अमेरिकामा उत्कृष्ट बन्यो ब्रिटिश गोर्खा बटालियन


नेपालका वीर गोर्खाली सैनिकहरूले फेरि एकपटक विश्वमञ्चमा आफ्नो क्षमता प्रमाणित गरेका छन् ।
हालै द रोयल गोर्खा राइफल्स अन्तर्गतको सेकेन्ड बटालियन टोलीले अमेरिकाको हवाईमा सम्पन्न भएको प्रतिष्ठित Pacific Land Forces Team Readiness Challenge 2026 मा प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा अमेरिका, क्यानडा, न्युजिल्याण्ड, मंगोलिया, सिंगापुर, फिलिपिन्स लगायत ९ राष्ट्रका सैनिक टोली सहभागी थिए । तर अन्तिममा सबैलाई पछि पार्दै गोर्खाली टोली उत्कृष्ट बन्न सफल भयो ।
प्रतियोगिता २५ अप्रिलदेखि ११ मेसम्म हवाईको Schofield Barracks मा आयोजना गरिएको थियो । यो प्रतियोगिता सामान्य खेलजस्तो थिएन । यहाँ सैनिकहरूको शारीरिक क्षमता, मानसिक दबाबमा निर्णय गर्ने क्षमता, टिमवर्क र युद्धमैदानमा आवश्यक तयारीको परीक्षण गरिन्छ ।
२३ माइलको कठिन नेभिगेशन, जंगल र सहर दुवै क्षेत्रमा मार्ग खोज्ने चुनौती, अवरोध पार गर्ने कोर्स, तनावबीच गोली प्रहार, कमाण्ड टास्क, र १४ माइलसम्म भारी सामान बोकेर मार्च लगायतका कठिन चुनौती पार गरेर गोर्खाली टोली प्रथम बनेको हो ।
यो प्रतियोगिता अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड अर्थात् USA RPAC ले पहिलोपटक आयोजना गरेको बहुराष्ट्रिय सैन्य प्रतिस्पर्धा हो । यसको मुख्य उद्देश्य विभिन्न देशका सेनाबीच सहकार्य र युद्ध तयारी बलियो बनाउनु हो ।

गोर्खाली सैनिकहरूको साहस र अनुशासनको इतिहास विश्वभर चर्चित छ । दोस्रो विश्वयुद्धदेखि आधुनिक युद्धसम्म गोर्खालीहरूको नाम बहादुरीको प्रतीक मानिन्छ । र अहिले पनि उनीहरूले त्यो विरासतलाई नयाँ पुस्तासम्म निरन्तरता दिइरहेका छन् ।
हवाईमा भएको यो जितले नेपाली मूलका गोर्खा सैनिकहरूको क्षमता, अनुशासन र अदम्य साहस अन्तर्राष्ट्रिय स्तरमा फेरि प्रमाणित भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


