भूतपूर्व ब्रिटिश गोर्खा अल्डरसट वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार



लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा उत्तरबहादुर गुरुङ नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् ।
६६ वर्षीय गुरुङ सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बनेका हुन् ।
उक्त क्षेत्रमा आउंदो मे ७ मा स्थानीय निर्वाचन हुंदैछ ।
लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बने । सन् २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा त उनी लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जितिन् ।
त्यतिबेलैदेखि अलेक्ससंग निकट रहेका उत्तरबहादुर लेबरको आग्रहमै वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् । रोचक के भने, उनकै वार्डमा अर्का नेपाली डा. विशाल गुरुङ पनि कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । नेपालीमूलका दुई उम्मेदवार एउटै वडामा प्रतिष्पर्धा हुन लागेको यो पहिलो हो ।
काउन्सिलर बनेर के गर्ने इच्छा छ उनको ? प्रश्नमा गुरुङ भन्छन्, ‘हामीले हरेक घर, छिमेकमा पुगेर इष्यू के छ त्यसलाई काउन्सिलसम्म ल्याउंछौं । काउन्सिल बैठकमा त्यो एजेण्डामा छलफल हुन्छ । बैठकको निर्णय लिएर फेरि हामी घर घरमा अपडेट गराउंछौं ।’
आफूले काउन्सिलर नबन्दै, वेलफेयर अफिस नहुंदा पनि भूतपूर्व वृद्धवृद्धालाई सन् २००६, ०७ देखि धेरै कल्याणकारी काम गरेको र अब पनि निरन्तरता दिने उनले बताए । समुदायमा ‘एण्टी सोसल बिहेभीयर’ बढेको जनगुनासो आएकाले प्रहरीसंग समन्वय गरि त्यसको नियन्त्रणमा काम गर्ने उनको एजेण्डा छ । जनताको स्वास्थ्य सेवा छिटो र सुलभ बनाउन लाग्ने पनि उनले बताए ।

दुई नेपाली एउटै वडामा प्रतिष्पर्धा गर्दा नेपाली समाज ध्रुवीकरण हुन्न भन्ने प्रश्नमा उनले प्रष्टिकरण दिए, ‘सबैको आ आफ्नो अधिकार, विचार हो । एउटै घरमा त समान विचार हुन्न । विशाल हाम्रो छोरा सरह हो । हामी राजनीतिमा फरक धारको भएपनि व्यक्तिगत, सामाजिक सम्बन्ध उस्तै प्रगाढ छ ।’
उनले लेबर पार्टीले नै लामो प्रोसेसपछि आफूलाई वेलिङटन वडामा उठाएको जनाए ।
गुरुङले अहिले आफ्नो चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । चुनावी अभियानमा उनलाई लेबर सांसददेखि काउन्सिलरहरुले समेत सघाएका छन् ।
तमुधिं यूके हयाम्पसायरमा १२ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उनी ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जिआरएनसी) का वर्तमान उपाध्यक्ष हुन् ।
भाचोक, मादी गाउंपालिकाका स्थायी बासिन्दा उनी विगत ४६ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १३ विपी मार्गमा बस्दै आएका छन् । बेलायत अल्डरसट निवासी उनले ब्रिटिश आर्मीमा १९ वर्ष सेवा गरेर अवकास लिएका हुन् ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


