सोमबार, ३ अगस्ट, २०२६
00:04 | ०४:४९

बेलायतमा स्थायी बसोबासको बाटो कठिन बनाउने सरकारको संकेत

नेपाली लिङ्क अगस्ट २, २०२६

लन्डन–बेलायतमा बस्ने लाखौँ आप्रवासी अहिले स्थायी बसोबास अनुमति अर्थात् आइएलआर प्राप्त गर्न अब झन् कठिन हुने हो कि? भन्ने चिन्तामा छन् ।

नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले समग्र आप्रवासन नीतिमा कडाइलाई निरन्तरता दिने संकेत दिएका छन् । अहिलेको प्रस्तावअनुसार अधिकांश आप्रवासीले आइएलआर प्राप्त गर्न पाँच वर्ष होइन, कम्तीमा १० वर्ष कुर्नुपर्ने व्यवस्था लागू हुन सक्छ ।

सरकारको तर्क छ— बेलायतमा स्थायी बसोबास अधिकार स्वतः पाइने सुविधा होइन, योगदानका आधारमा कमाइने अधिकार हुनुपर्छ । तर बर्नहामले यस नीतिमा पूर्ण रूपमा कठोर नीति भने अपनाएका छैनन् । विशेषगरी नेशनल हेल्थ सर्भिस, सामाजिक स्याहार सेवा र अत्यावश्यक क्षेत्रमा काम गर्ने विदेशी कामदारका लागि छुट वा विशेष व्यवस्था हुन सक्ने संकेत उनले दिएका छन् ।

बेलायतमा सामाजिक स्याहार क्षेत्रमा ठूलो जनशक्ति अभाव रहेकाले उनी दक्ष कामदारलाई निरुत्साहित गर्न नहुने पक्षमा देखिएका छन् । बर्नहामको सन्देश स्पष्ट देखिन्छ— सीमामाथि नियन्त्रण पनि चाहिन्छ, तर योगदान गर्ने आप्रवासीलाई न्याय पनि हुनुपर्छ ।

त्यसैले उनले एकातिर अवैध आप्रवासन नियन्त्रण, साना डुङ्गामार्फत हुने प्रवेश रोक्ने र आप्रवासन प्रणाली कडा बनाउने एजेन्डालाई समर्थन गरेका छन् भने अर्कोतिर, बेलायतको अर्थतन्त्र र सार्वजनिक सेवामा योगदान दिइरहेका आप्रवासीका हकमा लचकता अपनाउनुपर्ने धारणा पनि राखेका छन् ।

यही कारण अहिले बेलायतको आप्रवासन नीति ठूलो बहसको विषय बनेको छ । केहीले नयाँ नियमले आप्रवासन प्रणालीलाई निष्पक्ष बनाउने तर्क गरिरहेका छन् भने आलोचकहरूका अनुसार यसले वर्षौँदेखि बेलायतमा काम गर्दै आएका लाखौँ आप्रवासीको भविष्य अन्योलमा पार्न सक्छ । लेबर पार्टीभित्रै पनि आइएलआर सम्बन्धी प्रस्ताव पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ ।

अन्तिम निर्णय भने अझै भएको छैन । सरकारले आइएलआर सम्बन्धी परामर्श प्रक्रिया पूरा भएपछि अन्तिम नीति सार्वजनिक गर्ने जनाएको छ । त्यसैले अहिलेका लागि एउटा कुरा स्पष्ट छ— बेलायतमा स्थायी बसोबासको बाटो अब पहिलेजस्तो सहज नहुन सक्छ, तर एन्डी बर्नहामले योगदान गर्ने आप्रवासीका लागि केही ढोका खुला राख्ने संकेत दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू