बेलायती संसदमा बर्नहामको ‘इन्ट्री’ पछि प्रधानमन्त्री स्टार्मरलाई चुनौती


लन्डन । बेलायतको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । म्यानचेस्टरका लोकप्रिय नेता एन्डी बर्नहामले मेकरफिल्ड उपनिर्वाचनमा जित हासिल गरेका छन् ।
उनी २४ हजार ९ सय २७ मत ल्याएर विजयी भएका हुन् । १५ हजार ६ सय ९६ मत ल्याएका रिफर्म यूकेका रब केन्योन दोस्रो भए । जितसँगै अब उनको नाम सिधै प्रधानमन्त्री किअर स्टार्मरको सम्भावित चुनौतीकर्ताका रूपमा चर्चा हुन थालेको छ ।
मेकरफिल्ड उपनिर्वाचनमा एन्डी बर्नहमले प्रभावशाली जित निकाल्दै आफ्नो राजनीतिक प्रभाव अझ बलियो बनाएका छन् । विशेषगरी कामदार वर्ग र स्थानीय मतदाताबीच उनको लोकप्रियता धेरै देखिएको छ ।
बर्नहमलाई लामो समयदेखि ‘जनताको नेता’ भनेर चिनिन्छ। ग्रेटर म्यानचेस्टरका मेयर हुँदा उनले सार्वजनिक यातायात, स्वास्थ्य सेवा र स्थानीय विकासका मुद्दामा खुलेर आवाज उठाएका थिए ।
यो जित केवल एउटा सीट जित्नु मात्र होइन, लेबर पार्टीभित्र नयाँ शक्ति केन्द्र उदाएको संकेतका रूपमा पनि हेरिएको छ ।

अहिले बेलायती राजनीति निकै संवेदनशील अवस्थामा छ । प्रधानमन्त्री तथा लेबर नेता किअर स्टार्मरले सरकार चलाइरहेका भए पनि पद छाड्न पार्टीभित्रबाटै दबाब बढिरहेको छ ।
कतिपयले स्टार्मरलाई धेरै ‘केन्द्रवादी’ भएको आरोप लगाउँछन् । त्यसको विपरीत, एन्डी बर्नहमलाई परम्परागत लेबर मूल्य र कामदार वर्गको आवाजका रूपमा प्रस्तुत गरिन्छ ।
त्यसैले मेकरफिल्डको यो जितलाई धेरै विश्लेषकहरूले ‘नेतृत्वको सम्भावित संकेत’ भनेर हेर्न थालेका छन् । अब प्रश्न उठ्न थालेको छ- यदि भविष्यमा लेबर पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा भयो भने, के एन्डी बर्नहम सबैभन्दा बलियो चुनौतीकर्ता बन्न सक्छन् ?
हालसम्म एन्डी बर्नहमले प्रत्यक्ष रूपमा लेबर नेतृत्व चुनौती दिने घोषणा गरेका छैनन् । तर उनको लोकप्रियता र उपनिर्वाचनमा अघि बढेकाले सम्भावना भने बलियो देखिन्छ । विशेषगरी उत्तरी इंग्ल्यान्डका मतदातामाझ उनको प्रभाव उल्लेखनीय छ ।
त्यसैले आगामी दिनमा उनले राष्ट्रिय राजनीतिमा अझ ठूलो भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । उता स्टार्मरका लागि पनि यो परिणाम एउटा चेतावनी हुन सक्छ । किनकि पार्टीभित्र नयाँ पुस्ता र फरक धारका नेताहरू बलियो बन्दै गइरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


