शनिबार, २० जुन, २०२६
09:11 | १३:५६

बेलायतमा रेल दुर्घटना, रेल सुरक्षामाथि गम्भीर प्रश्न

नेपाली लिङ्क जुन २०, २०२६

तस्विर गार्डियन

लन्डन- बेलायतको रेलसेवा विश्वकै सुरक्षितमध्ये एक मानिन्छ । तर बेडफोर्ड क्षेत्रमा भएको रेल दुर्घटनाले अहिले त्यही सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

शुक्रबार साँझ दुई यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

११ यात्रु धेरै गम्भीर र २२ जना यात्रु गम्भीर घाइते भएका छन् । ५६ जना सामान्य घाइते छन् । घाइते यात्रुहरूको नजिकका अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनालाई ‘मेजर इन्सिडेन्ट’ घोषणा गरिएको छ । प्रारम्भिक जानकारी अनुसार अगाडि रोकिएको इष्ट मिडल्याण्ड्स रेलवेको ट्रेनमा पछाडिबाट आएको अर्को ट्रेन ठोक्किएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार ठक्कर निकै शक्तिशाली थियो ।

रेल अपरेटरले इष्ट मिडल्याण्ड्स रेलवे सर्भिसका ति रेलमध्ये एउटा कोर्बीबाट सेन्ट प्यानक्रससम्म जाने अपराह्न ४ः४० बजे र नटिङ्घमबाट लन्डन सेन्ट प्यानक्रससम्म जाने ३ः५० बजे छुटेका जनाएका छन् ।

दुर्घटनालगत्तै आपतकालीन सेवा, एम्बुलेन्स, फायर ब्रिगेड र एयर एम्बुलेन्स परिचालन गरिएको थियो ।

रेलभित्र फसेका यात्रुहरूको उद्धार गर्न केही घण्टा लागेको बताइएको छ । धेरै यात्रु सिटबाट उछिट्टिएका थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको छ । प्रारम्भिक अनुमान अनुसार अगाडिको ट्रेन प्राविधिक समस्याका कारण रोकिएको हुनसक्ने बताइएको छ । तर पछाडिबाट आएको ट्रेन किन समयमै रोक्न सकिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

रेल दुर्घटना अनुसन्धान निकायले घटनास्थलबाट प्रमाण संकलन सुरू गरेको बीबीसीले उल्लेख गरेको छ ।

बेलायती प्रधानमन्त्री केअर स्टार्मरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आपतकालीन निकायहरू तत्काल उद्धारमा खटिएकोमा प्रशंसा गर्दै अनुसन्धानलाई पूर्ण सहयोग गर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू