अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बागमती प्रदेशमा खतिवडा


काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्य तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा कृष्ण खतिवडाको अध्यक्षतामा बागमती प्रदेश कमिटी निर्विरोध चयन गरेको हो ।
फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकितराज पाण्डे, कोषाध्यक्षमा धनवीर श्रेष्ठ, सहकोषाध्यक्षमा देवीश्री पन्त तथा कार्यसमिति सदस्यहरूमा श्वेता सुवेदी, प्रमेश अधिकारी, किशोर गर्तौला, राज हुमागाईं र सुदिप थापा चयन भएका छन् ।
विदेशमा बस्ने नेपाली उद्यमीहरूले नेपालसँग जोड्न गरेको प्रयासको प्रशंसा गर्दै मन्त्री भण्डारीले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्यअनुसार बागमती प्रदेश कमिटी गठन गरिएको बताए ।
महासंघका नेपाल संयोजक रामशरण थापाले भने, ‘विभिन्न देशमा रहेका युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र विश्वव्यापी नेपाली व्यावसायिक समुदायको दिगो विकासलाई अघि बढाउन फिनेले महत्त्वपूर्ण मञ्चको काम गरेको छ । हाम्रो उद्देश्य सहयोग, मार्गदर्शन र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु हो । फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको छ ।‘
यस्तै, फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले नौवटा देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिँदै विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबीच पुलको काम गरिरहेको बताए । उनले युवा उद्यमीहरूलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए । महासंघमा सयभन्दा बढी समर्पित उद्यमी सदस्य छन् ।
यसको जापान, अमेरिका, बेलायत, मध्यपूर्व, मकाउ, हङकङ, चीन, अस्ट्रेलिया तथा अन्य विभिन्न उपक्षेत्रहरूमा शाखाहरू क्रियाशील छन् । उद्यमी राजेन्द्र खेतानले युवा उद्यमशीलता विकासका लागि ‘क्राउड फन्ड’ संकलनमा फिनेलाई सहकार्य गर्न आग्रह गरे ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनलाई विदेशमा ब्रान्डिङ गर्ने उद्देश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देशविदेशमा रहेका युवा उद्यमीलाई जोड्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्यअनुसार विदेशमा मात्र सञ्जाल रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको जनाएको छ ।
फिनेका उपाध्यक्ष समिम अनवरले संस्थाको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रमलाई महासचिव इन्जिनियर दिपेन घलेले सञ्चालन गरेका थिए । कार्यक्रममा यूएसए, यूके, अस्ट्रेलिया, हङकङ, जापान, चीनलगायत विभिन्न देशबाट आएका फिनेका प्रतिनिधिको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५