बक्सहरूको लाइन पाइन्छ।
Dick, Kerr Ladies : सन् 1917 मा प्रेस्टनमै स्थापना भएको यो महिला फुटबल टिमले 800 भन्दा बढी खेल खेलेर इतिहासमा आफ्नो नाम कोरेको थियो।
Preston North End FC & Deepdale Stadium : यो संसारकै सबैभन्दा पुरानो निरन्तर सञ्चालनमा रहेको फुटबल मैदान हो। यस क्लबले पहिलो पटक FA Cup र League Double समेत जितेको थियो।
“Teetotal” शब्दको जन्मस्थान : सन् 1832 मा Richard Turner ले दिएको भाषणपछि “Teetotal” शब्द यहीँबाट प्रचलनमा आयो।
Leo Baxendale : The Beano जस्ता लोकप्रिय कार्टुन पात्रका स्रष्टा यिनै हुन्, प्रेस्टनमै जन्मिएका थिए।
Sir Tom Finney : प्रेस्टनमा जन्मिएका यी महान् फुटबल खेलाडीलाई अझै “Preston’s Proud Son” भनेर सम्मान गर्ने गरिन्छ। University of Central Lancashire मा त उनको नाममै “Sir Tom Finney Sports Centre” संचालनमा ल्याइएको छ।
Booth’s Supermarket (सन् 1847) : बेलायतकै पुराना पारिवारिक किराना पसलहरूमध्ये एक, जसलाई “Waitrose of the North” भनेर पनि चिनिन्छ।
UCLan Rooftop Beehives : University of Central Lancashire ले आफ्ना Student Centre को छानामा मौरीका घारहरू राखेको छ, जसले जैविक विविधता बढाउन योगदान दिएको छ।
प्रेस्टनका १५ रोचक तथ्यहरू:
प्रेस्टन सहर (ल्यान्काशायर, इंग्ल्यान्ड) केवल ऐतिहासिक मात्र नभई धेरै “पहिलो” र अद्वितीय उपलब्धिहरूले भरिएको शहर हो। यहाँका केही तथ्यहरू साँच्चिकै अनौठा र गर्व गर्ने खालका छन्।
१. सबैभन्दा ठूलो Viking Silver Hoard मध्ये एक
प्रेस्टनको इतिहास रोमन कालसम्म पुरानो छ। यहाँबाट रोमन बाटो (Roman Road) गएको प्रमाण पाइन्छ। यसै नजिकै Cuerdale Hoard नामक ठूलो चाँदीको भण्डार भेटिएको थियो, जुन इतिहासमै पाइएका सबैभन्दा ठूलो भाइकिङ चाँदीको संग्रहमध्ये एक हो।
२. केवल प्रेस्टनमै हुने Guild उत्सव: सन् 1179 मा राजा Henry II ले प्रेस्टनलाई Royal Charter दिएपछि यहाँ Guild Merchant मनाउन सुरु गरियो। त्यसैदेखि प्रत्येक २० वर्षमा Preston Guild आयोजना हुँदै आएको छ। संसारमा अहिलेसम्म निरन्तर यो परम्परा जीवित राख्ने एक मात्र शहर प्रेस्टन हो। पहिलो Guild उत्सव सन् 1397 मा भएको अभिलेख भेटिन्छ।
३. लन्डनबाहेक पहिलो पटक Coal Gas Light प्रयोग गर्ने शहर: सन् 1816 मा St Wilfrid’s Parish का Reverend Joseph “Daddy” Dunn ले रासायनिक प्रयोगबाट नयाँ किसिमको ग्यास बत्ती प्रज्वलन विधि विकास गरे। यसपछि प्रेस्टन, लन्डनपछि ग्यास बत्तीले उज्यालो हुने दोस्रो शहर बन्यो। पाइप बनाउँदा पुराना बन्दुकका पाङ्ग्रा (Musket Barrels) समेत प्रयोग गरिएको थियो ।
४. “Teetotal” शब्दको जन्मस्थान: Joseph Livesey ले सन् 1832 मा प्रेस्टनमै “Temperance Movement” सुरु गरे। उनका अनुयायीहरूले मदिरा पूर्ण रूपमा त्याग्ने Pledge हस्ताक्षर गर्नुपर्थ्यो। Livesey का अनुयायी Richard Turner ले भाषण गर्दा आफ्ना बोली समस्या (Speech Impediment) का कारण “tee-tee-tee total abstinence” भनेका थिए, जसबाट “Teetotal” शब्द जन्मिएको हो।
५. Charles Dickens को प्रेरणास्थल: सन् 1854 मा भएको Great Lock Out (श्रमिक हड्ताल) का बेला Charles Dickens प्रेस्टन आए। हजारौं श्रमिक बेरोजगार भएका यो घटनाले उनलाई गहिरो प्रभाव पारेको थियो। त्यसैबाट उनको प्रसिद्ध उपन्यास “Hard Times” लेखिएको मानिन्छ। Dickens Bull & Royal Hotel मा बसेका थिए।
६. बेलायतको पहिलो Motorway: 5 डिसेम्बर 1958 मा प्रधानमन्त्री Harold MacMillan ले Preston By-pass उद्घाटन गरे। यसलाई इन्जिनियर James Drake ले निर्माण गरेका थिए। पछि यो M6 मोटरवेमा समावेश भयो। यो नै बेलायतको पहिलो मोटरवे थियो।
७. बेलायतको पहिलो KFC (Kentucky Fried Chicken):
सन् 1965 मा Harry Latham र Raymond Allen द्वारा प्रेस्टनको Fishergate High Street मा पहिलो केएफसी खोले। उनीहरुले सन् 1963 मा Colonel Sanders सँग भेटेर बेलायतका लागि उनको प्रसिद्ध Secret Recipe ल्याएका थिए। यो McDonald’s, Burger King र Pizza Hut भन्दा दशक अगाडि आएको थियो।
८. इङ्ग्ल्यान्डकै सबैभन्दा अग्लो Parish Church Spire:
St Walburge’s Church को 309 फिट अग्लो शिखर छ। यो Parish Church मध्ये सबैभन्दा अग्लो हो, र बेलायतका चर्चमध्ये पाचौं अग्लो चर्च हो। यो चर्च Joseph Hansom (Hansom cab का डिजाइनर) ले Catholic शैलीमा निर्माण गरेका थिए।
९. प्रसिद्ध Dick, Kerr Ladies (महिला फुटबल टिम): सन् 1917 मा प्रेस्टनको Dick, Kerr & Co Ltd मा काम गर्ने महिलाले फुटबल टिम बनाए। उनीहरूले सन् 1921 सम्म हप्तामा दुई खेलसम्म खेल्थे र 800 भन्दा बढी खेल खेल्दै १० मिलियन पाउण्ड बराबरको रकम चन्दा उठाए। उनीहरूलाई World Champions पनि भन्ने गरिन्थ्यो।
१०. बेलायतकै पुरानो Caribbean Carnival मध्ये एक
सन् 1974 मा सुरु भएको प्रेस्टनको Caribbean Carnival अहिले पनि हरेक वर्ष मनाइन्छ। यसले रंगीन संगीत, नृत्य र भेशभूषाले शहरलाई रमाइलो बनाउँछ।
११. The Beano का चित्रकार Leo Baxendale: सन् 1930 मा प्रेस्टनमै जन्मेका Baxendale ले Bash Street Kids, Minnie the Minx जस्ता पात्र The Beano का लागि चित्रण गरेका थिए।
१२. Longest Putt World Record: 5 अगस्ट 2000 मा Alan Schofield ले Fishwick Hall Golf Club, Preston मा 166 फुट 8 इन्च लामो Putt हानेर विश्व रेकर्ड कायम गरेका थिए । Guinness World Record ले मान्यता दिएको यो रेकर्ड अहिले भंग भइसकेको भए पनि स्मारक पट्टिका अझै त्यहाँ छ।
१३. बेलायतको सबैभन्दा लामो लाइन Red Phone Boxes
Preston Market Street मा लगातार राखिएका पुराना रातो टेलिफोन बक्सहरूको लाइन बेलायतमा सबैभन्दा लामो हो। यी Giles Gilbert Scott द्वारा डिजाइन गरिएको हुन्, जसले Preston Cenotaph पनि डिजाइन गरेका थिए।
१४. Benjamin Franklin को भ्रमण: अमेरिकाका संस्थापक पिता मध्यका एक, Benjamin Franklin ले पनि प्रेस्टन भ्रमण गरेका थिए। उनले Preston को Friargate को कुनामा रहेको आफ्ना नातेदारको घरमा बसोबास गरेका थिए । त्यहाँ अहिले Blue Plaque राखिएको छ।
१५. Butch Cassidy सँग सम्बन्ध: अमेरिकी अपराधी Butch Cassidy का अभिभावक प्रेस्टनमा बसोबास गर्थे, पछि मात्र उनीहरू अमेरिका गएका थिए। भनिन्छ, Butch ले बलियो Lancashire Accent मा अंग्रेजी बोल्थे।
निष्कर्ष:
यी सबै तथ्यहरूले देखाउँछ कि बेलायतको प्रेस्टन केवल एउटा शहर मात्र होइन, इतिहास, परम्परा, पहिलो उपलब्धि र अद्वितीय संस्कृतिले भरिएको एक जीवित धरोहर पनि हो। भाइकिङ चाँदीको भण्डारदेखि केएफसीको पहिलो शाखा, Dickens को प्रेरणादायी यात्रा देखि बेलायतकै पहिलो मोटरवे, प्रेस्टन साँच्चिकै “Small City with Great Stories” हो।
प्रेस्टन केवल एउटा शहर मात्र होइन, यो इतिहास, संस्कृति, औद्योगिक क्रान्ति र सामाजिक आन्दोलनहरूको केन्द्र पनि हो। यसको भूमिबाट उठेका आविष्कारहरूले विश्वलाई बदलिदिए, अनि यहाँको सामाजिक आन्दोलनहरूले लोकतन्त्र र न्यायको लडाइँमा नयाँ अध्याय थपे ।
(Source: Visitpreston.co.uk /www.prestonhistory.com /Lancashire.ac.uk /University of Central Lancashire /Blog Preston/ Prestonhistoricalsociety.org.uk)
-सुशील गौतम
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५